• २३ वैशाख २०८१, आइतबार

न्यायाधीश नियुक्तिप्रति सांसद गौतमको असन्तुष्टि

blog

सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा मङ्गलबार बसेको प्रतिनिधि सभा बैठकमा धारणा राख्दै राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतम तस्बिरः किरणराज विष्ट/रासस

काठमाडौं, चैत २० गते । सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सोविता गौतमले न्यायाधीश नियुक्तिप्रति असन्तुष्टि व्यक्त गर्नुभएको छ । न्यायाधीश नियुक्तिको विषयलाई राजनीतिक भागबण्डाको विषय बनाएपछि समस्या आएको उहाँको भनाइ थियो ।

मङ्गलबार प्रतिनिधिसभा बैठकमा विशेष समय लिएर बोल्नुहुँदै सांसद गौतमले सर्वोच्च अदालतको न्यायाधीश नियुक्ति गर्दा राजनीतिक भागबण्डाको पर्खाइमा बस्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताउनुभयो ।

सांसद गौतमले भन्नुभयो, ‘‘न्यायालयलाई बजेट दिँदा पनि सोच्नुपर्ने देखिन्छ । अब न्यायाधीश नियुक्तिको विषयमा पनि हामीले सोच्नुपर्ने विषय छ । न्यायाधीश नियुक्तिमा हामीले राजनीतिलाई छिरायौं । आज सर्वोच्च अदालतमा न्यायाधीश नियुक्ति गर्दाखेरी एक जना खाली भयो भने त्यहाँ नियुक्ति गर्नुपर्नेमा ४/५ जना खाली गराउने पर्खाइमा छौँ । त्यहाँ भागबण्डा गर्ने पर्खाइमा छौं । यो विषयमा हामीले गम्भीर भएर सोच्नुपर्ने स्थिति आइसकेको छ ।’’

उहाँले कारागारभित्र क्षमताभन्दा चार गुणा बढी कैदीबन्दी राखिएको भन्दै आपत्ति जनाउनुभयो ।  सांसद गौतमले सुधारका लागि कारागारमा लगिएका कैदीबन्दीहरु झनै आपराधिक मनोबल लिएर बाहिर आउने सम्भावना रहेको औंल्याउँदै त्यसतर्फ गम्भीर भएर काम गर्न पनि सरकारलाई दबाब दिनुभयो ।