गोरखापत्र अनलाइन
विराटनगर, चैत २४ गते। सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममार्फत ‘छोरी आत्मनिर्भर’ कार्यक्रम ल्याउने तयारी गरेको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरीले सो कार्यक्रमबारे तयारी भइरहेको बताउनुभयो ।
मन्त्री चौधरीले महिलालाई उद्यमशीलतामा जोड्न ‘छोरी आत्मनिर्भर’ कार्यक्रम ल्याउन लागिएको बताउनुभएको हो । विराटनगरमा सुरु भएको महिला उद्यमशीलता प्रदर्शनीको उद्घाटन गर्दै मन्त्री चौधरीले महिला उद्यमीका लागि पनि विशेष कार्यक्रम ल्याउने योजना अघि बढिरहेको बताउनुभयो । निजी क्षेत्रले केही नयाँ कार्यक्रममार्फत महिलालाई उद्यमी बनाउने योजना ल्याए मन्त्रालयले सहकार्य गर्ने पनि उहाँले चर्चा गर्नुभयो ।
‘महिलालाई उद्यमशीलतामा जोड्ने योजना बनाइरहेका छौँ । मुलुकको ७ सय ५३ वटा स्थानीय तहका ६ हजार ७ सय ४३ वटै वडामा बीउ पुँजीसहित छोरी आत्मनिर्भर कार्यक्रम सञ्चालन गर्ने सरकारको योजना छ । यसले देशमा महिला उद्यमशीलताको मात्र विकास गर्दैन हजारौँ महिलालाई आत्मनिर्भर पनि बनाउन सफल हुनेछ’ उहाँले भन्नुभयो । महिला आर्थिक, सामाजिक, शारीरिक र मानसिक रूपमा पीडित रहेको उल्लेख गर्दै मन्त्री चौधरीले भन्नुभयो ।
महिला अधिकार, सशक्तीकरणका बारेमा ठुला पाँचतारे होटलमा हुने सेमिनार र गोष्ठीजस्ता कार्यक्रमले ग्रासरूटमा रहेका महिलालाई नछोएको भन्दै मन्त्री चौधरीले स्थानीय तहमै गएर महिलाका पीडा सुन्न अनुरोध गर्नुभयो । ‘तारे होटलमा जम्मा गराएर यसो र उसो गर्नुपर्छ भन्दै भाषण गरेर मात्र उनीहरूको सीप विकाससहित आर्थिक र सामाजिक विकास नह्ने उहाँको भनाइ छ ।
हरेक वडामा ५ देखि १० जना छोरीलाई दुई तीन वर्षसम्म ऋण तिर्न नपर्ने सर्तमा बीउ पुँजीको व्यवस्था गरेर प्याकेजमै सीप विकास कार्यक्रम सञ्चालन गर्ने मन्त्री चौधरीले योजना सुनाउनुभयो । त्यसका लागि उहाँले मन्त्रालयको जिम्मेवारी सम्हाले लगत्तै राष्ट्रिय योजना आयोग, अर्थ मन्त्रालय, प्रधानमन्त्री समेतलाई अवधारणा बुझाइसक्नु भएको छ । चौधरीको योजना आगामी आर्थिक वर्षमा लागू भए एकै पटक देशभर महिला आर्थिक सशक्तीकरणको अभियानमा जोडिने छन् ।
‘यो कार्यक्रमले महिलाको जीवनमा आर्थिक परिवर्तन आउँछ भन्ने हाम्रो अपेक्षा हो, यसमा प्रधानमन्त्री र अर्थमन्त्री समेत सकारात्मक हुनुहुन्छ’ उहाँले भन्नुभयो । मन्त्री चौधरीले मुलुकको विकास गर्न निजी क्षेत्र र सरकार दुवै सँगसँगै अघि बढ्नुपर्नेमा जोड दिनुभयो ।