नुवाकोट समाचारदाता
नुवाकोट, चैत २३ गते । नुवाकोटको विदुर नगरपालिका–१ स्थित त्रिशूली नदीमा पक्की पुल निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । जिल्लाकै पहिलो जलविद्युत् परियोजना त्रिशूली जलविद्युत् केन्द्र निर्माणका क्रममा छ दशकअघि २०२० सालमा निर्माण गरिएको आठ मेट्रिक टन क्षमताको एकल लेनको पुल जीर्ण बनेपछि नयाँ पुल निर्माण गरिएको हो ।
पुरानो पुल अत्यधिक भारवहन र समय क्रमसँगै जीर्ण भएर दुर्घटनाको जोखिम बढेपछि पुरानो पुललाई यथावत् राखेर सो पुलनजिकै नयाँ पुल निर्माणाधीन छ । नयाँ पुलको निर्माणपछि दुर्घटनाको जोखिम हट्नुका साथै साँघु बजारको नामले समेत परिचित त्रिशूली बजार क्षेत्रमा आवागमनमा सहज हुने स्थानीय नरेश जोशीले बताउनुभयो । करिब आठ करोड रुपियाँको लागतमा निर्माणाधीन ६० मिटर लामो र ११ मिटर चौडा दोहोरो लेनको उक्त नयाँ पुल बक्स कडर प्रिस्टेस प्रविधिमा निर्माण भइरहेको हो ।
‘डिजाइन एन्ड बिल्ड मोडल’ मा भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभागको पुल महाशाखा काठमाडौँ अन्तर्गत सेक्टर–२, ललितपुरको संयोजनमा पुल निर्माण भइरहेको छ । आगामी २०८१ साल असार मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने गरी २०७९ सालदेखि निर्माण थालिएको पुलको हाल ९० प्रतिशत निर्माण कार्य पूरा भएको र आउँदो वैशाख अन्तिम साताबाट पुल सञ्चालन गरिने निर्माण कम्पनी हिमडुङ एन्ड थोकर/गणेश कुण्ड निर्माण कम्पनी जेभीले जनाएको छ ।