• २० वैशाख २०८१, बिहिबार

सीमाबासीसँग सशस्त्र प्रहरी कार्यक्रमः अभिभावकविहीनलाई छात्रवृत्ति

blog

बनियानी (झापा), चैत २० गते । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेक्वा झापाले ‘२३ औँ सशस्त्र प्रहरी दिवस-२०८०’को अवसरमा अभिभावकविहीन विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । 

दिवसको अवसरमा झापा गौरीगञ्ज गाउँपालिका-४ स्थित मुसहर समुदायका अति विपन्न एवम् अभिभावकविहीन गौरिया आधारभूत विद्यालयमा कक्षा-३ मा अध्ययनरत रानी रिषिदेवलाई एपिएफ स्कूलमा कक्षा-१० सम्म निःशुल्क अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिएको हो । बुबाआमा गुमाएकी रानी हाल दिदीभिनाजुसँग बस्दै आएकी छन् । 

त्यसअवसरमा यहाँ आयोजित एक कार्यक्रमकाबीच प्रमुख अतिथि सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा विभागका विभागीय प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौड्यालले रानीलाई छात्रवृत्ति प्रदान गर्नुभएको थियो । सीमा सुरक्षालाई थप व्यवस्थित र प्रभावकारी बनाउन सीमाक्षेत्रमा बसोबास गर्ने स्थानीयवासीको साथ र सहयोग अपरिहार्य रहने सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरीका बाहिनीपति सशस्त्र प्रहरी नायब महानिरीक्षक अञ्जनीकुमार पोखरेलले बताउनुभयो । 

उहाँले विपन्न एक सय ५० जना विद्यार्थीलाई शैक्षिक सामग्री र विद्यालयलाई दुई थान खेलकुद सामग्री पनि वितरण गर्नुभयो । कार्यक्रममा राजस्व चुहावट नियन्त्रण, सीमा अपराध नियन्त्रणसम्बन्धी विषयमा छलफल तथा अन्तरक्रिया गरिएको थियो । दिवसकै अवसरमा ‘सीमाबासीसँग सशस्त्र प्रहरी’ कार्यक्रम अन्तर्गत गत चैत ७ गतेबाट मेचीनगर नगरपालिका-१ स्थित तिरिङबाट संयुक्त पैदलयात्रा गरिएको छ ।

जिल्लाको सीमा इलाका दुरी १४४ दशमलव दुई किलोमिटर दूरीमा चार वटा प्रस्तावित सीमा सुरक्षा गुल्म र १७ वटा बीओपी तैनाथ रहेको र अन्य विभिन्न स्थानमा १६ वटा बीओपी स्थापनाका लागि प्रस्तावित गरिएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाका गणपति सशस्त्र प्रहरी उपरीक्षक कविन्द्र राईले जानकारी दिनुभयो । रासस