• २ माघ २०८१, बुधबार

नेपालले गुजरातलाई दियो १८२ रनको चुनौती

blog

काठमाडौँ, चैत २० गते। एसएसएस फ्रेन्डसिप कप टी–२० क्रिकेटमा नेपालले गुजरातलाई १८२ रनको चुनौती दिएको छ।  त्रिकोणात्मक सिरिज अन्तर्गत बुधबार भएको तेस्रो खेलमा नेपालले वापीस्थित साई मेघपन स्पोर्ट्सलाइफ मैदानमा गुजरातलाई ७ विकेटको क्षतिमा १८२ रनको चुनौती दिएको हो।

नेपालका लागि आसिफ शेख र कुशल भुर्तेलले शानदार अर्धशतक बनाउनुभयो। आसिफ शेखले ५१ बलमा सर्वाधिक ८५ रन बनाउनुभयो भने कुशल भुर्तेलले ४४ बलमा ६७ रन जोड्नुभयो। नेपालका ओपनर कुशल र आसिफले शानदार अर्धशतक बनाए पनि अन्य ब्याट्सम्यानले दोहोरो अङ्कमा रन जोड्न सकेनन्। 

कप्तान रोहित पौडेल ७ बलमा ३ रन, सन्दीप जोरा ३ बलमा २ रन, कुशल मल्ल २ बलमा १ रन र गुल्शन झा ४ बलमा ४ रन बनाएर आउट हुनुभयो। अनिलकुमार शाह शून्यमा आउट हुँदा विवेककुमार यादवले नटआउट ५ बलमा ७ रन र प्रतिश जिसीले ३ बलमा ४ रन जोड्नुभयो।  केही बेलमा गुजरातले नेपालले दिएको १८२ रनको लक्ष्य पछ्याउँदैछ। 

गुजरातका लागि जयीतम पटेलले ४६ रन खर्चिएर ३ विकेट लिनुभयो भने ध्रुशान्त सोनीले २६ रन खर्चिएर २ विकेट लिनुभयो ।