• २२ भदौ २०८१, शनिबार

रिमाल समाजबाट नववर्ष शुभकामना आदानप्रदान

blog

काठमाडौँ, चैत २४ गते । रिमाल समाजले नववर्ष २०८१ को पूर्वसन्ध्यामा आज यहाँ शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । समाजले प्रकाशन गरेको नयाँ वर्षको भित्तेपात्रो पनि आजै विमोचन गरिएको छ ।

सो अवसरमा समाजका अध्यक्ष तथा शिक्षक सेवा आयोगका सदस्य डिल्लीराम रिमाल, वरिष्ठ उपाध्यक्ष ईश्वरीप्रसाद रिमाल, महासचिव तथा स्वयंसेवी रक्तदाता-सञ्चारकर्मी रवि रिमाल, सदस्य हरि उपाध्याय (अछाम), हरिदत्त रिमाल (चितवन), पुरातत्त्वविद् मदनकुमार रिमाल, बच्चुराम रिमाललगायतले आफ्नो रीतिस्थिति, पोसाकलगायत कुरामा एकरूपता दिनुपर्ने, रिमालवंशका दिवङ्गत व्याकरणविद्, साहित्यकार, पत्रकार, गीतकार-गायक-नाट्यकार, प्रशासक, कूटनीतिज्ञ (विष्णुहरि, गोपालप्रसाद, हरिप्रसाद, भैरवनाथ, भोगेन्द्रनाथ, वासु रिमाल यात्रीलगायत) आदिका नाममा समिति बनाइ जन्मदिन वा पुण्यतिथि मनाउनुपर्ने, अछाम ढकारी-१, ढनेटामा रिमालवंशका पुर्खा श्रीपाल भट्ट (पहिलेको उपाधि) को हत्या भएको स्थलमा वरिष्ठ इन्जिनियर शङ्करनाथ रिमालका डिजाइनमा कूल ५० लाखका लागतमा निर्माणाधीन कुल मन्दिरलाई कलात्मकरुपले छिट्टै पूर्णता दिनुपर्ने आदि विषयमा जोड दिनुभयो । 

सो अवसरमा इन्जिनियर ऋषि रिमाल (नुवाकोट) लाई समाजको आजीवन सदस्यता प्रदान गरिएको थियो । वि.सं.२०६७ फागुन ९ गते स्थापित समाजका हालसम्म १४ जिल्लामा समिति तथा आजीवन सदस्य छ सय २२ र साधारण सदस्य आठ सय जना एवम् कैलाली-पर्वत, लमजुङ (जिता, बेँसीसहर), दोलखा र झापामा रिमालका कुलायन मन्दिर निर्माण भइसकेका छन् । पहिलो रिमाल वंशावली वि.सं.२०५८ र दोस्रो संस्करण २०८० मा प्रकाशन भइसकेको छ । समाजको साधारण सभा आगामी वर्ष भदौ अन्तिम शनिबार हुनेछ । समाजले हालसम्म स्वास्थ्य, शिक्षा (दिवाकर नीरा छात्रवृत्ति, निर्मल नीरा शैक्षिक पुरस्कार) क्षेत्रमा सेवा पुर्‍याएको छ भने ज्येष्ठ रिमाल र विशिष्ट योगदानकर्तालाई सम्मान पनि गर्दै आएको छ । रासस