• १९ वैशाख २०८१, बुधबार

नेप्से परिसूचकमा झिनो गिरावट

blog

काठमाडौँ, चैत २२ गते । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक दुई दशमलव ७३ अङ्कले ओरालो लागेर दुई हजार चार दशमलव शून्य पाँचमा अङ्कमा सीमित भएको छ ।

ठुला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक शून्य दशमलव ३४ अङ्कले ओरालो लागेर तीन सय ५५ दशमलव ४२ मा झरेको छ । विभिन्न कम्पनीका ६९ लाख ६३ हजार तीन सय ५९ कित्ता शेयर तीन अर्ब तीन करोड ७२ लाख ६७ हजार तीन सय सातमा कारोबार भएको छ । कारोबारका आधारमा गुर्खाज फाइनान्स शीर्ष स्थानमा छ । सो कम्पनीको २३ करोड ३२ लाख ९१ हजार छ सय १२ बराबरको कारोबार भयो । 

शिवम् सिमेन्ट १८ करोड ३८ लाख ६७ हजार चार सय, सर्वोत्तम सिमेन्ट १८ करोड २४ लाख ७१ हजार पाँच सय ५६, सूर्यज्योति लाइफ इन्स्योरन्स छ करोड २३ लाख र सोनापुर मिनरल्स छ करोड दुई लाख ९३ हजार आठ सय ५३ बराबरको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् । नेप्सेका अनुसार मानुषी लघुवित्तको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

साथै मनकामना स्मार्ट लघुवित्तको नौ दशमलव ९९, गुराँस लघुवित्तको नौ दशमलव ९७, तारागाउँ रिजेन्सी होटलको नौ दशमलव ९०, रविन नेपाल लघुवित्तको शेयर मूल्य नौ दशमलव २१ प्रतिशतले बढेको छ । साथै पिपल्स पावरको नौ दशमलव शून्य पाँच, सर्वोत्तम सिमेन्टको पाँच दशमलव ८५, रिभर फल्स पावरको चार दशमलव शून्य नौ, इमर्जिङ नेपालको तीन दशमलव ४६ र तेह्रथुम पावर कम्पनीको शेयर मूल्य तीन दशमलव ३१ प्रतिशतले घटेको छ । रासस