• १२ मंसिर २०८१, बुधबार

सिङ्गो गाउँको एउटै खलाे

blog

शेरबहादुर राई

ओखलढुङ्गा, चैत २६ गते । मानेभञ्ज्याङ गाउँपालिका ८ राघवपुर छापगाउँको बिचमा एउटा खलाे छ । धान, गहुँ, कोदो, भटमासलगायत दाल तथा अन्न कुट्न झार्नका लागि जमिनलाई सम्याएर बनाइएको ठाउँलाई खलाे भनिन्छ । 

यो सिङ्गो गाउँको सामूहिक एउटै खलाे हो । करिब तीन पुस्ता अघिदेखि यहाँका स्थानीयले यही खलालाई साझा रुपमा प्रयोग गर्ने गरेका छन् । बाउ बाजेको पालादेखि सुरु भएको यो खलाे अहिले आफूले पनि प्रयोग गर्ने गरेको छाप गाउँका ६९ वर्षीय सेते बलम्पाकी मगरले बताउनुभयो । कोदो, फापर, भटमास, दाल झार्न (कुट्न) यही खलामा  अर्म पर्म लगाउने गरिएको मगरको भनाइ छ । छाप गाउँका करिब २१ घर परिवारले यो खलाेलाई पालै पालो प्रयोग गर्ने गरेको स्थानीय जानुका रुचालले जानकारी दिनुभयो । रुचालका अनुसार गाउँले सबै जना यसको संरक्षणमा जुट्ने गर्नुभएको छ ।