• २१ वैशाख २०८१, शुक्रबार

परीक्षामा उत्कृष्ट अनाथ विमल कामी

blog

कक्षा ५ को नगर स्तरीय परीक्षामा पहिलो बनेका अनाथ बालक विमल कामी । तस्बिर: शेरबहादुर सार्की

शेरबहादुर सार्की 

बाजुरा, चैत ३० गते । बाजुराको बुढीगङ्गा  नगरपालिका –२ स्थित वसन्त प्राविका छात्र विमल कामी नगरकै पहिलो भएका छन् । शैक्षिक सत्र २०८० सालको कक्षा ५ को बुढीगङ्गा नगरपालिकाकाले गत चैतमा लिएको नगर स्तरीय परीक्षामा कामीले सबै भन्दा बढी अङ्क ल्याएर नगरकै पहिलो भएका हुन् ।

गत चैतमा नगरपालिकाले लिएको कक्षा पाँचको वार्षिक परीक्षा अन्य विद्यार्थीका लागि फलामको चिउरा चपाउनु झैँ भए पनि विमलले भने २५३ अङ्क प्राप्त गरेर नगरकै पहिलो बन्न पुगेको वसन्त प्राविले जनाएको छ ।

बुढीनन्दा नगरपालिका –९ पाण्डुसैनका घर भएका कामीको सानै उमेरमा आमा बुवाको मुत्यु भएपछि उनी अहिले बाजुरामा रहेकाे एक गैरसरकारी संस्थाको सहारामा बसोबास गर्दै आएको वसन्त प्राविका प्रधानाध्यापक बहादुर थापाले बताउनुभयो । उहाँले भन्नुभयो,  “सानै उमेरमा टुहुरो बन्न पुगेका कामीको घरमा आफन्त कोही नभएकोले उनीलाई २०७७ साल देखि बाजुरामा रहेकाे एक गैरसरकारी संस्थाले स्याहार सुसार गर्दै वसन्त प्राविमा पढाउँदै आएको छ ।,,

वसन्त प्राविमा कक्षा ५ सम्मको मात्र पढाइ हुने भएकोले यो शैक्षिक सत्र २०८१ बाट कामीलाई संस्थाले धुरालसैन माविमा भर्ना गर्ने थापाले बताउनुभयो । बुढीगङ्गा नगरपालिकाका २१ वटा विद्यालयका झन्डै ५७४ जना कक्षा पाँचको परीक्षामा सहभागी भए पनि ६३ जना मात्र पास भएका छन् ।  

सबै भन्दा बुढीगङ्गा नगरपालिका २ का वसन्त आविका विद्यार्थी पास भएका छन् । आर्थिक वर्ष २०८० सालको नगरले लिएको नगर स्तरीय परीक्षामा वसन्त आविका १३ जना मध्य १० जना राम्रो अङ्क ल्याएर उत्तीर्ण भएका छन् । 

त्यसै गरी बुढीगङ्गाका १ को धुरालसैन माविका १६ जना मध्य ६ जना , चैते पीपल सूर्योदय आविका २० जनामा १ जना , पशुपति माविका ७ मा १ , भानोदय नमुना माविका ३४ मा ६ , थुमा माविका २७ मा १ , राजेन्द्र आवि १९ मा १ , शारदा माविका ७४ मा १ , त्रिशक्ति माविका ६८ मा ४ , सिगाडा मावि ५९ मा ६ भवगवी माविका ५६ मा ४ दुदिर आविका १६ मा ३ , महेन्द्र आविका ३५ मा ७ , सत्यवादी आविका २० मा ३ , बहालीको आविका १० मा ३ ,शिव शङ्कर आविका ९ मा  २ , जनप्रभात आविका ८ मा २ , गिरिखेल्नेका ३१  मा २  जना मात्र पास भएका छन् । 

बुढीगङ्गा २ को बजेडी र १ को कुँडी आवि र कुँडी कोट आविको नतिजा शून्य छ । बजेडी आविका २३ जना कुँडी आविका १२  र कुँडी कोट आविका १७ जना विद्यार्थी परीक्षा सहभागी भएका थिए ।