• १२ साउन २०८१, शनिबार

“स्थानीय सरकारको अनुभूति दिलाएका छौँ” : लोप्साङ छोम्पेल

blog

लोप्साङ छोम्पेल विष्ट (राजु) अध्यक्ष, लो–घेकर दामोदरकुण्ड गाउँपालिका

माथिल्लो मुस्ताङमा पर्ने लो–घेकर दामोदरकुण्ड गाउँपालिका जिल्लाको उत्तरी भेगमा अवस्थित छ । एक हजार २९२ जनसङ्ख्या रहेको यो गाउँपालिका प्राकृतिक तथा सांस्कृतिक सम्पदाले भरिपूर्ण पर्यटकीय हिसाबले पनि सम्भावनायुक्त पालिकाका रूपमा रहेको छ । प्रसिद्ध धार्मिकस्थल दामोदरकुण्ड यसै गाउँपालिकामा पर्दछ । कालीगण्डकी कोरिडोर यो पालिका हुँदै कोरला नाकामा जोडिएको छ । साबिकका चराङ, घमी र सुर्खाङ गाउँ विकास समितिलाई समेटेर लो–घेकर दामोदरकुण्ड गाउँपालिका बनाइएको हो । गाउँपालिकालाई चराङ, घमी, घिलिङ, सुर्खाङ र ताङ्‍ग्या गरी पाँच वडामा विभाजन गरिएको छ । जलवायु परिवर्तनको असर यहाँको मुख्य चुनौतीका रूपमा देखिएको छ । गत स्थानीय तहको निर्वाचनबाट दोस्रो कार्यकालका लागि नेकपा एमालेबाट निर्वाचित हुनुभएका पालिका अध्यक्ष लोप्साङ छोम्पेल विष्ट (राजु) सँग गोरखापत्रका समाचारदाता ठाकुरप्रसाद आचार्यले गर्नुभएको कुराकानी : 

  दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभयो, काम कसरी भइरहेको छ ? 

मुस्ताङ जिल्ला अझ माथिल्लो मुस्ताङ क्षेत्र भौगोलिक रूपमा पनि विकट र फरक हावापानीका कारण काम गर्न चुनौतीपूर्ण छ । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरको ट्र्याक मात्र खुलेको थियो । पालिकाका बस्तीमा सडक सुविधा पुगेको थिएन । गाउँपालिकाले कोरिडोर सडकको स्तरोन्नति गर्न सहजीकरण ग¥यौँ । पहिलो कार्यकालको अवधिमा सबै वडामा सडक सुविधा पुर्याएका छौँ । एक घर एक खानेपानीका धारा पुगेको छ । सबै बस्तीमा विद्युतीकरण गरेका छौँ । साथै कृषि र पर्यटनका क्षेत्रमा धेरै उपलब्धि हासिल भएका छन् । सबै वडाको कार्यालय भवन बनेका छन् ।    

अहिले माथिल्लो मुस्ताङलाई लक्षित गरेर सबस्टेसन र प्रसारण लाइनको काम अघि बढेको छ । गाउँपालिकाभित्र पाँच शय्याको अस्पताल निर्माणाधीन छ । पर्यटकीय स्थललाई व्यवस्थित बनाउने, दामोदरकुण्डमा तीर्थयात्री आवास, शौचालय र खानेपानीको व्यवस्था गरेका छौं । गाउँपालिकाको सुविधा सम्पन्न प्रशासकीय भवन आगामी असारभित्र सम्पन्न हुँदै छ । 

 गाउँपालिकामा विकासका सम्भावनाको पहिचान गर्नुभएको छ ? 

पालिकालाई पर्यटकीय स्थलका रूपमा विकास गरेर विश्वलाई चिनाउनु छ । लाखौँ भारतीय धार्मिक पर्यटकलाई मुक्तिनाथ, दामोदरकुण्ड हुँदै कैलाश पर्वत मानसरोवर पु¥याउन सकिन्छ तर यसतर्फ सङ्घीय सरकारको ध्यान पुग्न सकेको छैन । यहाँ सम्पूर्ण सनातन हिन्दु सभ्यताको अध्ययन, अनुसन्धान तथा धार्मिक पर्यटनको केन्द्र बनाउन सकिने सम्भावना छ । 

कृषि र पशुपालनमा राम्रो सम्भावना छ । कृषि क्षेत्रलाई आधुनिकीकरण गरी स्याउ खेतीको विस्तार र विकासको सोच छ । प्राकृतिक सम्पदा, ऐतिहासिक कला संस्कृति र मौलिकतालाई संरक्षण गर्दै पर्यटनको ‘हब’ बनाउने योजना बनाएको छु । 

 स्याउ खेतीको विकास र विस्तारका योजना कस्तो छ ?  

हाम्रो पालिका स्याउ खेतीका लागि उर्वर भूमि हो । हामीले सामुदायिक स्याउ खेती २०७५ सालबाट सुरु गरेका छौँ । अहिलेसम्म १६ हजार स्याउका बोट रोपेका छौँ । ३३ प्रतिशत बोटले फल दिन थालेका छन् । यसमा ६० घरधुरी आबद्ध छन् । गाउँपालिकाको सहयोगमा व्यक्तिगत र सामूहिक रूपमा गरेर अहिलेसम्म ३० हजारभन्दा बढी स्याउका बोट लगाएका छौँ । स्याउका बगैँचामा सिँचाइ सुविधा पुर्याएका छौँ । अहिले स्याउ बिक्री गरेर पालिकामा ४० लाख रुपियाँ भित्रिन्छ । हामीले अबको दुई/तीन वर्षभित्रमा कम्तीमा पनि दुईदेखि तीन करोड रुपियाँसम्म भित्र्याउने लक्ष्य लिएका छौँ । 

 जलवायु परिवर्तनको असर र प्रभाव पनि परेको छ ?  

अहिले मुस्ताङको मुख्य समस्या भनेको जलवायु परिवर्तन नै हो । जलवायु परिवर्तनका कारण यहाँको जनजीवन प्रभावित भएको छ । हामीले जलवायु परिवर्तनबाट पर्ने असरलाई रोकथामका लागि बोटबिरुवा रोप्ने, खोलानालाको संरक्षण र सरसफाइ गर्ने, मानवीय व्रिmयाकलापका कारण पर्ने असरलाई न्यूनीकरण गर्ने जस्ता काम गरेका छौँ । 

 गाउँपालिकाले शिक्षा र स्वास्थ्यका क्षेत्रमा के कस्ता काम गरेको छ ? 

शैक्षिक क्षेत्रको विकासका लागि ‘एक विद्यार्थी एक शैक्षिक खाता’ अभियान चलाइएको छ । हिमाली भेगमा बालबालिका पढ्न नमान्ने, स्कुल गएका विद्यार्थी पनि उच्च शिक्षासम्म नपुग्ने समस्या छ । यसको मुख्य कारण गरिबी हो । स्कुल पढ्दापढ्दै अभिभावकले व्यापार व्यवसायमा लगाउने प्रवृित्त छ । बालबालिकालाई विद्यालयमा टिकाउने यो अभियान सञ्चालन गरेको हो । प्रत्येक बालबालिकाको बैङ्क खाता खोलेर गाउँपालिकाले मासिक २५० र अभिभावकले उक्त खातामा मासिक दुई सयदेखि तीन सय रुपियाँ जम्मा गर्दछन् । १८ वर्ष पुगेपछि बैङ्कले चेक दिन्छ र रकम निकाल्न पाइन्छ । यो अभियानले विद्यार्थी र अभिभावकमा स्कुल गयो भने पैसा पाइन्छ भन्ने परेको छ । पछि कलेज पढ्दा पनि विद्यार्थीलाई यसले सहज हुने विश्वास गाउँपालिकाको छ । 

विद्यालय व्यवस्थित बनाएका छौँ । विदेशी संस्थासँग साझेदारी गरेर आवासीय विद्यालय बनाएका छौँ । प्रत्येक वडामा रहेका स्वास्थ्य चौकीलाई व्यवस्थित बनाएका छौँ । विभिन्न सङ्घसंस्थासँग समन्वय गरेर स्वास्थ्य र शैक्षिक गतिविधि सञ्चालन भएका छन् । ज्येष्ठ नागरिकको घरमै स्वास्थ्य परीक्षण र औषधी वितरण गर्ने व्यवस्था मिलाएका छौँ । 

 प्रदेश र सङ्घीय सरकारसँग गाउँपालिकाको समन्वय कस्तो छ ? 

गाउँपालिकामा प्रदेश सरकारका सिँचाइ र सडकका योजना सञ्चालित छन् । कृषि, पशुपालन र पर्यटन क्षेत्रमा प्रदेशसँग समन्वय गरेर धेरै कार्यक्रम सञ्चालन गरेका छौँ । पालिकाको पूर्वाधार विकासमा प्रदेश र सङ्घका जनप्रतिनिधिसँग निरन्तर समन्वय र सहकार्य गरेर योजना ल्याएका छौँ । हामीलाई उहाँहरूको राम्रो साथ र सहयोग मिलेको छ । सङ्घीय सरकारबाट सञ्चालित राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी कोरिडोरको जोमसोम–कोरलाखण्डको कालोपत्रे गरेर यातायातलाई सहज बनाउन आवश्यक छ । हामीले सङ्घीय सरकारसँग निरन्तर पहल गरेका छौँ । केही खण्डको सडक स्तरोन्नतिको कार्य अहिले अलपत्र परेको छ । अलपत्र सडक निर्माण योजना अघि बढाउन हाम्रो पहल भएको छ । 

 पालिकाका समस्या, बाधा, चुनौती र अवसर के के छन् ?  

हामीले प्रकृतिसँग लड्नु परेको छ । जलवायु परिवर्तन र यसको असर हाम्रो मुख्य समस्याका रूपमा देखा परेको छ । जलवायु परिवर्तनका कारण प्राकृतिक विपत्ति बाढी, अनावृष्टि कुनै ठाउँमा धेरै पानी परेर समस्या, कतै पानी नपरेर समस्या जस्ता असर देखा पर्न थालेका छन् । प्रकृतिसँग जुधेर जीवनयापन गर्नुपर्ने बाध्यता छ । भौगोलिक कठिनाइ र आधुनिकतासँगै यहाँको मौलिक कला, संस्कृति र वेशभूषाको संरक्षण अहिलेको चुनौतीका रूपमा देखा परेको छ ।