• २३ वैशाख २०८१, आइतबार

कर्णाली प्रदेशलाई क्षतिपूर्तिसहितको विशेष बजेट दिन माग

blog

नेपाली कांग्रेसका सांसद कान्तिका सेजुवाल

काठमाडौं, चैत २० गते । नेपाली कांग्रेसका सांसद कान्तिका सेजुवालले कर्णाली प्रदेशलाई क्षतिपूर्तिसहितको विशेष बजेट दिनुपर्ने बताउनुभएको छ । मङ्गलबार प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै सांसद सेजुवालले कर्णाली प्रदेशलाई क्षतिपूर्ति सहितको विशेष बजेट दिनुपर्ने बताउनुभएको हो ।

उहाँले विगतमा असन्तुलित बजेट आउने गरेको भन्दै यस पटक सन्तुलित बजेट ल्याउन माग गर्नुभयो । उहाँले सरकारले कर्णालीका पाँच जिल्लालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गरेपनि सो अनुरूपको बजेट व्यवस्थापन र कार्यक्रमहरू लागू हुन नसकेको बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘‘हामी कृषिप्रधान देशमा हुर्केका । मार्सी चामल, फापर, गहुँ पिठो, जौँ, मकै, आलु खाएका व्यक्तिहरूलाई बजेट सन्तुलन नगरी ल्याउने नीति छ, जुन कार्यक्रम छ । अबको दिनमा फेरि पनि संशोधन हुनुपर्छ जस्तो लाग्छ । हामी कर्णालीले चाहेको जस्तो बजेट र क्षतिपूर्तिसहितको विशेषखालको बजेट ल्याइनुपर्छ भन्ने म माग राख्न चाहन्छु ।’’

सांसद सेजुवालले खेतीपातिको सिजन सुरु हुन लागेको भन्दै खेतीबाली र पशुपन्क्षीमा लाग्ने विभिन्न रोगहरूको नियन्त्रणका लागि सरकार अहिलेदेखि नै सचेत हुनुपर्ने बताउनुभयो ।