• २० वैशाख २०८१, बिहिबार

सामूहिक कला प्रदर्शनी

blog

काठमाडौँ, वैशाख २ गते  । लाजिम्पाटस्थित अरुपण आर्ट ग्यालरी स्थापनाको १२ औँ वर्ष प्रवेशको अवसरमा सामूहिक कला प्रदर्शनीको आयोजना गरिएको छ । कलाकार रमेश खनालले आफूले चित्र कोर्ने माध्यमलाई अझ सशक्त बनाउन सो आर्ट ग्यालरी स्थापना गरिएको जानकारी दिनुभयो । उहाँले स्थापनाकालदेखि हालसम्म निरन्तर निःशुल्क चित्रकलाको प्रशिक्षण दिइरहेको पनि जानकारी दिनुभयो । 

उहाँले अरुपण आर्ट ग्यालरीमा वर्षभरि चित्रकलाको प्रशिक्षण लिएका प्रशिक्षार्थीले बनाउनुभएको चित्रकला समेटेर हरेक वर्ष वैशाख महिनामा सामूहिक चित्रकला प्रदर्शनीको आयोजना गर्दै आएको बताउनुभयो । यस पटक कला समीक्षक, कलाकार र कलामा रुचि राख्ने दर्शकलाई साना बालबालिका, कलेज पढ्दै गरेका र वरिष्ठ महिला कलाकारको चित्र अवलोकन गर्ने अवसर प्राप्त हुने ग्यालरीले जनाएको छ । 

प्रसिद्ध कलाकार हरिप्रसाद शर्माले वर्षभरि चित्रकला सिकेका प्रशिक्षार्थीमध्येका सगुन भण्डारीलाई अरुपण उत्कृष्ट कलाकार २०८० स्वर्ण पदक प्रदान गर्नुभयो । प्रदर्शनीमा धार्मिक, पौराणिक, प्राकृतिक, नेपाली जनजीवनलगायत विश्व प्रसिद्ध कलाकारको समेत चित्र राखिएका छन् । ग्यालरीका निर्देशक एवं कलाकार रिता खनालले सो चित्रहरू कलाकार स्वयम्ले सङ्कनलमा राख्ने बिक्री नगर्ने गरी प्रदर्शनीमा राखिएको बताउनुभयो । 

कलाकारहरू रिता खनाल, सगुन भण्डारी, सुन्दरमाला बैठा, शशी राउत, सन्जु प्रधान, राम थापा, सुस्मिता कार्की, अंशु बैठा, सपना मल्ल, अभिषेक मण्डल, कोमल श्रेष्ठ र सौगात आचार्यका सिर्जनाहरू वैशाख १४ गतेसम्म प्रदर्शनीमा राखिने अरूपण आर्ट ग्यालरीले जनाएको छ ।