• १० पुस २०८१, बुधबार

महावीरको आत्मकथा गुल्मीमा ११ सयभन्दा बढी बिक्री

blog

रमेश विश्वकर्मा

गुल्मी, चैत १९ गते । राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष वैज्ञानिक महावीर पुनले गुल्मीमा ११ सयभन्दा बढी पुस्तक बिक्री गर्नुभएको छ । आफ्नै सम्झना, सपना र अविरल यात्रा समेटिएको ‘महावीर पुन’ नामक आत्मकथा पुस्तक लिएर गत बिहीबार यस जिल्लामा प्रवेश गर्नुभएका उहाँले ११ सय ५० पुस्तक बिक्री गर्नुभएको हो ।

वीरगन्ज कृषि औजार कारखाना सञ्चालन गर्नका लागि सो पुस्तक बिक्री गर्ने क्रममा पुन २५ औँ जिल्लाका रूपमा गुल्मी प्रवेश गर्नुभएका उहाँले आफ्नो पुस्तकको परिचय, उद्देश्य र केका लागि लेखियो, किन लेखियो, यो पुस्तक किन पढ्ने जस्ता विषयमा जानकारी गराउनुभयो । पुन आफैले लेख्नुभएको यो पुस्तक यस जिल्लाका केही स्थानीय तह, सामुदायिक तथा निजी विद्यालय, विद्यार्थी, विभिन्न सङ्घसंस्था र व्यक्तिले किनेका थिए ।

तम्घास बजार र रिडी बजारमा समेत पुस्तक बिक्री गर्दा उत्साहसँगै सबै सकारात्मक देखिएको बताउनुभयो । उहाँको जीवनीका मुख्य अंश पुस्तकमा समेटिएको छ । ७७ वटै जिल्लामा पुगेर तीन लाख प्रति पुस्तक बेच्ने लक्ष्य राखिएकोमा हालसम्म ७३ हजार बढी पुस्तक बिक्री गरिएको उहाँले बताउनुभयो । हाल पाँचौं संस्करणसम्म ८५ हजार पुस्तक छापिएको छ । यो पुस्तक विद्यार्थीका लागि ७०० रुपियाँ र अन्य सर्वसाधारणका लागि ७५० रुपियाँ शुल्क निर्धारण गरिएको पुनले बताउनुभयो ।

कृषि औजार कारखानाको मर्मत गरिसकिएको र त्यसलाई सञ्चालनमा ल्याउन रकम अभाव भएको भन्दै उहाँले आफ्नो बारेमा आफै पुस्तक लेखिएको बताउनुभयो । ३० वर्ष पहिले बन्द भएको कारखाना सञ्चालनमा ल्याएर कृषिमा आमूल परिवर्तन गर्न सकिने उहाँले बताउनुभयो ।

रेसुङ्गा नगरपालिकामा स्वागत गर्नुहुँदै नगरप्रमुख खिलध्वज पन्थीले उहाँको पवित्र अभियानमा जोडिन सबैलाई आग्रह गर्नुभयो । आफू पनि यो अभियानमा जोडिने अवसर मिलेको भन्दै उहाँले यो अभियान र उहाँका सबै उद्देश्यहरू सफल बनाउन सबै लाग्न जरुरी रहेको बताउनुभयो ।