बनेपा समाचारदाता
बनेपा, चैत २३ गते । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका–२ स्थित हिले जलजले सामुदायिक वन क्षेत्रलाई पर्यटकीय गन्तव्य बनाउने उद्देश्यले ‘पर्यटकीय ताल’ निर्माणको कामलाई तीव्रता दिइएको छ ।
बागमती प्रदेश सरकारले नगरकोट पुग्ने पर्यटकलाई आकर्षित गर्ने उद्देश्यले हिले जलजले सामुदायिक वन ‘ख’ मा ताल निर्माणको योजना अघि बढाएको हो । प्रदेशको खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालय अन्तर्गतको जलस्रोत तथा सिँचाइ डिभिजन कार्यालयले ताल निर्माणको काम अघि बढाएको हो ।
सिँचाइ डिभिजन कार्यालयका सूचना अधिकारी इन्जिनियर कुश बुढाथोकीले ताल निर्माणको ठेक्का पाएको निर्माण व्यवसायी कम्पनीले चालु आर्थिक वर्षमा ताल निर्माणको काम सम्पन्न गर्ने जानकारी दिनुभयो । तालको भुईंमा ढलान तथा तालको वरपर पर्खाल लगाउने काम भइरहेको छ । हालसम्म ३० प्रतिशतभन्दा बढी काम सकिएको दाबी उहाँले गर्नुभयो । निर्माण कम्पनी विजय÷लोटस÷तेजस्वी जेभीका गणेश मोक्तानले असारसम्ममा ताल निर्माण सम्पन्न गर्ने गरी काम भइरहेको बताउनुभयो ।
निर्माणाधीन पर्यटकीय ताल आठ मिटर अग्लो, ११ मिटर चौडाइ र १८२ मिटर लामो गरी ०.४९ हेक्टर क्षेत्रफलमा फैलिएको छ । यस तालको बाँध ओखरे र थुम्की खोला मिसिएर बग्ने स्युरो खोलामा बाँधिने छ । ताल निर्माणका लागि डिभिजन वन कार्यालयले ताल निर्माण हुने स्थानको १२९ वटा रुख कटान गरी ताल निर्माणका लागि बाटो खोलेको थियो । पहिलो चरणमा ताल निर्माण हुने र दोस्रो चरणमा पार्किङ, होटल तथा पसल सञ्चालनका लागि संरचना, टिकट घरलगायतका अन्य पूर्वाधार निर्माण गरिने तालको गुरुयोजनामा छ । उक्त वन क्षेत्रमा तालका साथै मनोरञ्जन पार्क, बाल उद्यानका र ताल आसपासको सौन्दर्यीकरणको कामसमेत गरिने छ । ताल निर्माणका लागि चालु आर्थिक वर्षमा प्रदेश सरकारले एक करोड रुपियाँ बजेट विनियोजन गरेको छ ।
निर्माण कम्पनीले २०७९ साल मङ्सिर ८ गते दुई वर्षभित्र काम सम्पन्न गर्ने गरी पाँच करोड ८९ लाख ५१ हजार ५१० रुपियाँमा ठेक्का सम्झौता गरेको छ । तालसहितका अन्य संरचना निर्माण गर्न भ्याटबाहेक १६ करोड ९४ लाख ५० हजार रुपियाँ लागत अनुमान गरिएको छ ।