• २३ वैशाख २०८१, आइतबार

पर्यटन ऐन तत्काल परिमार्जन गर्न आवश्यक

blog

सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का सांसद विद्या भट्टराई ।

काठमाडौं, चैत २० गते । सत्तारुढ प्रमुख घटक नेकपा (एमाले) का सांसद विद्या भट्टराईले पर्यटन ऐनलाई तत्काल परिमार्जन गर्न सरकारसँग माग गर्नुभएको छ । मङ्गलबार प्रतिनिधि सभा बैठकमा बोल्नुहुँदै उहाँले पर्यटन ऐन, २०३० लाई तत्काल अद्यावधिक गरी समय सान्दर्भिक बनाउन सरकारलाई दबाब दिनुभएको हो ।

सांसद भट्टराईले पर्यटन रणनीतिक योजनाले प्रक्षेपण गरेको सन २०२५ सम्ममा नेपालमा आउने वार्षिक पर्यटनको सङ्ख्या २५ लाख २२ हजार पुर्‍याउने लक्ष्य पूरा हुनेगरी काम गर्न पनि सरकारलाई सचेत गराउनु भयो । उहाँले पोखरालाई पर्यटकको राजधानी घोषणा गर्ने काम गरेकोमा सरकारप्रति आधार व्यक्त गर्दै त्यसको औचित्य पुष्टि हुनेगरी काम गर्न पनि आग्रह गर्नुभयो ।

‘‘पर्यटक राजधानी त पोखरालाई घोषणा गर्‍यौँ । तर घोषणा गर्नुको औचित्य र आवश्यकता पूरा गर्न कार्यान्वयन गर्नुपर्ने जिम्मेवारी अब हाम्रो काँधमा आएको छ । पर्यटन उद्योगले निर्यात बस्तुको ३८ प्रतिशत र गैर उद्योग सेवाहरूको कूल २० प्रतिशत साथै विदेशी विनिमय आर्जनको झण्डै ४ प्रतिशत योगदान पुर्‍याउँछ ।,’’ सांसद भट्टराईले भन्नुभयो, ‘‘नेपालको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको प्रत्यक्ष योगदान ४ प्रतिशत रहेको छ । पर्यटन रणनीतिक योजनाले सन् २०२५ सम्म नेपालमा आउने वार्षिक पर्यटकको सङ्ख्या २५ लाख २२ हजार पुग्ने तथा जिडिपीमा नौ प्रतिशत भन्दा योगदान पर्यटनको रहने प्रक्षेपण गरेको छ । पर्यटन विकासको खाका समेत तय गरेको छ । तर अहिलेसम्म पनि पर्यटन ऐन २०३० लाई हामीले परिमार्जन गर्न सकेका छैनौँ । हाम्रो पहिलो काम आजको सन्दर्भमा सान्दर्भिक हुने गरी पर्यटन ऐन निर्माण गर्नु अनिवार्य छ ।’’

सांसद भट्टराईले पर्यटन क्षेत्र नेपालको विकासका लागि अति उपयोगी हुने भएकाले पनि सरकारले त्यसको विकास विशेष जोड दिनुपर्ने बताउनुभयो ।