• २१ वैशाख २०८१, शुक्रबार

‘धार्मिक पर्यटनले विकासमा टेवा’

blog

अनिल पराजुली

हेटौँडा, चैत २६ गते । धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा विकसित हुँदै गएको हेटौँडा उपमहानगरपालिका–१, भैरवडाँडास्थित पाथीभरा मन्दिरसँगै छ फिट अग्लो भैरवको मूर्ति अनावरण गरिएको छ । हेटौँडा उपमहानगरपालिका नगर प्रमुख मीनाकुमारी लामा, जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी सूर्यप्रसाद सेढाइँलगायतकाले संयुक्त रूपमा भैरवको मूर्ति अनावरण गर्नुभएको हो । 

मूर्ति अनावरण कार्यक्रममा बोल्दै नगर प्रमुख लामाले उपमहानगरले धार्मिक एवं पर्यटकीय क्षेत्रको विकास र आवश्यक पूर्वाधार निर्माणमा सदैव सकारात्मक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले धार्मिक पर्यटनले मुलुकको आर्थिक विकासमा महत्वपूर्ण योगदान पु¥याएको धारणा व्यक्त गर्दै हेटौँडा आउने पर्यटकलाई घुम्ने र समय बिताउने धेरै पर्यटकीय स्थल रहेको बताउनुभयो । 

हेटौँडा–७ निवासी समाजसेवी एवं व्यवसायी नवराज खतिवडाको लगानीमा मूर्ति स्थापना गरिएको हो । एउटै ठुलो ढुङ्गामा कुँदेर बनाइएको भैरवको मूर्ति स्थानीय कालिगढद्वारा करिब एक महिना लगाएर निर्माण गरिएको खतिवडाले जानकारी दिनुभयो । 

त्यस्तै चैत २७ बाट सुरु हुने नवोदेवी भागवत महायज्ञको पनि शनिबार नगर प्रमुख लामाले शुभारम्भ गर्नुभएको छ । सप्तशती चण्डी पाठ एवं नवभागवत पारायण तथा महायज्ञमा ११ जना ब्राह्मणद्वारा नियमित पाठ पारायणसमेत गरिने भएको छ । नौ दिनसम्म चल्ने नवभागवत पारायण चैते दसैँका दिन समापन हुने पाथीभरा मन्दिर संरक्षण समितिका अध्यक्ष केशवप्रसाद देवकोटाले बताउनुभयो ।