• ९ जेठ २०८१, बुधबार

सलहेस गाथा

blog

लहान नगरपालिकास्थित सलहेस फूलबारीमा वैशाख १ गते आजको दिन भव्य मेला लाग्छ । मेला भर्न नेपालबाहेक छिमेकी भारतका विहार, उत्तरप्रदेश र पश्चिम बङ्गाल राज्यका विभिन्न स्थानबाट धार्मिक पर्यटक परापूर्वकालदेखि आउने गरेका छन् । मधेश प्रदेशको प्रचुर सम्भावना बोकेको धार्मिक पर्यटकीय स्थल सलहेस फूलबारी हाल सिराहा नगरपालिकाको महिसोथा, लहान नगरपालिका–१८ मा रहेको पकडियागढ र लहान नपा–२४ मा रहेको मानिक दह सलहेसको जीवनगाथासँग जोडिएको पवित्र धार्मिक स्थल हो । जनकपुरधामस्थित जानकी मन्दिर, सप्तरीको सखडा भगवती, बाराको गढीमाई मधेशका प्रमुख धार्मिक पर्यटकीय स्थल हुन् । मधेशका पर्यटकीय स्थलको विकास परिवर्तित अवस्थामा समयको गतिसँग नभएको होइन तर जुन गतिमा विकास हुनुपर्ने हो त्यसरी हुन सकिरहेको छैन । लहान नगरपालिकामा पर्ने पूर्वपश्चिम राष्ट्रिय राजमार्गसँग जोडिएको सलहेस फूलबारीको मेलामा वर्षैभरि नियमित रूपमा पर्यटक भित्र्याउन सके यसले आर्थिक समृद्धिमा टेवा पुग्ने थियो । सलहेससँग जोडिएका धार्मिक पर्यटकीय स्थलको विकास गर्न नयाँ पुस्तालाई समेत सलहेसबारे जानकारी हुन त्यत्तिकै आवश्यक छ ।

लोकनायक सलहेस  

सलहेसको जन्म कहिले भएको थियो, यसबारे एकमत देखिँदैन । नथुनी सिंह दनुवारले लेख्नुभएको ‘लोकनायक’ पुस्तकमा उल्लेख भए अनुसार सलहेसको जन्म १६ औँ शताब्दीमा भएको थियो । प्राध्यापक राधाकृष्ण चौधरीद्वारा लिखित ‘मिथिलाक इतिहास’ पुस्तकमा उल्लेख भए अनुसार आठौँ शताब्दीमा सलहेसको जन्म भएको थियो । लोककथामा वर्णित कथा र सलहेसका सेनापति केवलन किराँतीको हातमा बोकेको बन्दुकलाई आधार मान्ने हो भने १४ औँ शताब्दीतिर भएको प्रमाणित हुन्छ । सिराहा क्याम्पसका इतिहास विषयका सहप्राध्यापक हिरालाल कर्णका अनुसार गुप्तकालमा भारत विहारको राजधानी पटना हुँदा विदेह र वैशाली प्रमुख व्यापारिक नगरीका रूपमा प्रख्यात थियो । इस्वी संवत् १३२७ मा सिम्रौनगढमा कर्नाटक वंशको उदय भई १३८१ मा पतन भएको थियो । कर्नाटक वंशको पतनपछि हाल सिराहा नगरपालिका–७ मा रहेको मैसोथामा सलहेसको प्रादुर्भाव भएको मानिन्छ । यसलाई आधार मान्ने हो भने १४ औँ शताब्दीमा सलहेसको जन्म भएको थियो । जनताबाट चुनिएर लोकप्रियता र बाहुबलले राजा भएकाले लोकनायक सहलेस भनिएको हो । रौतहटदेखि विराटनगरसम्म त्यतिबेला १४ वटा साना राज्य थिए । मिथिला क्षेत्रमा सलहेसको राज्य कायम भएको थियो । कर्नाटक वंशपछि सेन वंश र सेन वंशको राज्य अन्त्य भएपछि पासवान जातिका सलहेस, यादव समुदायका लोरिक गुआर, चमार समुदायका बन्ठा चमार, मुसहर समुदायका दिनाभद्री, मलाह समुदायका दुलरा दयाल मलाह र कारिक पन्जियारको अगुवाइमा शासन व्यवस्था चल्थ्यो । सलहेसको राज्य पहाडी भेगमा समेत पर्न गएकाले शैलेश नामबाट पुकारिन्थ्यो । शैलेश भनेको पहाडको राजापछि शैलेश शब्द अपभ्रंश भई सलहेस नाम रहन गएको भन्ने मत पनि छ । 

जन्मथलो महिसोथा 

महिसोथा सलहेसको जन्मगाउँ हाल सिराहा नगरपालिका–७ मा पर्दछ । महिसोथा राज्य जनश्रुतिमा मात्र छ, राज्य होइन । यसको कहीँकतै ऐतिहासिक प्रमाण अहिलेसम्म भेटिएको छैन । त्यसलाई तीव्र गतिमा विकास गराइयो । राजधानीसरह रहेको प्रमाण भेटिन्छ । महिसोथा गाउँमा निर्धनता थियो । सानो गाउँ थियो । बाल्यकालदेखि सलहेसमा विलक्षण प्रतिभा थियो । सलहेसको परमप्रिय खेल कुस्ती थियो । गाउँमै अखडा थियो । यो स्थान सुरक्षित छ । यो स्थान भूमिसात् भएको छैन । टिला जस्तो अखडाको स्थान छ । यहाँ सलहेसको गहवर छ । वर्षमा एक दिन मेला लाग्ने गर्दछ । गहवरमा हात्तीमा सवार सलहेसको मूर्ति छ ।  सहलेसको गहवर रहेको स्थानको सौन्दर्यीकरण गर्न भव्य मूर्ति निर्माण, सलहेसले गरेका वीरताका गथा र कथालाई जीवन्त बनाउने गरी डिपिआर तयार गरेर सिराहा नगरपालिकाको धार्मिक पर्यटकीय स्थलका रूपमा विकास काम गरिरहेको नगर प्रमुख नवीन यादव बताउनुहुन्छ । उहाँका अनुसार सलहेसको जन्मथलो महिसोथाको विकासका लागि प्रदेश सरकार र सङ्घीय सरकारको पर्यटन मन्त्रालयसँग समन्वय गरेर प्रयास भइरहेको छ । भारतीय सीमासँग जोडिएको सिराहा नपामा भारतीय पर्यटक अहिले वर्षमा एक दिन मात्रै आउने गरेका छन् । वर्षैभरि आउने गरी दक्षिणमा भारत र उत्तरमा पहाडी क्षेत्रसँग जोड्ने सहायक राजमार्गहरू निर्माण भएपछि यसको महिमा उजागर हुने नगर प्रमुख यादवले बताउनुभयो । उहाँले भन्नुभयो, “सलहेसको जीवनवृत्ति झल्किने वृत्तचित्रबाट नै बुझिने गरी सलहेससँग जानकार इतिहासकारको भेला गराएर योजना बनाउँछौँ । सलहेस सर्किट निर्माण कार्य पूरा हुन लागेपछि पहिलेको तुलनामा पर्यटकको चहलपहल पनि बढ्नु सकारात्मक पक्ष देखिएको छ ।”

पकडियागढ दरबारको चौकीदार  

महिसोथामा जन्मेका लोकनायक सलहेस दनुवार जातिका राजा कुलेश्वर सिंहको दरबारको राज्य (पकडियागढ) मा चौकीदार थिए । पकडियागढ हाल लहान नगरपालिका–१८, अमहीमा पर्दछ । राजा कुलेश्वर सिंहले दरबारमा सारा प्रबन्ध गरेर सलहेसलाई दरबारको सुरक्षामा राखेका थिए । कुस्ती प्रतियोगितामा चोहरमल जस्ता बलिया पहलमानलाई हराएपछि सलहेसलाई दरबारमा नियुक्त गरिएको जनश्रुति र विद्वत्वर्गको मान्यता रहेको छ । 

नथुनीसिंह दनुवारले लेख्नुभएको लोकनायक सलहेस पुस्तकमा वर्णन भए अनुसार सलहेस गोरो वर्ण, कालो कपाल, उच्च ललाट, वृषभकन्ध, चौडा वृक्षस्थल, लामो उदार, थम्बी तिघ्रा आदिले सजिसजाउ देखिन्थे । सलहेसको सुडौल तथा आकर्षक शरीर थियो । छरहरा कद, अग्लो जवान, चम्किलो अनुहारले शरीरको निखारमा विचित्रता थियो । राम्रो शरीरमा राम्रो मष्तिष्कको बास हुन्छ रे । यो कथन सलहेससँग चरितार्थ हुन आउँछ । सलहेस साहसी व्यक्ति थिए । 

पारिवारिक पृष्ठभूमि 

सलहेसका पिता सुरमा थिए । उनी सुमन र सोमदेव नामले पनि परिचित थिए । आमा मदोदरी, तीन दाजुभाइमा सलहेस, मोतीराम र बुधेश्वर, बहिनी वनसपतिया, सलहेसकी पत्नी सती माजरी अर्थात् सीता माजरी । राजपुर राजखोरी गाउँमा ऐतिहासिक स्थल छ । यसलाई राजावास डिह भनिन्छ । डिह भूमिसात् भएको छ । इनार र पोखरी छ, पुरातात्त्विक वस्तुहरू भेटिन्छन् । यो स्थान सिराहा जिल्लामा पर्दछ । सुरमा (सलहेसका पिता) को वासस्थान त्यही गाउँमा  थियो । उनले मैसोथा गाउँमा निवासस्थल बनाए जो हाल सिराहा नगरपालिका–७ मा पर्दछ । 

सुरमा किसान थिए । उनको आर्थिक स्थिति सामान्य थियो । गाउँको अगुवाका रूपमा स्थापित थिए । उनी कुशल र न्यायिक व्यक्ति थिए । सुरमा राजा कुलेश्वरका नोकर थिए । पछि यही दरबारमा चोहरमल चौकीदारका रूपमा रहन खोजेका थिए । राजाकी छोरी चन्द्रावतीको सुन्दरतामा मोहित चोहरमल पहलमानीमा सलहेससँग हारेपछि सलहेस राजा कुलेश्वरको दरबारमा चौकीदारका रूपमा जिम्मेवारी पाएका थिए । 

पुजारीको विवाद 

कैयौँ पुस्तादेखि लहान–१२, जटियाहीका जयदेवसिंह धामी दनुवारका वंशज सलहेस फूलबारीका पुजारीका रूपमा रहेका छन् । पुजारीका लागि दनुवार र दुसाध समुदायबिच विवाद चर्कियो । जटियाही निवासी सुनरधामी र सीतापुर निवासी जलेश्वर दुसाधबिच पूजाका लागि विवाद चर्किएपछि हसेरा हसेरी पनि भयो । विवाद अदालतमा पुग्दा तथ्य प्रमाणका आधारमा त्यतिबेला दनुवार समुदायले नै सलहेस पुजारीका रूपमा रहँदै आएको प्रमाणित भएको बताइएको छ ।  दलित समुदायका भएकाले आफूहरूलाई त्यतिबेला हराएर दनुवार जाति पुजारी कायम भएको लहान–२४ का दुसाध समुदायका अगुवा भोगेन्द्र पासवान भन्नुहुन्छ । उहाँका अनुसार अहिले पनि दुसाध पासवान समुदायको बस्तीमा सलहेसको गहवर छ । गहवरमा हातीमा सवार सलहेसको पूजा हुने गरेको छ । फूलबारीमा रहेको दक्षिणपट्टिको मन्दिरमा सलहेस हात्तीमा सवार तथा दायाँबायाँ दुवैतर्फ घोडामा भाइद्वय मोतिराम र बुधेश्वरको मूर्ति रहेको छ । ग्रामीण बस्तीमा सलहेसको पूजा गरिन्छ । यो सामूहिक पूजा हुन्छ । गाउँलेले ग्रामदेव स्थलको निर्माण गर्छन् । यसलाई डिहबारथान भनिन्छ । मधेशको मिथिला क्षेत्रमा हरेक गाउँमा डिहबारथान हुन्छ । सहलेसको गहवरमा भाकल गरेपछि मनोकामना पूरा भएपछि भेटीका रूपमा घोडकलेश दिइन्छ । घोडकलेश भनेको घोडाको सानो मूर्ति हो ।  

सलहेसको जन्म कहिले भएको थियो, यसबारे एकमत देखिँदैन । नथुनी सिंह दनुवारले लेख्नुभएको ‘लोकनायक’ पुस्तकमा उल्लेख भए अनुसार सलहेसको जन्म १६ औँ शताब्दीमा भएको थियो । प्राध्यापक राधाकृष्ण चौधरीद्वारा लिखित ‘मिथिलाक इतिहास’ पुस्तकमा उल्लेख भए अनुसार आठौँ शताब्दीमा सलहेसको जन्म भएको थियो । 

रोचक युद्ध प्रसङ्ग

बदियल चोहरमल आफ्ना विद्रोही लडाकु हसेरीलाई सङ्गठित गरी पकडियागढमाथि आक्रमण गर्न तयार भए । आक्रमणको उद्देश्य सलहेसलाई गिरफ्तार गरी पकडियागढको चौकीदार बन्नु र राजा कुलेश्वरका छोरी चन्द्रावतीसँग वैवाहिक सम्बन्ध स्थापित गर्नु थियो । सलहेस र चोहरमलबिच तीन दिनसम्म पहलमानी चल्यो । पहलमानीमा चोहरमललाई सलहेसले पराजित गरेपछि चोहरमल आफ्नो घाट मुकाममा पुगे । गोप्य रूपले षड्यन्त्र गर्न लागि रहे । 

फूलबारी र प्रेम प्रसङ्ग 

लहानको सहरी क्षेत्रदेखि पाँच किलोमिटर दक्षिण रहेको नौ बिघामा एक फूलबारी छ । यस फूलबारीमा सलहेस फूल टिप्न आउने र त्यहीँ रहेको सिलहट अखडामा सलहेसका भाइ मोतीरामसहित सात सय पहलमानले त्यसबखत कुस्ती खेल्थे । नथुनीसिंह दनुवारद्वारा लिखित लोकनायक सलहेस पुस्तकमा उल्लेख भए अनुसार राजा कुलेश्वरले आफ्नै कार्यकालमा फूलबारीको संरक्षण गरेका थिए । सलहेसको निजी रेखदेखमा त्यो फूलबारी थियो । सलहेस फूलबारीमा फूल टिप्न आउने बेला प्रेममा डुबेकी दौना मालिन पनि सलहेससँग कुराकानी गर्न आउँथिन् । प्रेममा परेकी दौना मालिनले एक दिन सलहेसलाई माला लगाएर विवाह गर्ने निर्णयमा पुगेपछि सलहेसले थाहा पाएपछि विवाह गर्नबाट पछि हटेपछि सलहेसकै सम्झनामा माला लिएर उभिरहिन् । सलहेससँगको अमर प्रेमको सम्झनामा सलहेस मन्दिर रहेको दक्षिणपट्टिको हारमको रुखमा सुनाखरीको फूल वैशाख १ गते नै फूल्ने गर्छ । यही फूल हेर्न यहाँ यो दिन मेला लाग्ने गर्छ । माला आकारको यो फूल प्रेमिका दौना मालिनले सलहेसका लागि ल्याएकी थिइन् । यी दुवैको प्रेमको प्रतीकका रूपमा रहेको यो माला आकारको फूल हेर्न यहाँ हरेक वर्ष असङ्ख्य भिड लाग्ने गर्छ ।  

यो फूलबारी १४ औँ शताब्दीमा राजा पुरादित्यद्वारा लगाइएको थियो । १६ औँ शताब्दीमा राजा कुलेश्वरले संरक्षकका रूपमा सलहेसलाई जिम्मा दिएका थिए । फूलबारीको विशेषता मूल फुट्ने रुखहरू क्रमिक रूपमा उम्रिँदै जाने र रुखको बिच भागमा फूल फुल्ने हो । फूलबारीमा सबभन्दा पहिले राजा कुलेश्वरको पूजा हुने चलन कायम छ । सलहेस फूलबारीमा जैविक विविधता रहेको छ । ४५ प्रजातिका ७१ वनस्पति र ८२ प्रजातिका बिरुवा छन् । दर्दमेदा पुत्राञ्जिवा जस्ता औषधीय गुण भएका वनस्पति यहाँ पाइन्छ । फूलबारीको माटो घर पोत्न र सलहेस फूलबारीभित्र बगिरहने पानी सलहेसको पूजाअर्चना गरेर खाएपछि रोग निको हुने मान्यता रहेको छ । यहाँ भाकल गरेपछि मनोकामना पूरा हुने, सुखशान्ति प्राप्त हुनुका साथै यहाँ गरिएको प्रेम र विवाह जीवनपर्यन्त सुखमय रहने जनविश्वास छ ।

मानिक दह

हाल लहान नगरपालिका–२४ मा रहेको मानिक दहमा सलहेस स्नान गर्थे । यो दह प्राचीनतम रहेको छ । चुरे क्षेत्रमा खप्तड डाँडासँग जोडिएर रहेको यस मानिक दहमा आजैको दिन मेला लाग्छ । बाह्रै महिना पानी रहने यसै दहको पानी स्थानीयवासीले खाने गर्थे । दहबाट किसानले सिँचाइ गरेर अन्नबाली उब्जाउन पानीको प्रयोग गर्दथे । दहमा आएर सलहेसलाई स्मरण गरेर भाकल गरेपछि मनोकामना पूरा हुने भएकाले परापूर्वकालदेखि नै यहाँ मेला लाग्दै आइरहेको छ । राजा कुलेश्वरले मानिक दहलाई जिर्णोद्धार गराएका थिए । राजाकै जुनाफमा लोकनायक सलहेस यो प्रस्ताव प्रस्तुत गरेका थिए । दिनहुँ सलहेस मानिक दहमा नुहाउने गर्थे । स्नानका बेला पारी दौना मालिन टुप्लुक्क मानिक दहमा आइपुगिन् । सलहेससँग साक्षात् भयो । मालिनसँग मानिक दहको भेटमा नै सलहेससँग प्रेम भएको धार्मिक मान्यता रहेको छ । मानिक दहलाई सलहेस धार्मिक पर्यटकीय स्थलका रूपमा विकास गर्न लहान नगरपालिकाले डिपिआर तयार गरेर दहको सौन्दर्यीकरण गर्न तीन पटक सुकाएर दहभित्रै मन्दिर निर्माण कार्यको शिलान्यास भए पनि काम अगाडि नबढ्दा स्थानीयवासी चिन्तित छन् । लहान–२४ का वडाध्यक्ष रासलाल रायका अनुसार नगरपालिकाले बेवास्ता गरेपछि आफ्नै लगानीमा स्थानीयवासीको सहयोगमा मानिक दहको सौन्दर्यीकरण भइरहेको छ । लहान नगरपालिका, मधेश प्रदेश र सङ्घीय सरकारको सहयोगमा तयार डिपिआरको नक्सा अनुसार ११ करोड रुपियाँ बजेट जुटाउन आफू लागिपरेको वडाध्यक्ष रायले जानकारी दिनुभयो । नेपाली कांग्रेसका नेता तथा तत्कालीन सांसद प्रदीप गिरीको पहलमा सुरु भएको सलहेसमार्ग निर्माण सलहेस सर्किट निर्माण कार्य करिब अन्तिम चरणमा पुगेको छ । लहान नगरपालिकाले सलहेससँग जोडिएका स्थलहरूको विकासका लागि वार्षिक बजेट विनियोजन गर्दै आइरहेको छ । जिल्ला उद्योग वाणिज्य सङ्घ लहानले यहाँ हरेक वर्ष महोत्सव आयोजना गर्दै आइरहेको छ ।

‘मौलिकता जोगाउन  प्रयासरत छौँ’


महेशप्रसाद चौधरी प्रमुख, लहान नगरपालिका 

डिपिआर तयार गरेर सलहेस क्षेत्रको विकासका लागि प्रदेश र सङ्घ सरकारसमक्ष विशेष पहल गरिरहेका छौँ । मानिक दहमा मन्दिर निर्माण र डिपिआर तयार भइसकेको छ भने पकडियागढमा चन्द्रावतीको मन्दिर निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । सलहेसको जीवनगाथासँग जोडेर सलहेस फिल्म निर्माण, भारतमा सलहेस धार्मिक पर्यटकीय स्थलको विकासका लागि प्रचारप्रसार गर्न दुवै देशका सलहेसका विषयमा जान्ने बुझ्ने विद्वान् विदुषीको भेला गरेर थप अध्ययन गर्छौं । सलहेस क्षेत्र सीमसार क्षेत्र भएकाले यसको संरक्षण र संवर्धनका लागि पनि सम्बन्धित वातावरणविद्सँग पनि छलफल गर्छाैं । लहानस्थित प्रदेशस्तरीय पर्यटन कार्यालय छ तर न्यून बजेट आउने गरेको छ । स्थानीय तहबाट हुने प्रयास भइरहेको छ । यस क्षेत्रका विकासका लागि कुनै कसर बाँकी राख्ने छैनौँ । हामीले उपलब्ध स्रोतसाधनका आधारमा अधिकतम काम गरिरहेका छौँ तर यस क्षेत्रमा बृहत् कार्ययोजनासहितको बजेट आवश्यक भएकाले प्रदेश र सङ्घीय सरकारले यस क्षेत्रको विकासका लागि विशेष बजेट छुट्याउनुपर्ने हुन्छ । यस क्षेत्रको मौलिकता जोगाउन र संरक्षणका लागि भरमग्दुर प्रयासरत छौँ । 

लेखक बाट थप