• ८ वैशाख २०८१, शनिबार

ज्येष्ठ नागरिक दिवासेवा केन्द्र: पीडा भुलाउने चौतारी

blog

देउखुरी (दाङ), चैत २० गते । चाउरी परेका अनुहार, कपाल पूरै फुलेर सेताम्मे, हिँड्न गाह्रो हुँदा लौरोको सहारा, जीवनको उत्तरार्द्धतर्फ उन्मुख यहाँका ज्येष्ठ नागरिकको अहिलेको दैनिकी हो-बिहानको खानापछि दिवासेवा केन्द्रमा पुग्ने, दुःख सुखका कुरा गर्ने तथा रमाउने । 

उहाँहरू त्यहाँ पुगेपछि एकैछिन मनका बह पोख्ने गर्नुहुन्छ र सुरु सुन्छ मनोरञ्जनात्मक क्रियाकलाप । बजाउन जान्नेले मादल, खैँजडी आदि बजाउने, केहीले गाउने र अरू बाजाका तालमा नाच्ने र गाउने । यो सुरु भएपछि आफ्ना सबै पीडा भुलिन्छ भन्नुहुन्छ उहाँ । यसरी आफ्ना पीडा भुलाउने चौतारो बनेको छ, नागरिक दिवासेवा केन्द्र, भन्नुहुन्छ यहाँ पुग्ने ज्येष्ठ नागरिकहरू । 

दाङमा ज्येष्ठ नागरिकका लागि दिवासेवा केन्द्र सञ्चालन भएपछि उहाँहरूको दैनिकी पनि फेरिएको छ । घोराही उपमहानगरपालिका-६ जजरागाउँका पदमप्रसाद अधिकारी ८८ वर्षका हुनुभयो । उहाँ बिहान ११ बजे सोही वडाको गुरुवागाउँमा अवस्थित ज्येष्ठ नागरिक दिवासेवा केन्द्रमा दैनिक आउने गर्नुहुन्छ । आफ्ना साथीभाइ, दौँतरीसँगको भेटघाट र भलाकुसारीले मन भुलाउने गर्नुहुन्छ र बेलुका घर फर्किनुहुन्छ । 

दिवासेवा केन्द्रमा आफ्नै उमेरका आफन्त, साथीसँग भलाकुसारी, भजनकीर्तन गर्ने, नाच्ने गाउने गर्दा उहाँलाई आनन्द लाग्ने गरेको बताउनुहुन्छ । “रामायण, महाभारतका श्लोक सुन्दा मनमा आनन्द आउँछ,” उहाँले भन्नुभयो, “कोही तालीले साथ दिन्छौँ कोही गलाले साथ दिन्छौँ, अनि नाच्न जान्ने साथीहरू पनि नाचेरै रमाउनुहुन्छ । यो त हाम्रा लागि समय बिताउने ठाउँ मात्र होइन कि बिसाउने चौतारी पनि भएको छ । केन्द्रमा आउन थालेपछि समय बितेको थाहै नहुँदो रहेछ ।” 

घोराही–६ गुरुवागाउँका गोकर्ण अधिकारी उमेरले ६८ वसन्त पार गर्नुभयो । उहाँ शिक्षक सेवाबाट निवृत्त हुनुहुन्छ । पहिले त दैनिक विद्यालय जाँदा समय बितेको थाहा हुँदैनथ्यो उहाँलाई । अवकाशपछि घरमा बसेर दिन बिताउन उहाँलाई पट्यार लागेको थियो । वि.सं.२०७८ मा घर नजिकै दिवासेवा केन्द्र स्थापना भएपछि अहिले भने उहाँको दिनचर्या फेरिएको छ । आफ्ना कुरा सुनाउने अनि साथीका कुरा सुन्ने, भजनकीर्तन तथा नाचगान गरेर दिन बिताउने गर्न सजिलो भएको छ । “आफूसँगका साथीसँग भेट हुन्छ । घरमै बस्दा अत्यास लाग्थ्यो यहाँ साथीभाइ र आफन्तीसँग भेट हुँदा छुट्टै आनन्द आउँछ”, उहाँले भन्नुभयो ।

आफ्ना कुरा सुनाउने साथीका कुरा सुन्ने र नाचगान भजनकीर्तन गरेर दिन बिताउने गर्न सजिलो भएको उहाँको भनाइ छ । “आफूसँगका साथीसँग भेट हुन्छ । साथीभाइ र आफन्तसँग पनि भेट हुन पाउँदा पहिलेको समयको याद आउँछ”, उहाँले भन्नुभयो, “साँच्चै भन्ने हो भने दिवासेवा केन्द्र दुःख बिसाउने साझा चौतारी नै बनेको छ ।” सेवा केन्द्र आउन थालेपछि ऊर्जा थपिएको उहाँको अनुभव छ । घरमै बसिरहँदा शरीर कुजिएजस्तो भएको र यहाँ आउन थालेपछि हलुङ्गो भएको उहाँले सुनाउनुभयो । घोराही उपमहानगरपालिका वडा नं ६ ले भजन गाउँदा बजाउने सामग्री सहयोग गरेको छ । 

दैनिक १५ देखि १८ जना ज्येष्ठ नागरिक यहाँ आउने गर्नुहुन्छ । यहाँ आउन कसैलाई पनि रोकतोक छैन । जम्मा हुनासाथ उहाँहरूले आरती गर्नुहुन्छ र त्यसपछि भजन गाउने, गफ गर्ने, नाचगान गर्ने गरेको अधिकारीले बताउनुभयो । साठी वर्ष नाघेका कुनै पनि ज्येष्ठ नागरिक सेवा केन्द्रमा आउन र दिनभर मन भुलाउन सक्नुहुन्छ भन्नुहुन्छ वडा नं ६ का वडाध्यक्ष विष्णुराम आचार्य । गत वर्षदेखि सञ्चालनमा आएको दिवासेवा केन्द्रमा भजनकीर्तनका लागि मादल, खैँजडी, मुजुरा र हार्मोनियम जस्ता वाद्यवादनका सामग्री वडा कार्यालयले उपलब्ध गराएको छ । ती सामग्री प्रयोग गरेर ज्येष्ठ नागरिक दैनिक भजनकीर्तन नाचगान गर्नुहुन्छ । 

आचार्य भन्नुहुन्छ, “केन्द्रमा विभिन्न दाताबाट विभिन्न किसिमका धार्मिक तथा आध्यात्मिक ज्ञानयुक्त पुस्तक राख्ने सामग्री पनि व्यवस्था गरिएको छ । यस केन्द्रमा धार्मिक ग्रन्थको पाठ र भजन कार्यक्रम समय तालिकाअनुसार गरिन्छ । बिहान ११ देखि बेलुकी ३ बजेसम्म केन्द्रमा ज्येष्ठ नागरिकले समय बिताउनुहुन्छ । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले नगरभित्रका ज्येष्ठ नागरिक आफ्ना दौँतरीसँग भलाकुसारी गरेर रमाइलो तरिकाले समय बिताउँदा उहाँहरूको जीवनमा परिवर्तन भएको देख्दा खुसी लागेको बताउनुभयो । 

घोराहीमा सञ्चालन भएको दिवासेवा केन्द्र पछिल्लो समय ज्येष्ठ नागरिकको दिन काट्ने प्रभावकारी माध्यम बन्दै गएको छ । आफ्ना अनुभव साटासाट गर्ने, नाचगान गर्ने र विभिन्न विषयमा छलफल गर्ने भएपछि शारीरिक रूपमा काम गर्न नसक्ने र पीडा भुलाउन उक्त केन्द्र सबै वृद्धवृद्धाको रोजाइको ठाउँ बनेको नगरप्रमुख चौधरीले बताउनुभयो । ज्येष्ठ नागरिक समाजका महिला बालबालिका तथा सामाजिक विकास शाखाका प्रमुख मोतीकुमारी विश्वकर्माले घोराही उपमहानगरपालिकाका ११ वटा वडामा ज्येष्ठ नागरिक दिवासेवा केन्द्र सञ्चालनमा आएको बताउनुभयो । नगरले उहाँँहरुको नियमित स्वास्थ्य परीक्षण पनि गर्ने गर्दछ । अहिले मानिसहरू व्यस्त बन्दै गएका छन् । एकातर्फ घरमा युवा पुस्ता नबस्ने गरेकाले गाउँघरका घरहरू वृद्धाश्रमजस्ता भएका छन् । 

अर्कातर्फ नेपालमै रहेका नयाँ पुस्ता पनि आ-आफ्ना काममा व्यस्त छन्, या सहर बजारतिर छन् । घरैमा भएका आफ्ना सन्तान पनि आफूसँग भन्दा सामाजिक सञ्जालमा बढी रमाउने गरेका कतिपय ज्येष्ठ नागरिकको गुनासो हुने गर्दछ । त्यसैले यसरी स्थापना गरिएका नागरिक सेवा केन्द्रहरू नागरिकका दिन काट्ने र रमाउने माध्यम बन्ने गरेका छन् । यी केन्द्रहरू कतिपय ज्येष्ठ नागरिकको समय काट्ने, कतिका पीडा भुलाउने तथा कतिपयलाई मनोरञ्जन लिने स्थान पनि बन्न सफल भएका छन् । विभिन्न पेसा र व्यवसायमा रहेर निवृत्त भएका उहाँहरूका ज्ञान, अनुभव र सीपबाट समाजले पनि धेरै शिक्षा तथा सहयोग लिन सक्छ । रासस