• २२ वैशाख २०८१, शनिबार

भाइरल समाचारका प्रभाव

blog

पछिल्लो समय ‘भाइरल’ शब्द निकै लोकप्रिय छ । कुनै पनि विषय क्षणभरमै स्थापित र क्षणभरमै विस्थापित बन्न यसले सघाउने गरेको छ । राजनीतिक मुद्दाभन्दा पनि चोटिला, स्वादिला र रमाइला भनाइ वा दृश्य भाइरल बनिरहेका छन् । अर्थात् समाचार ट्रेन्डिङ विषयवस्तुको गहनतासँग भन्दा पनि तिखो गाली, अराजक बोली र उट्पट्याङ शैलीको आधारमा निर्धारित भइरहेको छ । भाइरल भनिएको समाचार हेर्न र पढ्न भ्याइ नभ्याइ छ हामीलाई । यसले हाम्रो उत्पादनमूलक समयलाई बर्बाद गरिरहेको छ । यसमा घटना हुन सघाउने प्रणाली वा पद्धति, घटना हुन सघाउने व्यक्ति, घटना बाहिर ल्याउने माध्यम र स्वाद मानेर हेर्ने दर्शकमध्ये को दोषी होला ? सबैले गम्भीर समीक्षा गर्नुपर्ने देखिन्छ । 

वस्तुतः राजनीतिक चरित्र वा जीवन व्यवहार अनुरूप नै समाचारहरू पनि बन्ने गर्छ । अधिकांश भाइरल समाचार उत्पादनमूलक छैनन् । यसले हामी औसत राजनीति गरिरहेका छौँ र नेपाली समाज सही दिशातर्फ गइरहेको छैन भन्ने प्रस्ट हुन्छ । यो हामी सबैको चिन्ता र चासोको संवेदनशील विषय हो । यसले हाम्रो मनमस्तिष्क भुट्ने र समय बर्बाद गर्ने मात्र हुन् । 

पछिल्लो समय नेपाली राजनीति मात्र होइन, सिङ्गो समाज नै काण्डैकाण्डहरूमा रुमलिरहेको छ । यो जताबाट नापे पनि तौले पनि पटक्कै जायज होइन । यसमा पनि भ्रष्टाचार काण्ड सर्वाधिक चर्चाको चुचुरोमा पुगेको देखिन्छ । सबै काण्डहरूबारे यस आलेखमा सविस्तार उल्लेख गर्न असमर्थ भएको छु किनभने त्यो दस्ताबेजभन्दा पनि लामो हुन्छ । त्यसैले यहाँ सन्दर्भ कोट्याउने मात्र प्रयास गरिएको छ । अर्थात् अधिकांश नेता कुनै न कुनै भ्रष्टाचारमा परोक्ष वा पत्यक्ष रूपमा संलग्न भएको देखिन्छ । अब त यस्तो अनुभूति भइरहेको छ कि ढिलो चाँडो सबै नेता छानबिनमा तानिने सम्भावना रहेको छ । यही ट्रेन्ड कायम रहे काण्डबिनाको नेता र राजनीति पाउन कठिन हुने छ । 

आजकलको भाइरल समाचार त्यति मात्र होइन, बलात्कार काण्ड, चोरी काण्ड, ठगी काण्ड, किर्ते काण्ड, हत्याकाण्ड, आत्महत्या काण्ड, कुटपिट काण्ड, गाली बेइज्जत काण्ड, सम्बन्ध विच्छेद काण्ड, परस्त्री–पुरुष गमन काण्ड, बहुविवाह काण्ड, लिभिङ टुगेदर काण्ड, स्वार्थ मिलेसम्म सहवास नमिले पछि बलात्कार काण्ड, दहेज काण्ड, मेला/महोत्सव काण्ड, कुम्भमेला काण्ड, हल्लाखल्ला काण्ड पनि भाइरल समाचार बनिरहेको छ । यस्ता भाइरल काण्डहरू पनि भ्रष्टाचारकै अभिन्न अंशहरू हुन् । 

वास्तवमा निजी उत्पादन पद्धतिमा यस्ता काण्डहरू भई नै रहन्छ । यसमा मुख्य दोषी भनेको निजत्वमा आधारित उत्पादन पद्धति हो । नियम अनुसार नै उत्पादन पद्धति सापेक्ष घटनाहरू हुने गर्छ । यता पाठक र दर्शकहरू पनि सोही उत्पादन पद्धति अनुरूपको स्कुलिङबाट सुशिक्षित र प्रशिक्षित हुन्छन् । यस कारण राजनीतिक सवालहरू भन्दा पनि यस्तै स्वादिला घटनाहरू भाइरल समाचार बन्ने गर्छ । यसका लागि पछिल्लो समय टिकटकको दर्शक ट्रेन्ड अध्ययन गर्दा प्रस्ट हुन्छ ।

नेपाली समाजमा भाइरल समाचार बन्ने शीर्षकमध्ये सरकार परिवर्तन पनि एक हो । मुलुकमा आठ वटा सरकार क्रियाशील छन् । यो आठ वटा सरकार अघिपछि परिवर्तन गरिरहनु पर्दा भाइरल समाचारको अभाव भएको देखिँदैन । यसमा सङ्घीय सरकारबारे एक/दुई हप्ता कभर हुन्छ किनकि सङ्घ भनेको सङ्घ नै हो । अनि एक/डेढ हप्ता सूदूरपश्चिम, एक/डेढ हप्ता कर्णाली, एक/डेढ हप्ता लुम्बिनी, एक/डेढ हप्ता गण्डकी, एक/डेढ हप्ता बागमती, एक/डेढ हप्ता मधेश अनि एक/डेढ हप्ता कोशीले भाइरल समाचारको जिम्मा लिने गर्छ । 

पछिल्लो समय महत्वपूर्ण भाइरल समाचारमध्ये आठै वटा सरकार परिवर्तन निकै महत्वपूर्ण रहेको छ । यसमा केन्द्रीय सरकारबाट आरम्भ गरिएको यो प्रक्रियाले अझैसम्म पनि राम्रोसँग बिट मारेको छैन । यसले सरोकारवालालाई गम्भीर तनाव भइरहेको अनुमान गर्न सकिन्छ । सङ्घबाट सुरु भएको भाइरल समाचार ट्रेन्डिङ कोशीमा पुगेर अवतरण हुने प्रबल सम्भावना देखिन्छ । गत मङ्गलबार मात्रै यस प्रदेशका मुख्य कर्ताहरूले छलफल गरेर अन्तिम निष्कर्षमा पुगेको समाचार ट्रेन्डिङमा आइसकेको छ । अर्थात् केन्द्रमा नभए पश्चिममा अनि पश्चिममा नभए पूर्वमा सरकार फेरबदलको भाइरल समाचार आइ नै रहने छ । यस कारण सरकार गठन र विघटन पनि हाम्रो भाइरल समाचार बन्ने मुख्य साधन भइरहेको छ ।

नेपाली समाजमा अनुत्पादनशील र उट्पट्याङ भाइरल समाचारको कुनै अभाव छैन । भविष्यमा अभाव हुने सम्भावना पनि देखिँदैन । यो कुनै पनि उपभोगवादी समाजको कटु वास्तविकता हो । यसरी भाइरल समाचारको अभाव नभइरहेको अवस्थामा यही वैशाख १५ गते इलाम र बझाङमा उपनिर्वाचन हुँदै छ । यो उपनिर्वाचनलाई आवश्यकताभन्दा बढी महत्व दिएको महसुस भइरहेको छ । यसलाई सिङ्गो प्रतिनिधि सभाको चुनाव जस्तो अधिमूल्याङ्कन गर्दै समाचार भाइरल बनाउने काम भइरहेको छ । यसरी सिङ्गो उपनिर्वाचन नै भाइरल भएपछि त्यसमा उम्मेदवार उठाउने पार्टी र उम्मेदवार भाइरल नहुने कुरै आउँदैन । मतदाताहरू पनि भाइरलको पछि नलागी हुँदैन । यही सच्चाइ अन्तर्गत प्रायः चुनाव प्रचारप्रसारदेखि उम्मेदवार सबै भाइरल बनिरहेको दखिन्छ । 

उपनिर्वाचन यसरी भाइरल बन्नु स्वाभाविक छ किनभने विकृत संसदीय चुनावी पद्धतिभित्र विचार, राजनीति र मुद्दाबारे चिन्तन मनन हुँदैन । यसमा पैसा खर्च र हल्लाखल्लाकै भरमा चुनाव जितिन्छ भने मुद्दामा बहस किन गर्नु पर्‍यो । यस्तो राजनीतिक प्रणालीले नेतृत्व गरिरहेको समाजमा पार्टी र उम्मेदवारहरूले मादलको तालमा नाच्नै पर्‍यो । यता अधिकांश मतदाता पनि राजनीतिक मुद्दाभन्दा खर्च, हल्लाखल्ला र रूपवादी माहोल हेरेर मतदान गर्ने मानसिकता बनाएर बसेका हुन्छन् । यस कारण पछिल्ला केही हप्ता उपनिर्वाचनको विधि, प्रक्रिया र प्रचार पद्धति भाइरल समाचार बनिरहेको देखिन्छ । 

यसै गरी अर्को भाइरल समाचारमध्ये संसद् अवरोध पनि एक हो । गृहमन्त्री रवि लामिछाने सहकारी प्रकरणमा मुछिएको सन्दर्भलाई कोट्याउँदै नेपाली कांग्रेसले संसद् अवरोध गरिरहेको छ । उसले संसदीय छानबिन समिति बनाउनु पर्ने बटमलाइन पेस गरेको छ तर सरकार पक्षबाट पर्याप्त तथ्य प्रमाण नभएको भन्दै टार्ने काम भइरहेको छ । त्यसैले संसद्ले गर्ने दैनिक काम अगाडि बढ्न सकेको छैन । यो विषय पनि आजकल भाइरल समाचार बनिरहेको छ, जसलाई तपाईं हामीले आफ्नो उत्पादनमूलक काम छोडेर भए पनि हेर्न र पढ्न बाध्य भइरहेका छौँ । यसले पनि हाम्रो समय बर्बाद गरिरहेको छ ।

लोकतन्त्रमा सबैलाई लेख्ने, बोल्ने र सभा सम्मेलन गर्ने छुट हुन्छ । त्यसको अन्तर्यमा जे पायो त्यही गर्न अनि जता पायो त्यतै जान छुट भनेको होइन । यो कुरा सरोकारवाला साथीहरूले बुझेर पनि बुझ पचाए जस्तो देखिन्छ । यसरी बुझ पचाउने क्रममा राप्रपालगायतका केही हिन्दुत्वमा आधारित राजावादीहरूले राजाको टाउकोमा श्रीपेच पहिर्‍याउन आतुर हुँदै केही कार्यक्रम पनि गरिरहेका छन् । यो विषयवस्तु पनि भाइरल समाचार बनिरहेको छ । 

वस्तुतः कुनै पनि समाजमा भाइरल समाचार कसरी निर्धारण हुन्छ भन्ने कुरा यसको राजनीतिक प्रणालीमा आधारित हुन्छ । विचार, राजनीति र मुद्दा उपभोगवादी समाजमा प्रधान कहिल्यै हुँदैन । अरू औसत कर्मकाण्डलाई मिडियाबाजी गरेर चुनाव जिते हुन्छ । यस्तो अर्थ/राजनीतिक धरातलमा राजनीतिक उठबसहरू पनि औसत कर्मकाण्डी मात्रै हुन्छन् । सरकार बनाउने, भत्काउने अनि लडाउने गोलचक्करमा सिङ्गो राष्ट्रिय राजनीति फसिरहेको हुन्छ । समाचारहरू पनि मुद्दा र दृष्टिकोणमा आधारित हुँदैनन् । यसमा केवल हल्लाखल्ला, प्रचार र मिडिया स्टन्टबाजी वरिपरि पाठक र दर्शक रमाइरहेका हुन्छन् । त्यसैले पछिल्लो समय भ्रष्टाचार, सरकार फेरबदल, उपनिर्वाचन, संसद् अवरोध र राजा ल्याउने जस्ता नितान्त प्राविधिक तथा व्यावहारिक औसत कर्मकाण्ड रूपमा सिङ्गो राष्ट्रिय राजनीति रुमलिरहेको छ । यसैको दुष्परिणाम स्वरूप भाइरल समाचार ट्रेन्डिङ पनि यसैको गुरुत्वकेन्द्र वरिपरि घुमिरहेको छ ।

Author

राजेन्द्र किराती