• १२ साउन २०८१, शनिबार

राजस्व सङ्कलनमा वृद्धि

blog

नेपालगन्जस्थित नेपाल भारत नाका जमुनाहा नाका । तस्बिर : सिराज खान

सिराज खान
नेपालगन्ज, चैत २० गते ।
पश्चिम नेपालकै सबैभन्दा ठुलो नाका मानिने नेपालगन्ज भन्सार नाकाबाट गत वर्षको तुलनामा यस वर्ष राजस्वमा वृद्धि भएको छ ।  नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी पूर्णप्रसाद लम्सालका अनुसार यस वर्षको फागुनसम्ममा गत आर्थिक वर्षभन्दा १.३५ प्रतिशतले राजस्व सङ्कलन बढी भएको छ ।

सूचना अधिकारी लम्सालले गत वर्षको साउनदेखि फागुनसम्ममा ११ अर्ब ४३ करोड ६२ लाख २९ हजार रुपियाँ राजस्व सङ्कलन भएकोमा चालु आर्थिक वर्षको फागुनसम्म ११ अर्ब ५९ करोड नौ लाख ४३ हजार रुपियाँ राजस्व सङ्कलन भएको बताउनुभयो ।

फागुनसम्मको राजस्व सङ्कलन हेर्दा गत वर्षको सोही अवधीको भन्दा बढी राजस्व सङ्कलन भए पनि लक्ष्य १८ अर्ब ७७ करोड ४८ लाख २९ हजार रहेकोमा लक्ष्यभन्दा निकै कम ११ अर्ब ५९ करोड नौ लाख ४३ हजार रुपियाँ मात्र राजस्व सङ्कलन भएको सूचना अधिकारी लम्सालले बताउनुभयो ।

नेपालगन्ज भन्सार कार्यालयका अनुसार यसवर्षको फागुनसम्म यो नाकाबाट ४६ अर्ब १७ करोड बराबरको सामान आयात भएको छ । गत वर्ष फागुनसम्मको अवधीमा ४३ अर्ब ३० करोड बराबरको सामान आयात भएको थियो ।

यो वर्षको फागुनसम्ममा एक अर्ब ५६ करोड बराबरको सामान निर्यात भएको छ भने गत वर्ष सोही अवधीमा एक अर्ब ५७ करोड बराबरको सामान निर्यात भएको थियो ।

यस वर्ष भारतबाट मात्रै ९२.८७ प्रतिशत सामान आयात भएको भन्सार कार्यालयले जनाएको छ । सात प्रतिशत सामान चीन, इण्डोनेसिाया, मलेसियालगायत अन्य देशबाट आयात भएको भन्सार कार्यालयले जनाएको छ । यसैवर्ष भारतमा मात्रै ९९.०७ प्रतिशत सामान निर्यात भएको छ ।

नेपालगन्ज भन्सार कार्यालयका सूचना अधिकारी लम्सालका अनुसार यात्रु शाखाबाट मात्रै दैनिक साढे दुई लाख रुपियाँ राजस्व सङ्कलन हुने गरेको छ । सबैभन्दा धेरै आयल निगमबाट राजस्व सङ्कलन हुने गरेको उहाँले बताउनुभयो ।

५१ प्रतिशत राजस्व सङ्कलन आयल निगमबाट मात्रै हुने गरेको छ । चालु आवको चैत महिनाको राजस्वको लक्ष्य दुई अर्ब ४५ करोड तीन लाख ७४ हजार रहेकोमा १७ गतेसम्म ८० करोड १० लाख ३३ हजार मात्र राजस्व सङ्कलन भएको थियो । यो भनेको लक्ष्यको ३२.६९ प्रतिशत मात्र राजस्व सङ्कलन भएको हो ।

राजस्व सङ्कलन हुने प्रमुख मालबस्तुमा प्रेटोलियम पदार्थ, शुद्ध फलाम, चामल, आलु, टायल, स्टील वायर, सुपारी, भटमासको पीना, एमएस बीलेट, अलकत्रा, फलामे पत्रु र तयारी कपडा आदि रहेका छन् । नेपालबाट जडीबुटीलगायतका वस्तु भारततर्फ निकासी हुने गरेको छ ।