• १८ वैशाख २०८१, मङ्गलबार

नर्सिङ छोडेर हेयर कटिङमा स्थापित निरु

blog

काठमाडौं, चैत २१ गते । कुनै बेला नर्सिङ पेसामा आबद्ध निरु कुँवर जीवनमा केही फरक ढङ्गले स्थापित हुने चाहना राख्नुहुन्थ्यो ।

एउटै पेसामा मात्र सीमित नभ  सिर्जनात्मक क्षेत्रमा फराकिलो सोचले अघि बढ्नुपर्छ भन्ने लागेपछि करिब २४ वर्षअघि नर्सिङ पेसा छोडेर ब्युटीसियनको तालिमका लागि उहाँ थाइल्याण्ड जानुभयो ।

उहाँले थाइल्याण्डमा करिब पाँच वर्ष महिला र पुरुष दुवैको कपाल काट्ने सेवामुखी काममा आबद्ध हुनुभएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नर्स पेसा गर्थें । ठुला डाक्टरहरुसँग पनि काम गरेको थिएँ । त्यतिले मात्र जीवनस्तरलाई माथि लान सकिएन । ममा योभन्दा अझै केही गर्न सक्छु भन्ने भावना आयो । थाइल्याण्ड गएर महिलाको साथसाथै पुरुषको कपाल काट्ने र थेरापिष्ट तालिम लिएँ ।”

निरुसँग विदेशमै रहेर सोही पेसालाई निरन्तरता दिने विकल्प नभएको होइन तर,आफूसँग भएको सीप र जाँगर स्वदेशमा लगानी गर्ने निधो गरेर नेपाल फर्कनुभयो ।

उहाँले भन्नुभयो, “सेवा गर्ने क्षेत्रमा काम गर्न असाध्यै मन लाग्थ्यो । तर सेवाले मात्र नपुग्ने रहेछ । म अलिकति सिर्जनात्मक दिमागको भएकोले निरन्तर गर्न सकियो भने आर्थिक स्थिति राम्रो बनाउन सकिने रहेछ । यही पेसाले घर बनाएको छु । केटा मान्छेले कपाल काटे भने तीनदेखि पाँच मिनेटमा दुई, तीन सय कमाइ हुन्छ ।”

महिलाका लागि महिलाले सञ्चालन गरेका पार्लरहरु मुस्किलैले भेटिने त्यो समयमा उहाँले महिला र पुरुष दुवैले सेवा लिन सक्ने गरी ब्युटीपार्लर एवम् बार्बर स्थापना गर्नुभयो ।

उहाँले भन्नुभयो, “नयाँ चीज जुनै पनि ल्याउँदा समाज अलि कन्जरभेटिभ छ । समाजले भन्यो भनेर पछाडि फर्कियो भने कहिल्यै अगाडि बढ्न सकिँदैन । साथीहरुले महिलाका लागि पार्लर खोल्थे । मेरो ठाउँमा चाहिँ गर्लफ्रेन्ड, ब्वाईफ्रेन्ड भए पनि निर्धक्क आउँथे ।”

कस्मेटिक क्षेत्र भएकोले गर्दा सुरुवाती चरण चुनौतीपूर्ण रहेको उहाँको भनाइ छ । फेरि, यो पेसालाई हेयले हेर्ने सामाजिक दृष्टिकोण पनि थियो ।

उहाँले भन्नुभयो, “सोच चाहिँ उच्च राख्नुपर्‍यो । यिनीहरु तल्लो जातको हो भनेर सोच्ने पनि देखियो । कति ठाउँमा जाँदाभित्र बोलाउन पनि अप्ठ्यारो मान्नुभयो । हामी आफ्नो पेसामा आफूलाई गौरव ठान्छौं । चोरेको, ढाँटेका छैनौं । रामलाई नै काम मान्नु भन्छन् नि, त्यो श्रद्धा गर्छौं । चाहेको ठाउँमा सहयोग पनि गर्न सक्छु । अति खुसी लाग्छ ।”

यस्ता सबै कुरालाई चिर्दै निरन्तर सङ्घर्षरत निरु आफ्नो क्षेत्रमा अब्बल रुपमा स्थापित हुनुभएको छ ।

भिडियो : मनोजरत्न शाही

Author
सपना थामी

उहाँ राजनीति र समसामयिक विषयमा रिपोर्टिङ गर्नुहुन्छ ।