• ११ पुस २०८१, बिहिबार

हरित ऊर्जामा सफलता

blog

विश्वमा हुँदै आएको खनिजजन्य इन्धनको अधिक प्रयोगले उत्पन्न वातावरणीय प्रदूषण कम गर्नेतर्फ घनीभूत बहस हुँदै आएको छ । विश्वव्यापी तापमान वृद्धि न्यूनीकरणका लागि भइरहेका अन्तर्राष्ट्रिय पहल तथा कार्बन उत्सर्जन कटौतीप्रतिको प्रतिबद्धता अनुरूप केही वर्षयता वैकल्पिक ऊर्जाको खोजीलाई व्यापक बनाइएको छ । विद्युतीय तथा सौर्य ऊर्जा हुँदै थप वैकल्पिक ऊर्जाका रूपमा अब ग्रिन हाइड्रोजनलाई लिन थालिएको छ । विश्वमा ग्रिन हाइड्रोजनबाट सवारीसाधन प्रशस्त मात्रामा चलाउन थालिएको समाचार आइरहँदा अपत्यारिलो जस्तो लाग्ने गरेकोमा अब भने हाम्रै मुलुकमा ग्रिन हाइड्रोजन इन्धन प्रयोग गरेर गाडी गुडाउन सफलता मिलेको हो । देशभित्रै उत्पादित ग्रिन हाइड्रोजनद्वारा पहिलो पटक सवारीसाधन सञ्चालनमा ल्याइएपछि मुलुकले छिट्टै यसको उत्पादन र प्रयोगमा फड्को मार्न सक्ने देखिएको हो ।

काठमाडौँ विश्वविद्यालय (केयु) ले काभ्रेको धुलिखेलस्थित आफ्नै परिसरमा ‘हाइड्रोजन रिफ्युलिङ स्टेसन’ निर्माण गरेर हाइड्रोजन इन्जिनयुक्त कारमा आइतबार ग्रिन हाइड्रोजन भरेर गुडाउन सफलता प्राप्त गरेको छ । केयुले दक्षिण कोरियाको हुन्डाई कम्पनीद्वारा निर्मित हाइड्रोजनले चल्ने उक्त कार (फ्युलसेल इभी) केही समयअघि नै ल्याएको हो । ग्रिन हाइड्रोजनबारे अध्ययन तथा परीक्षण कार्य गरिरहेको केयुको ग्रिन हाइड्रोजन ल्याबका प्रमुख सहप्राध्यापक डा. विराजसिंह थापाको नेतृत्वको इन्जिनियरिङ टोलीको लामो समयदेखिको परिश्रमले सफलता प्राप्त गरेको छ । यस कार्यका लागि नेपाल आयल निगमले केयुलाई महत्वपूर्ण आर्थिक सहयोग गरेको छ ।

केयुले हाल परीक्षणमा रूपमा स्थापना गरेको रिफ्युलिङ स्टेसनमा सफलता प्राप्त गरेपछि ठुलो सङ्ख्यामा हाइड्रोजन इन्धनयुक्त गाडीलाई रिफ्युलिङ गर्न सकिने गरी ‘हाइड्रोजन रिफ्युलिङ सेन्टर’ स्थापना गर्ने गरी ‘पाइलट प्रोजेक्ट’ तयार गर्ने जनाएको छ । हाल दैनिक दुई किलो हाइड्रोजन उत्पादन गरिएको र यसबाट एउटा कारलाई दुई सय किलोमिटर गुड्न इन्धन पुग्दछ । हाइड्रोजन उत्पादन गर्नेदेखि उत्पादित हाइड्रोजनको भण्डारण र गाडीमा भर्नेसम्मको सबै प्रणाली निर्माण तथा सञ्चालन सम्पन्न भइसकेको छ । विश्वमा प्रचलित ग्रिन हाइड्रोजन उत्पादनदेखि खपतसम्मका प्रविधिको जडानमा नेपाली प्राविधिकलाई मिलेको यो सफलता लामो समयदेखिको अनुसन्धानको मूर्तरूप हो । अब यो दक्षतालाई व्यावसायिक प्रयोजनमा ल्याउनेतर्फ ध्यान केन्द्रित हुन आवश्यक देखिन्छ ।

अबको वैकल्पिक ऊर्जा भनेको हरित हाइड्रोजन नै हो । विश्व बजारमा यसको प्रयोगमा व्यापकता आइसकेको छ । यसको उत्पादन तथा प्रयोगमा चीन र भारतले राष्ट्रिय नीति नै तय गरेर अगाडि बढिरहेको सन्दर्भमा नेपाल सरकारले पनि केही समयअघि ‘ग्रिन हाइड्रोजन नीति–२०८०’ जारी गरेर यसतर्फको सम्भावनाको ढोका खोल्ने काम गरेको छ । संविधानमै नवीकरणीय ऊर्जाको उत्पादन तथा विकास गर्दै नागरिकको आधारभूत आवश्यकता परिपूर्तिमा सुपथ र सुलभ रूपमा भरपर्दो ऊर्जाको आपूर्ति सुनिश्चित गर्ने तथा ऊर्जाको समुचित प्रयोग गर्ने उल्लेख छ । सोही अनुरूप सरकारले नवीकरणीय ऊर्जाको अध्ययन, अनुसन्धान र विकासका लागि नीति तर्जुमा गरेर बाटो बनाउने काम गरेको हो । अहिलेसम्म सरकारी स्तरबाट ग्रिन हाइड्रोजनको उत्पादनबारे विस्तृत अध्ययन भइनसकेको भए पनि सरोकारवाला र सम्बन्धित क्षेत्रका विज्ञले यसको प्रशस्त सम्भावना औँल्याउँदै विभिन्न समयमा अध्ययन प्रतिवेदन तयार पारेर सरकारको ध्यानाकर्षण गराउँदै आएको स्मरणीय छ । प्रारम्भिक अध्ययन तथा अनुसन्धान गरिरहेको केयुले सफल परीक्षण गरेसँगै सम्भावनाको सुनौलो ढोका खुलेको हो । 

नेपालमा हाइड्रोजन इन्धनबाट चल्ने गाडी सञ्चालन गर्न दिनेसम्बन्धी स्पष्ट कानुनी व्यवस्था नभएको अवस्थामा अबका दिनमा कानुन निर्माण गर्न आवश्यक देखिएको छ । अहिलेसम्मको सबैभन्दा कान्छो इन्धन ग्रिन हाइड्रोजन रासायनिक मल उत्पादनमा समेत प्रयोग हुने भएकाले यसतर्फको परनिर्भरता अन्त्य गर्न पनि जतिसक्दो छिटो सरकारी स्तरबाटै अग्रसरता देखाउनुपर्ने यस क्षेत्रका विज्ञको अभिमत छ । आगामी दिनमा ऊर्जाको बदलिँदो स्वरूपलाई आत्मसात् गर्दै विकासका अनेक आयामका ढोका खोल्न उत्तिकै आवश्यक छ । मुलुकमा अहिलेसम्म ग्रिन हाइड्रोजन उत्पादनको सम्भाव्यताबारे छलफल तथा बहस मात्रै हुँदै आएका थिए । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको सक्रियतामा गत वर्ष भएको नवीकरणीय ऊर्जा सम्मेलनले नेपालमा हाइड्रोजनको व्यावसायिक उत्पादन र बजारीकरण नाफामुखी दृष्टिले तत्काल उपयुक्त नहुने निष्कर्ष निकालेको थियो । त्यसो भनेर सम्भावनाका ढोका सधैँ बन्द गरिनु उपयुक्त हुँदैन । ग्रिन हाइड्रोजन सवारीसाधन तथा औद्योगिक क्षेत्रमा समेत प्रयोग हुने भएकाले आगामी लगानी सम्मेलनमा यसतर्फ वैदेशिक लगानी आकर्षित गर्न पहल गर्न आवश्यक देखिन्छ ।