• १९ वैशाख २०८१, बुधबार

वनमा बढ्दो डढेलो

blog

एकता सामुदायिक वनमा अग्निरेखा बनाउँदै स्थानीय ।

मीना कंडेल

कावासोती, चैत २८ गते । सामुदायिक वनमा डढेलो लाग्ने क्रम दिनानुदिन बढ्दै गएको छ । नवलपुर जिल्ला वन डढेलोको उच्च जोखिममा रहेकाले सचेतना अभियान पनि सञ्चालन भइरहेका छन् तर पनि वनमा डढेलो लाग्ने क्रम भने बढिरहेको छ । 

जिल्लामा एक महिनादेखि करिब दुई हजार हेक्टर वन क्षेत्रमा डढेलो लागेको छ । डढेलो, बन्दै गरेका सडक र प्रदूषणका कारण आकाश तुवाँलोले ढाकेको छ । पछिल्लो केहिदिन यता वातावरणमा देखिएको तुवाँलोका कारण जनजीवन प्रभावित बनेको छ । 

डिभिजन वन कार्यालय नवलपुरका प्रमुख वसन्त केशव अधिकारीले तराईका समथर भू–भागमा आगो निभाउन सहज भएपनि पहाडी क्षेत्रमा ढिलाइ र गाह्रो हुने गरेको बताउनुभयो । हरेक वर्ष सामान्यतः फागुनदेखि जेठसम्म यो समयावधिमा वन डढेलोको प्रकोप देशैभर अत्यधिक बढ्ने गरेकाले यसबाट जोगिन सबै लाग्नु पर्नै बताउनुभयो । वनमा डढेलो लागेपछि जैविक विविधताको नास हुने, वन पैदावार र वनमा आश्रित जीवजन्तुहरूको क्षति हुने साथसाथै वातावरणीय अनुकूलतामा पनि ह्रास आउने भएकाले वन डढेलो रोक्नुपर्ने उहाँको भनाइ छ ।

डिभिजन वन कार्यालय नवलपुरका वन अधिकृत तथा सूचना अधिकारी गुञ्जन गहतराजले वन डढेलोको जोखिमले नवलपुर जिल्ला १६ औँ स्थानमा रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा दर्ता भएका दुई सय १० सामुदायिक वन छन् । पैँतिस हजार ४४१ हेक्टर अर्थात् ५८ प्रतिशत भूभाग वनजंगलले ढाकेको छ, यहाँ बर्सेनि डढेलोका घटनाहरू बढिरहेको छ । राजमार्ग नजिक भएका सामुदायिक वन डढेलोको उच्च जोखिममा छन् ।” 

यात्रा गरिरहेका जो कोही पनि शौच गर्नका लागि वनजंगल भएका स्थानमा रोकिने हुँदा त्यहाँ चुरोटका ठुटा, ज्वलनशील बस्तु फाल्ने गर्नाले वनमा डढेलो लाग्ने गरेको उहाँको भनाइ छ । डिभिजन वन कार्यालय र स्थानीयको सहयोगमा हाल सम्म ४५० हेक्टरमा लागेको डढेलो नियन्त्रण गरेको भएपनि पहाडी क्षेत्रमा आगो निभाउन गाह्रो भएको बताउनुभयो ।

वन डढेलो व्यवस्थापनका लागि निरोधात्मक उपाय अवलम्बन गर्दै वन डढेलोबाट हुने जन, धन र वनको क्षति न्यूनीकरण गर्नका लागि अग्निरेखा बनाउने कार्य गरेको एकता सामुदायिक बन देवचुलीका अध्यक्ष याम प्रसाद भुसालले बताउनुभयो । मानवीय कारणले गर्दा बढी वन डढेलो हुने गरेको अध्यक्ष भुसाल बताउनुहुन्छ । वन जङ्गलमा सुख्खा मौसमको समयमा लाग्ने आगलागी तथा डढेलोबाट हुन सक्ने नोक्सानी र डढेलो लाग्नै नदिने उपायबारे गरिएका प्रयास प्रशंसनीय रहेको वन कार्यालयहरूले जनाएका छन् ।

जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख मुक्तिनाथ भट्टराईले वनमा हुने आगलागी र प्रदूषण लगायतका कारणले तुवाँलो बढी मात्रामा देखिएको बताउनुभयो । तुवालोका कारण विशेष गरेर श्वासप्रश्वास, दम, नाक र आँखामा समस्या हुने गरेको छ । दैनिक जसो दुई सय बिरामी आँखा पोल्ने, चिलाउने, छालाको समस्या र श्वासप्रवास सम्बन्धी जिल्ला अस्पतालमा आउने गरेको बताउनुभयो । अहिले देखिएको तुवाँलोको समस्याबाट बच्न चस्मा, मास्कको प्रयोग गर्न र अत्यावश्यक काम बाहेकका काममा घरबाहिर नजान उहाँले सुझाव दिनुभएको छ ।