• २२ वैशाख २०८१, शनिबार

देवघाट-हलेसी-माउन्ट एभरेष्ट मोटर र्‍याली

blog

चितवन, चैत २० गते । नेपाल अटोमोबाइल एसोसिएसन (नासा) बागमती प्रदेश र चितवन अटोमोबाइल डिलर्स एसोसिएसन (काडा) ले संयुक्तरुपमा अटो जिमखाना तथा मोटर ट्युरिङ एन्ड टिडिएस र्‍याली (प्रतियोगिता) आयोजना गर्ने भएका छन् । देवघाट-हलेसी-माउन्ट एभरेष्ट मोटर र्‍याली आयोजना गर्न लागिएको हो ।

मोटर टुरिजम तथा मोटर स्पोट्र्स प्रवर्द्धन गर्ने उद्देश्यका साथ कार्यक्रम आयोजना गर्न लागिएको नासा बागमती प्रदेशका अध्यक्ष राजन पियाले बताउनुभयो । पवित्र धार्मिक तीर्थस्थल देवघाटधामबाट सुरु हुने र्‍यालीले भरतपुर हुँदै हेटौँडा, सिन्धुली, खुरकोट, घुर्मी, हिलेपानी, हलेसीसम्मको तीन सय २७ किलोमिटर दूरी पार गर्ने उहाँको भनाइ छ । मोटर र्‍याली रेसिङको विधाअनुसार टिडिएस र्‍याली (टाइम डिस्टेन्स स्पिड) अन्तर्गत गन्तव्यमा पुग्ने छन् । 

गन्तव्यमा पुग्नका लागि विभिन्न स्थानमा चेक प्वाइन्ट निर्धारण गरी बाटोको प्रकृतिअनुसार एभरेज स्पिड दिइने उहाँले बताउनुभयो । त्यस्तै, मोटर रेसिङको सर्ट सर्किट विधा अटो जिमखाना छोटो र साँघुरो अस्थायी सर्किट डिजाइन गरी कलात्मक हिसाबले तयार गरिन्छ । जहाँ चालकहरूले आफ्नो कला, साहस र सृजना प्रस्तुत गर्नेछन् । कार्यक्रममा २५ देखि ३० जना चालकलाई सहभागी गराउने योजना रहेको काडाका उपाध्यक्ष इन्द्र रेग्मीले जानकारी दिनुभयो । 

खोटाङको हर्कपुर सुनकोशी किनारमा प्रतियोगिता सञ्चालन गर्ने तयारी गरिएको रेग्मीको भनाइ छ । इच्छुक चालकहरूले अनलाइनमार्फत नाम दर्ता गर्न सक्ने व्यवस्था गरिएको छ । आगामी वैशाख ५ गते बिहान ८ बजेदेखि सुरु गरिने कार्यक्रमका विजेताहरूले शिल्ड, प्रमाणपत्र र पुरस्कार प्राप्त गर्ने छन् । काडाका निवर्तमान अध्यक्ष ईश्वरकुमार श्रेष्ठका अनुसार सहभागी सबैलाई वैशाख ४ गते पूर्व प्रशिक्षण दिइने छ । 

कार्यक्रममा ड्राइभसन, मार्सल र अन्य प्राविधिक गरी एक सय २४ जना सहभागी हुने छन् । दुई रात, तीन दिन लामो कार्यक्रममा सहभागीहरूलाई खाना तथा बस्ने व्यवस्था आयोजकले मिलाउने छ । सहभागीहरूलाई दुर्घटना बिमाको समेत व्यवस्था गरिएको छ । रासस