• १ जेठ २०८१, मङ्गलबार

अधिकांश अस्पताल निर्माण अलपत्र

blog

दोलखा समाचारदाता

दोलखा, चैत २७ गते । ग्रामीण क्षेत्रमा आधारभूत स्वास्थ्य सेवा पु-याउने उद्देश्यले जिल्लामा शिलान्यास गरिएका स्थानीय तहका अधिकांश अस्पतालको भवन निर्माण सम्पन्न हुन सकेको छैन । नेपाल सरकारले पाँचदेखि १५ श-याको अस्पताल बनाउने लक्ष्य अनुसार दोलखाका अधिकांश स्थानीय तहमा अस्पताल भवन शिलान्यास गरिएका थिए । थप बजेट नआएपछि शिलान्यास भएका अस्पताल भवन निर्माण हुन नसकेको बताइएको छ । 

मेलुङ गाउँपालिकाले पहिलो चरणमा आएको ६० लाख रुपियाँले डिपिसी मात्र गरेर छोडेको छ । पालिका अध्यक्ष हिरा थोकरले थप बजेट नआएको र पालिकासँग रकम अभाव हुँदा डिपिसी मात्र भएर रहेको जानकारी दिनुभयो । तामाकोशी गाउँपालिकाले पहिलो चरणमा आएको बजेटले सानो कोरोना अस्पताल निर्माण गरेको छ । बिगु गाउँपालिकाले पनि सिँगटीमा कोरोना अस्पताल नै सञ्चालनमा ल्याएको थियो । गौरीशङ्कर गाउँपालिकाले बजेट अभावकै कारण प्राथमिक स्वास्थ्य केन्द्रबाटै स्वास्थ्य सेवा प्रदान गर्दै आएको पालिका अध्यक्ष विश्वास कार्कीले जानकारी दिनुभयो । 

बजेट अभावकै कारण शैलुङ गाउँपालिकाले अस्पताल भवन निर्माण गर्न सकेको छैन । जिरी नगरपालिकामा पहिलेदेखि नै जिल्ला अस्पताल रहेको छ । भीमेश्वर नगरपालिकामा ब्लकसहितको आकस्मिक अस्पताल भवन सङ्घबाट प्राप्त बजेटबाट ११ करोड ५१ लाख रुपियाँमा ठेक्का सम्झौता भई निर्माणको काम सुरु भएको छ । दुई वर्षमा निर्माण सम्पन्न गर्ने गरी नगरपालिका र निर्माण कम्पनीबिच सम्झौता भएको छ । 

कालिञ्चोक गाउँपालिकाको सिंँगटीमा रहेको अस्पतालको ६० लाख रुपियाँ बजेटमा स्तरोन्नति भई सञ्चालनमा आएको पालिका अध्यक्ष अर्जुनप्रसाद शिवाकोटीले जानकारी दिनुभयो ।

वैतेश्वर गाउँपालिका–५ को रुम्टीमा १५ श-याको वैतेश्वर अस्पताल भवन निर्माण भएको छ । पालिका अध्यक्ष छवि लामाले अस्पताल निर्माणका लागि स्थानीय हरिबहादुर दाहाल, जयबहादुर दाहाल, केदार दाहाल, रामकाजी दाहाल, भीमबहादुर दाहाल र जगतबहादुर दाहालले पाँच रोपनी जग्गा उपलब्ध गराउनुभएको बताउनुभयो ।