• २३ वैशाख २०८१, आइतबार

‘सञ्चय कोष र लगानी कोषको महँगो ब्याजको पैसा चाँडै फिर्ता गर्छौँ’

blog

सोमबार बसेको प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठक । तस्बिर : गोरखापत्र

काठमाडौं, चैत १९ गते । नेपाल वायुसेवा निगमका अध्यक्ष युवराज अधिकारीले अन्तर्राष्ट्रिय निकायहरूसँग सस्तो ब्याजमा कर्जा लिएर सञ्चयकोष र लगानी कोषको महँगो ब्याजको पैसा फिर्ता गरिने बताउनुभएको छ । सोमबार प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति बैठकमा बोल्नुहुँदै अध्यक्ष अधिकारीले यस्तो बताउनुभएको हो ।

उहाँले  निगमले २०७५ असार १४ गते र २०७५ साउन ११ गते गरी दुईवटा वाइडबडी र न्यारोबडी जहाज नेपाल ल्याउनका लागि सरकारको जमानीमा कर्मचारी सञ्चय कोषबाट १२ अर्ब र नागरिक लगानी कोषबाट पनि १२ अर्ब रुपियाँ महँगो ब्याजमा ऋण लिएर जहाज खरिद गरेको बताउनुभयो । उहाँले आफू नेतृत्वमा आएपछि जहाजहरूको सदुपयोग गर्नुको विकल्प भएको बताउनुभयो ।

निगमले महँगो ब्याजदर घटाउनका लागि अन्तर्राष्ट्रिय निकायहरूसँग एक खर्ब ३५ अर्बको ऋण सहयोग माग गरेको जानकारी दिनुभयो । उहाँले उक्त ऋण २ वा ४ प्रतिशतमा पाइयो भने महँगो ब्याजदरको पैसा फिर्ता गर्ने बताउनुभयो ।

अध्यक्ष अधिकारीले नेपाल वायुसेवा निगमको काठमाडौँको न्यूरोडमा १४ रोपनी ७ आना, सिनामङ्गलमा ३४ रोपनी १३ आना जग्गा तथा अन्य १३ जिल्लामा पनि जग्गा रहेको बताउनुभयो । उहाँले न्यूरोड र सिनामङ्गलका जग्गाहरूमा निगमको आधुनिक भवनहरू बनाउने योजना रहेको बताउनुभयो । उहाँले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ५० वर्ष पुरानो घामपानी छेक्ने मात्रै ह्याङ्गर भएकाले आइका र आइकाओको मापदण्डअनुसार निगमले अत्याधुनिक प्रविधिको आफ्नै ह्याङ्गर बनाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

उहाँले त्यसको लागि निगमले डिपीआर गरेर सरकारलाई पेस गरेर आर्थिक सहयोग जुटाइदिन माग गरेको बताउनुभयो । उहाँले यो विषयमा लगानी बोर्ड पनि चासो राखेको पनि बताउनुभयो । उहाँले दुवैतिरको भवन बनाउँदा करिब १० अर्बभन्दा बढी रकम लाग्ने अनुमान रहेको बताउनुभयो । उहाँले निगमको ह्याङ्गर बनाउनको लागि मात्र पाँच अर्ब जति रकम लाग्ने अनुमान रहेको बताउनुभयो ।

अध्यक्ष अधिकारीले निगम सुधारका लागि निगम व्यवस्थापनले सरकारलाई सरकारले निगमलाई आरोप प्रत्यारोप गरेर जिम्मेवारीबाट पन्छिने प्रवृत्ति देखापरेको बताउनुभयो । उहाँले निगम सुधारको लागि व्यावसायिक योजनाहरू बनाउने चरण रहेको भन्दै बुद्धिष्ट सर्किटका लागि जहाजहरू लिजमा लिएर भए पनि काठमाडौँ–ब्याङ्गलोर, कोलम्बाे–काठमाडौँ उडान गर्ने योजना रहेको बताउनुभयो । उहाँले जहाज लिजमा आएपछि भैरहवा-कोलम्बो उडानका लागि पनि योजना बनाएको दाबी गर्नुभयो ।