• १२ साउन २०८१, शनिबार

शिक्षाको गुणस्तर सुधार गर्न आधारभूत तहबाटै थालनी गर्नुपर्छ : मन्त्री चौधरी

blog

कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरी।

काठमाडौँ, चैत ३० गते। महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले शिक्षामा गुणस्तरीयता ल्याउन आधारभूत तहबाटै शिक्षामा लगानी गर्न आवश्यक रहेको बताउनुभएको छ।  

स्वर्गीय दुर्गा दाहालको ७२ औँ जन्म जयन्तीको सन्दर्भमा दुर्गा दाहाल स्मृति कोष व्यवस्थापन समिति धनकुटाले  शुक्रबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री चौधरीले त्यस्तो बताउनुभएको हो। 

‘चाइल्ड सेन्ट्रिक मेथोलोजि’का सन्दर्भमा केही समय युनिसेफमार्फत काम गरेको स्मरण गर्दै उहाँले भन्नुभयो, ‘अहिले पनि हाम्रा आधारभूत विद्यालयमा पढाई हुने ‘कन्टेन्ट’ कमजोर रहेको छ।  विद्यालयहरूको अवस्था पनि खराब छ।  त्यसमा सुधार गर्नैपर्ने आवश्यकता छ।’

अहिले विद्यालय शिक्षा ऐन संशोधन र परिमार्जन गर्न बनेको विधेयक संसद्‍मा टेबल भएर संशोधनका लागि छलफल भइरहेको उल्लेख गर्दै उहाँले संघीय शिक्षा ऐन आउन बाँकी नै रहेको बताउनुभयो।  संघीय शिक्षा ऐन एकीकृत रुपमा तीन वटै तहको सरकारलाई समेट्ने गरी आउन आवश्यक रहेको समेत उहाँको भनाइ थियो। 

 

अहिले शिक्षा स्थानीय तहलाई जिम्मा दिइएको अवस्था भए पनि त्यसलाई एकीकृत गरेर आगामी शिक्षा कस्तो बनाउने भन्ने हिसाबले शिक्षा ऐन आउनुपर्ने मन्त्री चौधरीको भनाइ थियो।  

हरेक व्यक्तिमा बहुआयामिक क्षमता हुने गरेको भन्दै उहाँले हरेक व्यक्तिले पढ्ने, अध्ययन गर्ने, सिर्जना गर्ने फरक(फरक क्षमता रहने गरेको बताउनुभयो।  त्यसकारण व्यक्तिको क्षमतालाई उभारिदिने ठाउँ हुनुपर्ने मन्त्री चौधरीको भनाई थियो।  

स्मृतिसँग आफ्नो पनि व्यक्तिगत भावना जोडिएको भन्दै मन्त्री चौधरीले इनोभेटिभ क्षेत्रमा काम गर्नेहरूलाई सम्मान गर्ने परिपाटीको प्रसंशा गर्नुभयो।  आफ्ना स्वर्गीय श्रीमान् दिनेश चौधरीको स्मृतिमा प्रतिष्ठान स्थापना गरी सामाजिक क्षेत्र, दिनेश स्मृति पोल टेक्निकल र आधारभूत सामुदायिक विद्यालयमार्फत शिक्षा क्षेत्रमा काम गरिरहेको मन्त्री चौधरीले बताउनुभयो।  मन्त्री चौधरीले समाजलाई सकारात्मक कामहरू छाडेर जानेहरूलाई समाजले मृत्युपछि पनि वर्षौंवर्ष सम्झिरहने समेत बताउनुभयो।