• १२ साउन २०८१, शनिबार

सुकुम्वासी परिवारको घरमा डोजर

blog

गढी गाउँपालिका ६ सतैरझोरा हातिमुडा निवासी विष्णु उराँव र अन्नतला उराँवको घरमा डोजर लगाएर भत्काएको अवस्था हो । तस्बिर : जयकृष्ण यादव

जयकृष्ण यादव
इनरुवा, चैत २४ गते । 
सुनसरीको गढी गाउँपालिका-६ सतैरझोरा हातिमुडामा दुई सुकुम्वासी परिवारको घरमा डोजर चलाइएको छ । ऐलानी जग्गा नजिकै जग्गा रहेका एक जना जग्गावालाले अदालतको आदेश भन्दै दुई सुकुम्वासी परिवारको घरमा डोजर चलाएको हो ।

ऐलानी जग्गामा घर भएका गढी गाउँपालिका ६ सतैरझोरा हानिमुडा निवासी ५० वर्षीय विष्णु उराँव र ४० वर्षीय अन्नतला उराँवको घरमा डोजर लगाएर भत्काएको हो । डोजरले घर भत्काएपछि विष्णु र अन्नतल परिवार चैत १७ गतेदेखि खुल्ला आकाशमुनि बस्न बाध्य भएका छन् ।

स्थानीय सुरेन्द्र उराँवले शनिबार चैत २४ गते विष्णु र अन्नतलाको घरमा डोजर लगाउनेलाई कारबाही, क्षतिपूर्ति र बासोबासको ग्यारेन्टीको माग गर्दै सयौँ सङ्ख्यामा स्थानीयले प्रदर्शन गरेका छन् । गढी गाउँपालिका ६ र देवानगञ्ज गाउँपालिका-७ जोड्ने बाटोको २१० फिट चौडाइ ऐलानी जग्गामा बसोबास गर्दै भएका उराँवद्वयको घर भत्काएकाले आफूहरूलाई दुःख लागेको भन्दै स्थानीयले विरोध प्रदर्शन गरेका हुन् ।

उराँवद्वयलाई सोही ठाउँमा पुन:बासको माग र क्षतिपूर्तिको माग गर्दै प्रदर्शनमा उत्रेको स्थानीय रामु उराँवले बताउनुभयो । उहाँले आफूहरू माथि अन्याय भए सडक आन्दोलन गर्न बाध्य हुने  चेतावनी समेत दिनुभयो ।

उहाँले भन्नुभयो, “सडकको ऐलानी जग्गा खोज्ने र खाली गर्ने काम स्थानीय सरकारको हो । तर हरिनगर गाउँपालिका ३ गौतमपुर घर बनाउने रामचन्द्र महेताले आफ्नो जग्गाको अगाडिको ऐलानी आफ्नो भन्दै प्रहरीको बल र डोजर लगाएर भत्काई दिएको छ, यसको हामी विरोध गर्छौ ।”

नेपालको संविधान २०७२ को मौलिक हकमा र आवासको अधिकार सम्बन्धी ऐन २०७५ मा समेत आवासको अधिकारको ग्यारेन्टी गरेको भए पनि उराँव दोयको घरमा प्रहरीको बल र डोजर लगाएर भत्काइदिएको घटनाको पूर्व सतैरझोरा गाविस अध्यक्ष कुशेश्वर खेरवार यादवले समेत विरोध जनाउनुभएको छ ।

खेरवारले उराँवहरुको उठीबास गर्ने कार्यको निन्दा गर्नुहुँदै आवासको अधिकारको ग्यारेन्टी गर्नुपर्ने र बल प्रयोग गरेर गरेको क्षतिको क्षतिपूर्ति दिनुपर्ने माग गर्नुभयो । 

उता गढी गाउँपालिका ६ का कार्यवाहक वडा अध्यक्ष योगनारायण चौधरीले अदालतको आदेशमा घर हटाएको प्रतिक्रिया दिनुभयो । उहाँले पनि सबै कुरा नबुझदा अहिले उराँव परिवारलाई समस्या भएको जानकारी दिनुहुँदै ऐलानी वडा वा गाउँपालिकाले आफ्नो अधीनमा लिने प्रक्रिया अगाडि बनाउने बताउनुभयो ।