• १२ साउन २०८१, शनिबार

गुइँठाको प्रयोग कायमै

blog

बुटवल समाचारदाता

बुटवल, वैशाख २ गते । लुम्बिनी प्रदेशका तराईका जिल्लामा अझै पनि खाना पकाउन गुइँठाको प्रयोग भइरहेको छ । तराईमा गाईभैँसीको गोबर गुइँठा बनाएर खाना पकाउन प्रयोग गर्ने घरपरिवारको सङ्ख्या अझै पनि उत्तिकै छ । खाना पकाउन प्रयोग हुने एलपी ग्यास महँगो हुँदै गएको र त्यसको तुलनामा घरमा पालिएका गाईभैँसीको गोबरबाट गुइँठा बनाएर खाना पकाउँदा सस्तो हुने भएकाले खाना पकाउन गुइँठा प्रयोग भइरहेको हो । 

रुपन्देहीको शुद्धोधन गाउँपालिका–१, सिसैकी लीलामती केवट खाना पकाउन आफूले गोबरको गुइँठा प्रयोग गरिरहेको बताउनुभयो । केवटले घरका गाईभैँसीको गोबर सुकाएर गुइँठा बनाएर खाना पकाउने काम आफू मात्रै नभई सिङ्गो गाउँले नै गर्दै आएको बताउनुभयो । उता किसुलीका बुद्धु हरिजन एलपी ग्यास महँगो भएकाले घरकै गाईभैँसीको गोबरले खाना पकाउन सजिलो र सस्तो भएको भन्दै पहिलेदेखि नै गुइँठाको प्रयोग गरिरहेको बताउनुभयो । 

गुइँठाको प्रयोगले खाना पकाउँदा धुवाँ बढी आउने भएकाले स्वास्थ्यका लागि भने हानिकारक रहेको स्वास्थ्यकर्मी कृष्ण चौधरी बताउनुहुन्छ । तराईमा गोबर गुइँठाको प्रयोगमा कमी नभए पनि राष्ट्रिय जनगणना २०७८ ले भने १० वर्ष पहिले खाना पकाउन गोबर गुइँठाको प्रयोग गर्ने परिवारको सङ्ख्या १० प्रतिशत रहेकोमा अहिले दुई प्रतिशतमा झरेको देखाएको छ । प्रदेशभरि गुइँठाको प्रयोग गर्ने परिवारको सङ्ख्या घटिरहेको भए पनि रुपन्देहीमा ४.८ प्रतिशत र कपिलवस्तुका ८.२५ प्रतिशत परिवारले अहिले पनि गुइँठा प्रयोग गरिरहेका छन् ।

राष्ट्रिय जनगणना २०७८ का अनुसार लुम्बिनी प्रदेशमा खाना पकाउन दाउराको प्रयोग गर्ने घरपरिवारको सङ्ख्या घट्दै गएको देखिएको छ । 

राष्ट्रिय जनगणना २०६८ अनुसार लुम्बिनी प्रदेशमा ७१ प्रतिशत घरपरिवारले खाना पकाउन दाउराको प्रयोग गर्दथे । त्यसको १० वर्षपछि राष्ट्रिय जनगणना २०७८ का अनुसार लुम्बिनी प्रदेशमा खाना पकाउन दाउराको प्रयोग गर्ने घरपरिवारको सङ्ख्या करिब १८ प्रतिशतले घटेर ५३.६८ प्रतिशतमा झरेको छ । राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार तराईमा भन्दा पहाडी जिल्लामा खाना पकाउन दाउराको प्रयोग बढी हुने गरेको देखिएको छ । अहिले पनि लुम्बिनी प्रदेशको पाल्पाबाहेक अरू सबै पहाडी जिल्लामा ८६ प्रतिशतभन्दा धेरै घरपरिवारमा खाना पकाउनका लागि दाउराकै प्रयोग हुने गरेको छ ।

राष्ट्रिय जनगणनाका अनुसार तराईका जिल्लामा कपिलवस्तु, दाङ र बर्दियाका ५० प्रतिशतभन्दा धेरै परिवारले दाउराको प्रयोग गर्छन् भने तराईका अरू जिल्लामा दाउरा प्रयोग गर्ने परिवारको सङ्ख्या त्योभन्दा कम छ । रुपन्देहीमा २२ प्रतिशत परिवारले मात्र खाना पकाउन दाउराको प्रयोग गर्दै आएका छन् । त्यसै गरी एलपी ग्यासको प्रयोग गर्ने परिवार पछिल्लो १० वर्षमा चार गुणाले बढेका छन् । राष्ट्रिय जनगणना २०७८ ले लुम्बिनी प्रदेशका ४२.२ प्रतिशत परिवारले एलपी ग्यास प्रयोग गर्दा रुपन्देहीका ७१.७, नवलपरासीका ५६.३ र बाँकेका ५०.८ प्रतिशत परिवारले एलपी ग्यास प्रयोग गरिरहेको तथ्याङ्क देखाएको छ ।