काठमाडौँ, चैत २७ गते । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले काठमाडौँ महानगरपालिकाभित्र गरिब घरपरिवार गणना सुरु गरेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव एवं प्रवक्ता गणेशप्रसाद भट्टले गरिबीमा जीवनयापन गरिरहेका घरपरिवारको तथ्याङ्क सङ्कलन गरी परिचयपत्र वितरण गर्ने उद्देश्यसहित आइतबारदेखि काठमाडौँ महानगरपालिकाभित्र गरिब घरपरिवार गणना सुरु गरिएको जानकारी दिनुभयो । चालु आर्थिक वर्ष २०८०/८१ भित्र गणनाको काम सम्पन्न हुने उहाँले बताउनुभयो ।
गणनाबाट प्राप्त तथ्याङ्क ‘प्रोसेसिङ’ तथा अन्तिम परिणामको काम मन्त्रालयले गर्ने छ । उहाँले भन्नुभयो, “गणनाका क्रममा पहिचान भएका गरिब घरपरिवारको परिचयपत्र मन्त्रालयले वितरण गर्छ । यसरी प्राप्त परिचयपत्रका आधारमा पहिचान भएका गरिब घरपरिवारले सरकारले निर्धारण गरेको सेवा सुविधा पाउँछन् ।”
काठमाडौँ महानगरपालिकाका प्रवक्ता नवीनकुमार मानन्धरका अनुसार गरिब घरपरिवारको गणनाका लागि काठमाडौँ महानगरमा २०९ जना गणक खटाइएको छ । त्यसै गरी २१ जना सुपरिवेक्षक खटिएका छन् । एक जना गणकले एक महिनामा कम्तीमा २५० घरपरिवारको गणना गर्ने गरी गणक खटाइएको छ । गणकहरूबाट प्राप्त भएको विवरण सुपरिवेक्षकले प्रशोधन गर्ने काम गर्ने छन् । काठमाडौँ महानगरपालिकाले यसअघि नै गणक तथा सुपरिवेक्षकलाई चारदिने तालिम दिइसकेको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सहसचिव कृष्णप्रसाद सापकोटाका अनुसार काठमाडौँ महानगरपालिका गणनाका लागि अन्तिम पालिका हो । यसपछि तथ्याङ्क सङ्कलनको काम सकिने छ ।
तथ्याङ्क सङ्कलनको थालनी २०७० सालमा २३ वटा जिल्लाबाट भएको हो । हरेक पाँच वर्षमा परिचयपत्र नवीकरण गराउनुपर्ने कानुनी व्यवस्था छ । अहिलेसम्म कसैको पनि परिचयपत्र नवीकरण गरिएको छैन । सहसचिव सापकोटाका अनुसार यसपछि सबै विवरण अद्यावधिक हुने छ ।
गरिब परिवारलाई सरकारबाट प्रदान गरिने सुविधा तथा सहयोग अब यसै परिचयपत्रका आधारमा हुने छ । दीर्घ रोगको उपचारका लागि आर्थिक सहयोग, लक्षित वर्गको उपचारसहित राज्यबाट प्रदान गरिने सुविधा यही परिचयपत्रका आधारमा हुने छ ।
सहसचिव भट्टले पहिचान भएका गरिब घरपरिवारलाई एउटै ढाँचाको तीन रङको परिचयपत्र वितरण गरिने जानकारी दिनुभयो । उहाँका अनुसार अति गरिब घरपरिवारलाई रातो, मध्यम गरिब घरपरिवारलाई पहेँलो र सामान्य गरिब घरपरिवारलाई हरियो रङको परिचयपत्र वितरण गरिने छ । उहाँले पिउने पानीको उपलब्धता, शौचालयको सुविधा र प्रकार, खाना पकाउने इन्धन, बत्तीको स्रोत, गाडी, इन्टरनेट जडान, केबल टेलिभिजन, टेलिफोन, रेफ्रिजेरेटर, पशु चौपायाको सङ्ख्याका आधारमा समेत गरिब घरपरिवार पहिचान कार्य भइरहेको जानकारी दिनुभयो ।