• १७ असार २०८२, मङ्गलबार

सत्तरी प्रतिशत परिवार स्वास्थ्य बिमाको पहुँचबाहिर

blog

मकवानपुर समाचारदाता

हेटौँडा, चैत २६ गते । स्वास्थ्य बिमा कार्यक्रम सुरु भएको आठ वर्ष भइसक्दा बागमती प्रदेशमा अझै ७० प्रतिशत परिवार स्वास्थ्य बिमाको पहुँचबाहिर रहेको पाइएको छ ।

२०७८ सालको जनगणना अनुसार यस प्रदेशको १३ जिल्लामा १५ लाख ८० हजार ९२७ परिवार सङ्ख्या रहेकामा हालसम्म चार लाख ६८ हजार ९० परिवार अर्थात् ३० प्रतिशत परिवार मात्र स्वास्थ्य बिमा कार्यक्रममा जोडिएको पाइएको हो ।

स्वास्थ्य बिमा बोर्ड, बागमती प्रदेश कार्यालयले आइतबार हेटौँडामा आयोजना गरेको आठौँ स्वास्थ्य बिमा वार्षिकोत्सव कार्यक्रममा स्वास्थ्य बिमा गरेकाहरू अस्पतालमा उपचारका लागि जाँदा फरक व्यवहार गर्ने गरेको गुनासो आउने गरेको सहभागीले बताएका थिए । 

स्वास्थ्य बिमा बोर्ड, बागमती प्रदेश कार्यालयका प्रदेश संयोजक जीवलाल खरेलले कार्यक्रममा यस प्रदेशमा २०७८ सालको जनगणना अनुसार ६१ लाख १६ हजार ८६६ जनसङ्ख्यामध्ये १६ लाख ४१ हजार ३८९ जना अर्थात् प्रदेशको कुल जनसङ्ख्याको २७ प्रतिशत नागरिक मात्र स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध भएको जानकारी गराउनुभयो । उहाँका अनुसार स्वास्थ्य बिमा कार्यक्रममा यस प्रदेशमा हालसम्ममा सबैभन्दा बढी चितवनमा ७२ प्रतिशत र भक्तपुरमा ६२ प्रतिशत तथा सबैभन्दा कम काठमाडौँमा छ प्रतिशत र ललितपुरमा सात प्रतिशत परिवार आबद्ध भएका छन् ।

स्वास्थ्य बिमा कार्यक्रम काठमाडौँ र ललितपुरमा अन्य जिल्लाभन्दा पछाडि सुरु गरिएको हो । चितवनमा एक लाख ७९ हजार ३४५ परिवारमध्ये एक लाख २९ हजार ४३८ परिवार अर्थात् ७२ प्रतिशत र भक्तपुरमा एक लाख आठ हजार ५०५ परिवारमध्ये ६६ हजार ९५६ परिवार अर्थात् ६२ प्रतिशत स्वास्थ्य बिमा कार्यक्रममा जोडिएको पाइएको छ ।

यस्तै २०७८ को जनगणना अनुसार चितवनको कुल जनसङ्ख्याको ७० प्रतिशत र भक्तपुरको ५९ प्रतिशत तथा काठमाडौँ र ललितपुरको कुल जनसङ्ख्याको पाँच/पाँच प्रतिशत नागरिक मात्र स्वास्थ्य बिमा कार्यक्रमको पहुँचमा रहेको तथ्याङ्कमा छ ।

कार्यक्रममा बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयका सचिव बद्रीबहादुर खड्काले स्वास्थ्य बिमा कार्यक्रममा सुधार गर्नुपर्ने विषय धेरै रहेको बताउँदै नागरिकको स्वास्थ्य बिमा हुँदा अस्पताललाई आर्थिक भार पनि कम परेको बताउनुभयो । 

उहाँले प्रदेशको स्वास्थ्य नीति बनेको बताउँदै अस्पतालको फार्मेसीमा भएको औषधीसमेत बिरामीले नपाएको गुनासो आएकाले फार्मेसीमा भएको औषधी लेख्नुपर्ने र फार्मेसीमा हुँदाहुँदै बाहिरको औषधी अस्पतालले लेख्न नहुने बताउनुभयो । 

पछिल्लो समय नसर्ने रोगले स्वास्थ्य क्षेत्रमा समस्या ल्याएको छ भन्दै सचिव खड्काले भन्नुभयो, “अस्पतालले उपलब्ध गराउने औषधीको गुणस्तर जाँच हुनु पर्छ ।” 

प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक दीपक तिवारीले स्वास्थ्य सेवा वितरणबारे समुदायलाई जानकारी गराउनुपर्ने बताउँदै स्वास्थ्य बिमा गराएकालाई आधारभूत तहबाट हुने सेवा त्यहीँबाट लिने व्यवस्था हुनुपर्नेमा जोड दिनुभयो ।

उहाँले बिमितले दर्ता शुल्क बुझाएसँगै नवीकरण गर्ने व्यवस्था हुनुपर्ने भन्दै बिमित बस्ने ठाउँमा नै सेवा पाउने व्यवस्था गर्नुपर्ने बताउनुभयो ।

कार्यव्रmममा प्रदेश स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. खगेश्वर गेलाल, मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानका संयोजक चिरञ्जीवी शर्मा, हेटौँडा अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट श्रीधर अर्याल र स्वास्थ्य कार्यालय मकवानपुरका प्रमुख कृष्णबहादुर मिजारले स्वास्थ्य बिमामा आबद्ध भएकाले अस्पतालमा हरेक पटक टिकट काट्नुपर्ने र रेफर लिनुपर्ने व्यवस्था अव्यावहारिक भएको बताउँदै स्वास्थ्य बिमा कार्यव्रmममा नीति निर्माण र कार्यान्वयनमा समस्या रहेको औँल्याउनुभयो ।

यस्तै बोर्डका मकवानपुर संयोजक नरबहादुर खड्का, हेटौँडा सामुदायिक आँखा अस्पतालका प्रमुख सुनील थकाली, चुरेहिल अस्पतालका रवि थापा, नेपाल पत्रकार महासङ्घ मकवानपुरका अध्यक्ष मणिराज गौतम, स्वास्थ्य बिमा दर्ता सहयोगी रेखा रिजाललगायतले बिमा गराएकाले स्वास्थ्य परीक्षणपछि औषधी नपाउने गरेको, सेवा दिने स्वास्थ्य संस्था र सुविधा कम भएको भन्दै बिमा कार्यव्रmमको रकम अस्पताललाई भुक्तानीमा सहज हुनुपर्ने बताउनुभएको थियो । 

नेपालमा २०७२ साल चैत २५ बाट सुरु भएको स्वास्थ्य बिमा कार्यव्रmम अहिले ७७ वटै जिल्लामा पुगिसकेको छ ।