कोकिला ढकाल
इलाम, वैशाख १ गते । इलाम–२ मा हुन लागेको उपनिर्वाचनलाई लक्षित गर्दै जिल्ला प्रशासन कार्यालय इलामले मदिरा बिक्रीमा रोक लगाएको छ ।
निर्वाचनको समयमा शान्ति सुरक्षामा खलल् पार्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै वैशाख २ गतेदेखि मतदानको दिन वैशाख १५ र मतगणना नसकिएसम्म मदिराजन्य पदार्थ बिक्री वितरण र सेवनमा रोक लगाइएको जिल्ला प्रशासन कार्यालयले जारी गरेको सूचनामा उल्लेख छ ।
सूचना विपरीत गर्नेलाई कानुनअनसार कारबाही हुने प्रशासनले चेतावनी दिएको छ । यसैबिच कार्यालयले वैद्य रूपमा राखिएका सबै हातहतियार पनि प्रशासनमा बुझाउन भनेको छ । इजाजत लिएर वैध ढङ्गले राखिएका हातहतियार प्रशासन अथवा नजिकको प्रहरी चौकीमा वैशाख २ गतेसम्ममा बुझाउन भनिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनुभयो ।
‘अवैध हतियार त राख्न नै पाइन्न, वैद्य पनि यो अवधिमा पाइँदैन’ प्रजिअ यादवले भन्नुभयो ।