केदार तिमल्सिना
बनेपा, चैत २५ गते । काभ्रेपलाञ्चोकको भकुन्डे–चापाखोरी सडक निर्माण सम्झौताको समय सकिन चार महिना बाँकी रहँदा २२ प्रतिशत मात्रै काम सकिएको छ । सडक निर्माणको ठेक्का पाएको निर्माण कम्पनीले सडकको कामलाई तदारुकता नदिँदा जिल्लाको नमोबुद्ध नगरपालिका र तेमाल गाउँपालिकाका नागरिकले सास्ती बेहोर्नु परेको छ ।
नमोबुद्ध नगरपालिका–५, भकुन्डेदेखि तेमाल गाउँपालिका–७ सम्मको सडकखण्डमध्येको १३ किलोमिटर सडक विस्तारसहित कालोपत्रे भ्याटसहित २० करोड आठ लाख रुपियाँको लागतमा दुई वर्षभित्र सम्पन्न गर्ने गरी २०७९ साउन १६ गते डिभिजन सडक कार्यालय भक्तपुरसँग केएस/देवी रमन जेभीले ठेक्का सम्झौता गरेको थियो । निर्माण कम्पनीले नमोबुद्ध नगरपालिका–४, भकुन्डेदेखि वडा नम्बर–५ को डँुडेपौवासम्मको पहिलो खण्डमा सात किलोमिटर र तेमाल गाउँपालिका–५, याङवेलदेखि वडा नम्बर ७ चापाखोरीसम्म दोस्रो खण्डको साढे छ किलोमिटर सडकमा नाली बनाउने, टेवा पर्खाल लगाउने र कालोपत्रे गर्ने गरी ठेक्कामा लिएको थियो तर आगामी साउन १५ गते ठेक्काको सम्झौता सकिन लाग्दा निर्माण कम्पनीले हालसम्म २२ प्रतिशत मात्रै काम सम्पन्न गरेको हो । सडक निर्माणको काम सुरु बिन्दु (जिरो पोइन्ट) बाट सुरु गर्नुपर्ने भए पनि निर्माण व्यवसायीले २० महिना हुँदा जिरो पोइन्टबाट काम सुरु नगर्दा आफूहरूले समस्या बेहोर्नु परेको स्थानीय सुरेन्द्र चिमौरियाले बताउनुभयो ।
निर्माण व्यवसायी सचिन बजगाईंले योजनाको काम समयमा नै पूरा गर्न जेभीमा रहेका अर्का निर्माण व्यवसायीलाई जिम्मा दिए पनि राम्रोसँग काम नगरेका कारण आफूले नै उक्त योजनाको काम अघि बढाएको बताउनुभयो । “साथीलाई काम गरोस् भनेर जिम्मा दिएँ, उनले राम्रो काम नगरेपछि केही महिनादेखि म आफैँ योजनाको काम सम्पन्न गर्न लागेको छु । आगामी साउन १५ भित्र मौसमले साथ लिए पहिलो खण्डको सातै किलोमिटर सडक कालोपत्रे गर्छु नभए सबबेस हालेर सहज रूपमा यातायात सञ्चालन गर्ने बनाउँछु,” निर्माण व्यवसायी बजगाईंले भन्नुभयो । उहाँले सडकछेउमा रहेको तेमाल बृहत् खानेपानीको पाइप, विद्युत्को पोल तथा एउटा बोधिचित्त मालाको बोटका कारण सडकको काममा समस्या भएको बताउनुभयो ।
भकुन्डे–चापाखोरी सडक निर्माणको काममा ढिलाइ हुँदा स्थानीयले सास्ती बेहोर्नु परेको जनगुनासो आएपछि शुव्रmबार जिल्ला समन्वय समिति, नमोबुद्ध नगरपालिका, तेमाल गाउँपालिकाका जनप्रतिनिधि, डिभिजन सडक कार्यालयका प्रतिनिधि, सञ्चारकर्मी र निर्माण व्यवसायीको उपस्थितिमा सडक कामको अनुगमन गरिएको थियो । सडक अनुगमनका क्रममा समन्वय प्रमुख दीपककुमार गौतमले भकुन्डे–चापाखोरी सडकखण्डको स्तरोन्नति तथा कालोपत्रेको काम समयमा नै पूरा नहुँदा नागरिकले सास्ती बेहोर्नु परेको गुनासो आएपछि सडकको अनुगमन गरिएको बताउनुभयो । उहाँले अनुगमनका क्रममा तीन दिनभित्र कामको कार्यतालिका पेस गर्न निर्माण व्यवसायीलाई निर्देशन दिनुका साथै निर्माण व्यवसायीले पेस गरेको समयभित्र सम्पन्न गर्ने गरी काम लगाउनका लागि डिभिजन सडक कार्यालय भक्तपुरलाई निर्देशन दिइएको बताउनुभयो ।
उहाँले समयमा नै काम सम्पन्न नगरेमा कारबाहीका लागि सम्बन्धित निकायलाई प्रव्रिmया अघि बढाउनका लागि आग्रह गरिने बताउनुभयो । नमोबुद्ध नगरपालिकाका प्रमुख कुन्साङ लामाले सडकको जिरो पोइन्टबाट काम गर्न निर्माण व्यवसायीलाई आग्रह गर्दै सुरुको बिन्दुबाट सडक निर्माणको काम नहुँदा नागरिकले सास्ती बेहोर्नु परेको बताउनुभयो । उहाँले सडकको काममा देखिएका पोल, खानेपानीको पाइप र बोधिचित्तको बोटको विषयमा देखिएको समस्या समाधान गर्न नगरपालिकाले पहल गर्ने बताउनुभयो ।