• ८ वैशाख २०८१, शनिबार

शैक्षिक क्षेत्रका चुनौती

blog

कर्मचारीतन्त्र जस्तै शिक्षा पनि प्रक्रियामुखी र अझ भनौँ प्रचारमुखी बन्दै गएको छ । नेपालको अहिलेको शिक्षाले जीवन उपयोगी सिप सिकाउनुभन्दा बेरोजगारीको भिड उत्पादन गर्नमा बढी केन्द्रित भइरहेको प्रतीत हुन्छ । स्वदेशभन्दा विदेशलाई अनि आफ्नोभन्दा अरूको प्यारो देख्ने बनाइरहेको छ । त्यसैले आज हाम्रा गाउँघर युवाविहीन र मनावविहीन नै बन्दैछन् । विकास त गाउँमा जाँदै छ तर निर्जन बस्तीहरूमा विकास जानुको के अर्थ भो र ! यसमा कहीँ कतै शिक्षाको भूमिकाको खोजी गर्ने कि ?

अझै पनि शिक्षालाई कक्षा कोठाका चार पर्खालभित्रको शिक्षक केन्द्रित कर्मकाण्डी प्रक्रियाभन्दा फरक बनाउन सकिएको छैन । प्रगतिशील शिक्षण त सिद्धान्त र दर्शनमै सीमित हुन पुगेको छ । बहुल समाज भएको हाम्रो देशमा सही अर्थमा संस्कृतिसापेक्ष शिक्षण हुन नसक्दा पुरातन ज्ञान, संस्कार र संस्कृतिको अन्वेषण र प्रवर्धन हुन सकेको छैन । विविध जात, धर्म, लिङ्ग र समुदायमा रहेका एकअर्काप्रतिका नकारात्मक धारणा, शङ्का र बेमेल हटाएर सही अर्थमा एकता र सद्भाव स्थापित गर्न सकिएको छैन । 

जबसम्म अनुसन्धानमूलक कार्यक्रमद्वारा यसको पहिचान गर्न र परिणाममुखी रूपमा सदुपयोग गर्न सक्दैनौँ, तबसम्म स्वावलम्बन शब्द शब्दमै सीमित रहन पुग्छ । आयातित दर्शन, निर्देशन र स्रोतको बलमा तथा हाम्रो आफ्नो परिवेश निरपेक्ष रूपमा अगाडि बढाइने कुनै पनि विकासे परियोजना जनमैत्री र दिगो हुन सक्दैन । यसले आशातीत परिणाम दिन नसक्ने कुराको साक्षी हामी भइसकेका छौँ । स्नातक तह उत्तीर्ण गरिसक्दा पनि आफ्नो जीवनको असल व्यवस्थापन गर्न सक्ने क्षमता र सुझबुझ नहुँदा शिक्षित भनिने मान्छेमा पनि शिक्षाप्रति वितृष्णा र नकारात्मक सोच पलाइरहेको छ । 

विद्यालय तथा कलेजको परिणाम शतप्रतिशत बनाइदिन तथा आमाबाका अतृप्त आकाङ्क्षा तृप्त गरिदिन विद्यार्थीले पढिदिनुपर्ने हालको अवस्थामा परिवर्तन आवश्यक छ । हरेक विद्यार्थीलाई एक अद्वितीय क्षमता र सम्भावनाको व्यक्तिका रूपमा लिएर सहजीकरण गरिदिनु सबैको कर्तव्य हो । तसर्थ शिक्षालाई सार्थक रूपमा जीवन र जगत्सँग जोड्न युगान्तकारी पहल आवश्यक छ । हुन त हामीले शिक्षाको लक्ष्य पूरा गर्नका लागि विभिन्न कदम चाल्दै आएका छौँ । ‘सहस्राब्दी विकास लक्ष्य’ का शिक्षासम्बन्धी लक्ष्य हुन् वा ‘सबैका लागि शिक्षा’ का लक्ष्य वा हालको ‘दिगो विकास लक्ष्य’ का शिक्षासम्बन्धी लक्ष्य यी सबैको उद्देश्य शिक्षालाई परिणाममुखी बनाउने नै रहेको पाइन्छ । 

विगतमा शिक्षा क्षेत्रको सुधारका लागि समय र स्रोत थप गर्दै सञ्चालित विद्यालय क्षेत्र सुधार कार्यक्रम र त्यसैको थप उद्देश्यसहितको निरन्तरताका रूपमा सञ्चालित विद्यालय क्षेत्र विकास कार्यक्रम दुवैका लक्ष्य शिक्षा क्षेत्रको संरचनागत तथा गुणस्तरीय परिवर्तन गर्ने रहेका थिए तर विगतका कार्यक्रमको सफलता र असफलताको गम्भीर समीक्षाबिना थपिएका कुनै पनि कार्यक्रमले अब लक्ष्य हासिल गर्ने कुरामा सन्देह रहेको छ । आशा छ, शिक्षा मन्त्रालयको नयाँ नेतृत्वले अब यसमा ध्यान दिने छन् । 

नेपालको शिक्षा क्षेत्र अस्वाभाविक राजनीतिक हस्तक्षेपले आक्रान्त रहने गरेको छ । राम्रालाई भन्दा हाम्रालाइ ग्राह्यता दिने संस्कारबाट शिक्षा क्षेत्र पनि अछुतो रहेको छैन । यस्तो प्रवृत्तिले योग्य तथा सक्षम व्यक्तिमा निराशा बढ्नुका अतिरिक्त उचित ठाउँमा उचित व्यक्ति पुग्न सकेका छैनन् । यसलाई सम्बोधन गर्न चाल्ने कदमले पनि नयाँ नेतृत्वको परख हुने छ । जबसम्म शिक्षकले मनैदेखि काम गर्ने वातावरण पाउँदैन, तबसम्म हाम्रा शिक्षासम्बन्धी जस्तासुकै योजना पनि सफल हुन सक्दैनन् । नेपालमा पनि शिक्षकको पेसागत दक्षता अभिवृद्धिसम्बन्धी थुप्रै योजना तथा कार्यक्रम सञ्चालन भए तर त्यसको प्रतिविम्ब कक्षाकोठासम्म राम्ररी पुग्न नसकेको विभिन्न अनुसन्धानले देखाएका छन् ।

शिक्षणलाई साँचो अर्थमा सफल बनाएर व्यक्ति, परिवार र समाजको रूपान्तरण तथा राष्ट्रनिर्माणको अभियान सफल बनाउनतिर अब ध्यान दिनु पर्छ । हाम्रो शिक्षा किन बेरोजगारी उत्पादन गर्ने कारखाना बन्यो त ? स्नातकोत्तर पास गरिसक्दा पनि जीवनको लक्ष्य निर्धारण हुन नसक्दा जे जागिर पायो, त्यही गर्नुपर्ने अवस्थामा नेपाली युवा किन पुगे ? यसको जवाफ अब पनि नखोज्ने हो भने कहिले खोज्ने ? सानो छँदा नै बालबालिकाको रुचि र क्षमता पहिचान गरेर उपयुक्त वातावरण दिन सक्नु पर्छ । शिक्षण सिकाइ उनीहरूको रुचि अनुसार हुनु पर्छ । अनि पढेर प्रमाणपत्र लिने मात्र होइन, उद्यम गर्न पनि सिकाउँछ । उद्यमी व्यक्ति सृजनशील हुन्छ र देश विकासमा पनि योगदान पुग्छ । 

शिक्षालाई धन आर्जनसँग सिधै जोड्ने चिन्तन र प्रवृत्ति मौलाउँदै जाँदा यसले नैतिकवान् व्यक्ति बनाउन मद्दत गर्दैन । त्यसैले देशमा देखिएको सदाचारको खडेरीलाई हटाउने काम पनि शिक्षाको नै हो । शिक्षाले मान्छेलाई फगत धन कमाउने यन्त्र मात्र बनाउने काम गर्दा मानवीय मूल्य, मान्यता र नैतिकताको विकास हुन सक्दैन । आफ्नो माटो, संस्कृतिलाई बिर्सेर जुनसुकै उपायले भए पनि धन कमाउने सोचले नैतिकवान् बन्न सकिँदैन । यसका लागि नैतिक शिक्षालाई महत्व दिएर दृढतापूर्वक लागु गर्नु पर्छ । 

उच्च शिक्षाका लागि देशका धेरै सिर्जनशील तथा ऊर्जाशील युवा विदेश जाने गरेको र सकेसम्म उतै बस्ने गरेको तथ्यले पनि हाम्रो शिक्षा नीति पुनरवलोकन गर्नुपर्ने आवश्यकता देखिएको छ । हाम्रो उच्च शिक्षालाई अन्तर्राष्ट्रिय स्तरको बनाएर हाम्रा विद्यार्थीलाई विश्वमै प्रतिस्पर्धा गर्न सक्ने बनाउनु पर्छ । यसका साथै हाम्रो राष्ट्रिय आवश्यकता अनुसारका जनशक्ति उत्पादनमा पनि ध्यान पुग्नु पर्छ । यो लक्ष्य हासिल गर्न हाम्रा विश्वविद्यालयलाई सबभन्दा पहिल राजनीतिक क्रीडास्थल हुनबाट जोगाउनु पर्छ । 

शिक्षा राष्ट्रनिर्माण गर्ने कालिगड उत्पादन गर्ने प्रक्रिया हो । यो मानव जीवनको शुद्धीकरणका लागि निरन्तर चल्ने अभियान पनि हो तर देशका राजनीतिक दलले शिक्षा मन्त्रालयलाई कम प्रथामिकतामा राख्ने गरेका छन् । वास्तवमा यो निकाय संवेदनशील र महìवपूर्ण छ । यसमा वर्तमान नेतृत्वको पक्कै पनि ध्यान पुगेको होला । हुर्कंदै गरेका कलिला मस्तिष्कदेखि देशका सम्पूर्ण विद्वत् वर्गको नेतृत्व यस मन्त्रालयले गर्छ । त्यसैले हालका शिक्षामन्त्रीका अगाडि चुनौतीका पहाड नै छन् तर अवसर पनि उत्तिकै छन् । सही नेतृत्व गर्न सकियो भने देशको समग्र शैक्षिक क्षेत्र र सारा राष्ट्र साथमा रहने छ । त्यसैले कर्मकाण्डी काम मात्र नगरी समग्र शैक्षिक क्षेत्रको उन्नयनका लागि नयाँ नेतृत्वले ध्यान दिनु पर्छ ।    

Author

सन्तोष गौतम