राधा लुइटेल
फिदिम, चैत २१ गते । नेपाल कम्युनिष्ट पार्टी (एमाले) पाँचथरको नवौं जिल्ला अधिवेशनले विष्णुप्रसाद सापकोटाको अध्यक्षतामा नयाँ कार्य समिति निर्वाचित गरेको छ । अधिवेशनले ७५ सदस्यीय नयाँ कार्य समिति चयन गरेको एमाले पाँचथरले जनाएको छ ।
अधिबेशनमा अध्यक्ष र सचिवसहित बहुसंख्यक सदस्य सर्वसम्मत भए पनि उपाध्यक्ष, उपसचिव र ५ जना खुल्ला सदस्य निर्वाचन प्रक्रियाबाट चुनिनु भयो ।
निर्वाचन प्रक्रियाबाट उपाध्यक्षमा वीरबहादुर कुरुम्वाङ, उपसचिवमा तुलसी थापा र कौशिला आङदेम्वे, खुला सदस्यमा नवराज अधिकारी, खगेन्द्र बाँस्कोटा, कृष्ण ओझा, बिनोद आङदेम्वे र राजु थाम्सुहाङ निर्वाचित हुनुभएको निर्वाचन समितिका सूचना अधिकारी टीका तिम्सिनाले बताउनुभयो ।
नव निर्वाचित अध्यक्ष सापकोटा गत पुस महिनादेखि एमाले पाँचथरको कार्यबाहक अध्यक्ष हुनुहुन्थ्यो । जिल्ला कमिटिमा अब १५ जना सदस्य मनोनित हुने वैधानिक व्यवस्था रहेको पनि निर्वाचन समितिले जनाएको छ ।