• २० वैशाख २०८१, बिहिबार

लेक लागेर २९ जनाको मृत्यु

blog

अमृतप्रसाद पौडेल

म्याग्दी, वैशाख १ गते । हिमालपारीको जिल्ला मुस्ताङ भ्रमण तथा मुक्तिनाथ दर्शनका लागि आएका आन्तरिक तथा बाह्य पर्यटक २९ जनाको लेक लागेर ज्यान गएको छ । 

जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायव उपरीक्षक भोजराज पाण्डेयका अनुसार आर्थिक वर्ष २०७८–७९ मा ६ जना, २०७९–८० मा १२ जना र चालु आर्थिक वर्षमा ११ जनाले ज्यान गुमाएका छन् । 

सबैभन्दा धेरै भारतीय नागरिकहरू २० जनाको ज्यान गएको छ । त्यस्तै, सात जना नेपाली एक जना युक्रेन र एक जना थाइल्याण्डका नागरिकको लेक लागेर मृत्यु भएको हो । चालु आर्थिक वर्षको फागुनमा २ जना र चैत महिनामा ६ जनाको मृत्यु भएको प्रनाउ पाण्डेयले जानकारी दिनुभयो ।

अधिकांश ज्येष्ठ नागरिकको लेक लागेर मृत्यु भएको देखिएको उहाँको भनाइ छ । पछिल्लो तीन वर्षको अवधिमा २१ जना ६० वर्षभन्दा बढी उमेरका नागरिकहरूको लेक लागेर ज्यान गएको छ । त्यस्तै, तीन जना ४०–५० वर्ष उमेरका, चार जना ५०–६० वर्ष उमेरका र दुई जना ३०–४० वर्ष उमेर समूहका व्यक्तिको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मुस्ताङको तथ्याङ्कले देखाएको छ ।

बारागुङ मुक्तिक्षेत्र गाउँपालिका –१ झारकोट स्वास्थ्य चौकीका सिनियर अहेब सुवास अधिकारीका अनुसार तल्लो क्षेत्रबाट माथिल्लो उचाइमा पुग्दा समस्या हुने गरेको छ । समुद्री सतहदेखि एक्कासि तीन हजार मिटरभन्दा माथिको उचाइमा पुग्दा ज्येष्ठ नागरिकलाई समस्या हुने र त्यसले मृत्युसम्म नै हुन सक्ने उहाँको भनाइ छ ।

उहाँका अनुसार तल्लो क्षेत्रबाट आउनेहरूमध्ये ११ जनालाई मुक्तिनाथ मन्दिरमा आइपुग्दा लेक लागेको हो भने अरूलाई अन्यत्रै लेक लागेको देखिन्छ । मुस्ताङका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले ट्राभल एजेन्सीहरू सँग पनि समन्वय र सहकार्य गरेर पर्यटकलाई मौसमसँग घुलमिल हुने वातावरण बनाउन आग्रह गरिएको बताउनुभयो । 

मुस्ताङकी स्थानीय श्रीमायाँ थकालीले जिल्लामा आइपुग्दा पर्यटकको निधन हुँदा दुःख लाग्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘ट्राभलहरुलाई कुरा गर्ने र कडाइका साथ तल्लो क्षेत्रमा एक दिन स्टे गर्ने र मुक्तिनाथमा अर्को दिन स्टेका लागि व्यवस्था नगर्ने हो भने समस्या अझ बढ्न सक्ने देखिन्छ ।’