• २० वैशाख २०८१, बिहिबार

फेरि अर्को नववर्ष (कविता)

blog

वर्षहरू हिँडेर

समयका सडक/गोरेटोहरूमा

माइलखुट्टीहरू गाडिँदै/थपिँदै

आगमन फेरि एक अर्को नववर्षको

क्यालेन्डरबाट अन्तिम महिनासितै 

च्यातिएर पुरानो वर्ष

सोसियल साइटका शुभकामनाहरूसित 

मुस्काएर नववर्ष 

वर्ष आउँछ 

वर्ष जान्छ 

निर्धारित क्रम/क्रमिक गति

दोहोरिन्छ/दोहोरिइरहन्छ ।

कहीँ भूगोल बदलिदिन्छ वर्ष

कहीँ इतिहास थपिदिन्छ वर्ष

कहीँ मानवता डढाइदिन्छ वर्ष 

कहीँ आशाको ज्योति बोकेर 

तिम्रो भरोसाको आँगनमा 

मेरो नैराश्यको बार्दलीमा 

उभिदिन्छ वर्ष 

वर्ष जान्छ 

वर्ष आउँछ फेरि

एक अर्को नववर्ष ।