• २१ वैशाख २०८१, शुक्रबार

साहित्यको उत्थान र संरक्षणका लागि क्रियाशील मध्यपश्चिम स्रष्टा समाज

blog

मध्यपश्चिम स्रष्टा समाजमा आबद्ध साहित्यकारहरु । तस्बिर : सिराज खान

सिराज खान 

नेपालगन्ज, चैत २५ गते । बाँके जिल्लाको साहित्य र सृजनाको संरक्षण र उत्थानका लागि क्रियाशील संस्था मध्यपश्चिम स्रष्टा समाजले लामो समयदेखि अथक प्रयासहरु गर्दै आएको छ । समाजले समय समयमा विभिन्न साहित्यिक गतविधि, गजल र कबिता गोष्ठिसँगै पुस्तक विमोचन र साहित्यकारहरुलाई सम्मान गर्दै आएको बाँकेका वरिष्ठ साहित्यकार तथा नेपाल प्रज्ञा प्रतिष्ठानका सदस्य महानन्द ढकालले बताउनुभयो । 

उहाँका अनुसार मध्यपश्चिम स्रष्टा समाजले नेपालगन्जको इतिहास समेटिएको पुस्तक ‘सद्भावको सहर नेपालगन्ज’, प्रेम प्रकाश मल्लको अभिनन्दन ग्रन्थ ‘पीडाको सगरमाथा’, सनत रेग्मीको ‘सृजन सन्दर्भ’, भोजराज शर्मा नादिरको गजल सङ्ग्रह ‘अलिअलि मुर्छन्ना अलिअलि होस’ लगायत दर्जनबढी पुस्तक प्रकाशन गरिसकेको छ । समाजले नियमित रुपमा सृजना साहित्यिक पत्रिका पनि प्रकाशन गर्दै आएको जनाउँदै प्रज्ञा प्रतिष्ठानका सदस्य ढकाले सोही कारणले नयाँ नयाँ प्रतिभाहरु जोडिने गरेको बताउनुभयो ।    

समाजले नेपालगन्जमा कविताको एकल वाचन काव्यगन्ज र पुस्तक तथा स्रष्टाहरुसँग साक्षात्कार गर्ने कार्यक्रम विमर्श बिन्दु पनि आयोजना गर्ने गरेको जनाइएको छ । मध्यपश्चिम स्रष्टा समाजलाई झनै चलायमान र क्रियाशील बनाउन हालै मात्र पाँचौँ साधारण सभा आयोजना गरेर युवा कवि बिपी अस्तुको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मतरुपमा चयन गरेको छ । 

कार्य समितिको सदस्यहरुमा साहित्यकारहरु अस्मिता शाह, छत्रपति सिंह, निर्मल सुवेदी, विनोद देवकोटा, जयकेश सिंह, सावित्री गिरी, जहीरुल हक जीनु र भागवत पौडेललाई चयन गरिएको अध्यक्ष अस्तुले बताउनुभयो । 

समाजको विधानमा साधारणसभाले अध्यक्ष र सदस्यहरुको चयन गर्ने र पदाधिकारीको चयन अध्यक्षले निर्वाचित सदस्यहरुबाट गर्ने व्यवस्था छ ।