ठाकुरप्रसाद आचार्य
म्याग्दी (बेनी), चैत १९ गते । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पहाडको टुप्पोमा रहेको सुन्दर पर्यटकीय स्थल घोडेपानीको पुनहिलबाट हिमाल हेरेबापत गाउँपालिकाले वार्षिक रूपमा ६३ लाख रुपियाँभन्दा बढी आम्दानी गरेको छ । अन्नपूर्ण चक्रीय पदमार्गमा पदयात्राका लागि आएका पर्यटक घोडेपानीबाट बिहानै सूर्योदय र हिमशृङ्खलाको मनोरम दृश्य अवलोकन गर्न पुनहिल पुग्ने गर्दछन् ।
पर्यटकको प्रवेश शुल्क, कफी सप तथा रेस्टुरेन्ट सञ्चालन गर्न पालिकाले वार्षिक रूपमा पुनहिललाई आय ठेक्कामा लगाउने गरेको छ । उक्त आय ठेक्कामा लगाएबापत चालु आर्थिक वर्षमा पालिकाले ६३ लाख ११ हजार रुपियाँ आन्तरिक आम्दानी गरेको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।
प्रतिस्पर्धामा सबैभन्दा बढी रकम कबोल गर्ने माइला दाइ होटल एन्ड रेस्टुरेन्टलाई पुनहिल सञ्चालनको जिम्मा दिइएको हो । पर्यटकीय स्थलमा प्रवेश शुल्क, कफी सप तथा रेस्टुरेन्ट सञ्चालन गर्न एक वर्षका लागि अनुमतिसहित पालिकाले आय ठेक्का सम्झौता गरेको हो । पर्यटक याममा यहाँ दैनिक रूपमा एक सयदेखि तीन सयसम्म विदेशी पर्यटक आउने गर्दछन् । पुनहिल प्रवेशका लागि गाउँपालिकाले आन्तरिक पर्यटकलाई ५० र विदेशी पर्यटकका लागि १५० रुपियाँ शुल्क तोकिदिएको छ ।
पुनहिलबाट हिमशृङ्खला र सूर्योदयको दृश्यावलोकन गर्न पाइन्छ । यहाँबाट धवलागिरि, अन्नपूर्ण हिमशृङ्खलाका एक दर्जनभन्दा बढी हिमाल र दर्जनौँ हिमचुचुरा नजिकबाट अवलोकन गर्न सकिन्छ । मनोरम प्राकृतिक दृश्यावलोकन, उच्च हिमाली भूगोल, शान्त र मनोरम वातावरणका कारण पर्यटकहरू अन्नपूर्ण चक्रीय पदमार्गमा पर्ने घोडेपानी पुनहिलको भ्रमणमा आउने गर्दछन् । पर्यटन व्यवसायी डमबहादुर गर्बुजाले वसन्त ऋतुको आगमनसँगै घोडेपानीका होटल भरिभराउ हुन थालेको बताउनुभयो । उहाँका अनुसार यहाँ साना ठूला गरेर २४ वटा होटल छन् ।