• १२ साउन २०८१, शनिबार

समृद्धिको सवालमा सबै दललाई एक ठाउँमा उभिन मुख्यमन्त्रीको आग्रह

blog

बागमती प्रदेशमा सोमबार बसेको बैठकमा सहभागी प्रदेश सभाका सदस्यहरू । तस्बिर : गोरखापत्र

राममणि दाहाल

हेटौँडा, चैत १९ गते । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले बागमती प्रदेश सभामा रहेका सबै दललाई प्रदेशको समृद्धिका सवालमा एक ठाउँमा उभिन आग्रह गर्नुभएको छ ।

उहाँले एउटै दलको स्पष्ट बहुमत नभएकोले दुई वा दुई दलबिचको सहमति सरकार बनाउनु बाध्यता हो भन्दै नयाँ राजनीति समीकरणको यात्रा सुरुभएको र प्रदेशमा पनि नयाँ समीकरणको यात्रा सुरुभएको र समृद्ध बागमती प्रदेश बनाउनेतर्फ अगाडि बढिरहेको बताउनुभयो ।

मुख्यमन्त्री जम्कट्टेलले तेस्रो पटक प्रदेश सभा विश्वासको मतको प्रस्तावमाथि उठेको प्रश्नहरूको जवाफ दिँदै वर्तमान सरकार बनेपछि सरकार बनेपछि धेरै नीतिगत काम गरेको बताउनुभयो । 

सत्ता पक्ष र विपक्षमा बस्दा कतिपय कुरामा विवाद भयो होला तर बागमती प्रदेशलाई समृद्ध र सक्षम बनाउने कुरामा विमति छैन भन्दै उहाँले भन्नुभयो, हामी सबै एक ढिक्का भएर अगाडि बढ्नु आवश्यक छ । 

उहाँले विगतमा विश्वासको मत लिने समयमा धेरै दल एक ठाउँमा उभिएको बताउँदै राजनीतिक मुद्दामा फरक–फरक धारणा भए पनि प्रदेशवासीको चाहना र अपेक्षा अनुसार काम गर्ने कुरामा एकताबद्ध भएर अगाडि बढ्न आग्रह गर्नुभयो । 

नेपाली कांग्रेस रामकृष्ण चित्रकारले विगतमा गठबन्धन गरेर चुनावमा गएको र नागरिकको सेवा प्रतिबद्धता गरेको बताउँदै १६ महिनामा एउटै मुख्यमन्त्रीले तीन पटक विश्वासको मत लिनुपर्ने अवस्था आएको र यो अवस्था आहोस् भन्ने पक्षमा कांग्रेस नरहेको बताउनुभयो ।

जुन राजनीति अगाडि बढी रहेको छ यसलाई हेर्दा यो प्रणालीले हामीले जनताको चाहनालाई संशोधन गर्न सक्यौ कि सकेनौ भन्ने प्रश्न उठेको बताउँदै उहाँले राजनीतिक स्थायित्वका लागि सबै दल गम्भीर हुनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो, संविधानले राजनीतिक अस्थिरताको कल्पना नगरेपनि त्यो विपरीत अवस्था सिर्जना भएको छ । 

उहाँले कांग्रेस प्रतिपक्षको भूमिका बसेर काम गर्ने र रचनात्मक भूमिकामा रहने भन्दै । सरकारको काममा आधारमा आफ्नो भूमिका रहने बताउनुभयो । नेकपा एमालेका मधुसूदन पौडेलले केन्द्रमा सत्ता समीकरण भएपछि प्रदेशमा हुनु पर्छ वा पर्दैन भन्ने छलफलको विषय भएको बताउँदै सङ्घीयताको मर्म अनुसार यस्तो हुनुपर्ने हो वा होइन प्रश्न गर्नुभयो । 

लोकतान्त्रिक गणतन्त्र स्थापना गरेको जनताको अपेक्षा पूरा गर्न हो तर नागरिकले कसैलाई पनि बहुमत नदिएका कारण यो पेचिलो अवस्था बनेको बताउँदै जनताको समस्या समाधान गर्दै सबै एक भएर अगाडि बढ्नु पर्ने र अहिले सबै दल परीक्षाको घडीमा रहेको बताउनुभयो । 

नेकपा माओवादी केन्द्रमा युवराज चौलागाईँले मुख्यमन्त्रीले तेस्रो पटकको विश्वासको मत माग्नुभएको छ यसलाई अस्थिरता मान्नु हुँदैन र यो नीति र नेतृत्वको निरन्तरता पनि हो भन्नुभयो । उहाँले हामीले लडेर ल्याएको राजनीतिक प्रणालीमाथि आक्रमण भएको र कमजोर पार्ने प्रयास भएको बताउँदै सबै दल एक जुट हुनु आवश्यक भएको बताउनुभयो । 

राष्ट्रिय प्रजातन्त्र पार्टीका उद्धव थापाले निर्वाचनमा जाँदा गठबन्धन बनाएर गएर जानुभएको थियो पहिलो पटक विश्वासको मत कति पाउनु भएको थियो, दोस्रो पटक कति पाउनुभयो मुख्यमन्त्रीले समीक्षा गर्नुपर्ने अवस्था आएको बताउनुभयो ।

मुख्यमन्त्री माग गर्ने, विश्वासको मत फिर्ता लिने र तीन दिनपछि मन्त्री खाने कस्ता प्रवृत्ति हो भन्दै उहाँले हिजोसम्म प्रतिपक्ष भनेपछि कुरै नसुन्ने र अहिले चाहिएपछि जे पनि गर्न तयार हुने कस्तो प्रवृत्ति हो भन्नुभयो । 

नेकपा एकीकृत समाजवादीका कृष्णप्रसाद शर्मा खनालले एउटै दलको नेतृत्वमा रहेको सरकारलाई तीन पटक विश्वासको मत दिनुपर्ने अवस्था आयो यसलाई हेर्दा पाँच वर्षमा १० पटक विश्वासको मतमाथि छलफल गर्नुपर्ने अवस्था आउने  बताउनुभयो । उहाँले किन गठबन्धन फेरियो भन्ने स्पष्ट कारण छैन भन्दै कमजोर प्रतिपक्ष भएकोले रचनात्मक भूमिका निर्वाह गर्न नसकेको र सरकारमा जाने लालचा बढेको बताउनुभयो  ।

नेपाल मजदुर किसान पार्टीका सुरेन्द्र राज गोसाईंले अप्रिलको पहिलो दिन ढाँट्ने दिन शासक दलका नेता सुन्दा हामी ढँटुवा दिवस त मनाइरहेको त छैनौ भन्ने लागि रहेको बताउँदै मूर्ख बनाउने, उल्लु बनाउने र फेरि पनि ढाँट्ने प्रवृत्ति देखिएको बताउनुभयो ।

पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले लोभी बेइमानहरू कम्युनिष्ट बनेका छन् भने तीन कम्युनिष्ट होइन भन्नुभएको प्रसङ्ग उल्लेख गर्दै बजेटको अवस्था के छ हामी नागरिकका उभिएर बोल्न सक्छौ भन्ने प्रश्न गर्नुभयो । 

हाम्रो नेपाली पार्टीका शैलेन्द्रमान बज्राचार्यले प्रदेश सभा सदस्य विजयी हुँदा तीन दिन बेहोस अवस्थामा पुगेको र अहिले मन्त्री हुनु पूर्व पनि त्यस्तै अवस्थामा पुगेको सिटामोल खाएर बसेको प्रसङ्ग उल्लेख गर्दै यसअघि आफूलाई अन्याय भएको र मुख्यमन्त्रीले गलत भएको स्वीकार गरेको बताउनुभयो ।