• १२ साउन २०८१, शनिबार

हाइड्रोजन उत्पादनको सफल परीक्षण

blog

काठमाडौँ विश्वविद्यालयमा रहेको हाइड्रोजन कारमा आइतबार हाइड्रोजन फिल (भर्ने) कामको सुरुवात गर्नुहुँदै विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापा । तस्बिर सौजन्य : डा. बिराज सिंह थापा

केदार तिमल्सिना 

बनेपा, चैत १८ गते । विगत दुई वर्षदेखि नेपालमा ग्रीन हाइड्रोजनको सम्भाव्यताको विषयमा अध्ययन तथा अनुसन्धान गर्दै आएको धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालय (केयू)ले सफलता हाँसिल गरेको छ । 

पाँच महिनाअघि नेपालमा नै पहिलो पटक दक्षिण कोरियाबाट हुण्डाईको नेक्सो हाइड्रोजन कार भित्राएको केयूले आइतबारबाट हाइड्रोजन कारको लागि आवश्यक पर्ने रिफ्युलिङ सेन्टरको सफल परीक्षण गरेको हो । 

विश्वविद्यालय ग्रीन हाइड्रोजन ल्याबका प्रमुख एसोसियट प्राध्यापक डा. विराज सिंह थापाले विश्वविद्यालयले दुई वर्षदेखि अघि सारेको नेपालमा हाइड्रोजन उत्पादन गर्ने लक्ष्य सफल भएको बताउनुभयो । 

उहाँले विश्वविद्यालयले आइतबारबाट हाइड्रोजन रिफ्युलिङ सेन्टरबाट हाइड्रोजन उत्पादन गर्ने काम सुरु गरेको बताउनुभयो । उहाँले रिफ्युलिङ सेन्टरबाट उत्पादित हाइड्रोजनलाई विश्वविद्यालयमा ल्याइएको हाइड्रोजन कारमा फिल (भर्ने) काम समेत सुरु गरिएको बताउनुभयो । 

“नेपाल आयल निगमको आर्थिक सहयोगमा हामीले नेपालमा हाइड्रोजन उत्पादनको सम्भाव्यता र यसको प्रयोगको विषयमा अध्ययन, अनुसन्धान गरेका हौँ”, प्रा.डा. थापाले भन्नुभयो । उहाँले निगमसँग दुई वर्षअघि भएको सम्झौता अनुसार नेपालमा हाइड्रोजन कार भित्राउने र रिफ्युलिङ सेन्टर स्थापना गरिएको बताउनुभयो । 

आयल निगमले विश्वविद्यालयलाई हाइड्रोजनको सम्भाव्यता लगायतको लागि पाँच करोड रुपियाँ सहयोग उपलब्ध गराएको हो । उहाँले केयूले अध्ययन, अनुसन्धानका लागि हाइड्रोजनको उत्पादन गरेसँगै नेपालको पानी र बिजुलीबाट नेपालमा हाइड्रोजन उत्पादन गरी सो बाट सवारी साधन चलाउन सकिन्छ भन्ने सन्देश दिएको बताउनुभयो । उहाँले हाइड्रोजनको उत्पादन र प्रयोगले नेपालमा हुने डिजेललगायतका पेट्रोलयम पदार्थलाई विस्थापित गर्न मद्दत गर्ने बताउनुभयो ।

केयूले सञ्चालनमा ल्याएको हाइड्रोजन रिफिल सेन्टरबाट दैनिक औषत दुई किलोग्राम हाइड्रोजन उत्पादन गर्नेछ । विश्वव्यापी रुपमा एक किलोग्राम हाइड्रोजन उत्पादन गर्न औषत पाँच अमेरिकी डलर खर्च हुने तथ्याङ्कले देखाएको छ । केयूमा स्थापित हाइड्रोजन स्टेशनमा एक किलोग्राम हाइड्रोजन उत्पादन गर्न १० लिटर पानी र ४० देखि ४५ यूनिट बिजुली खर्च हुने हाइड्रोजन ल्यावका प्रमुख प्राडा थापाले बताउनुभयो ।

उहाँले केयूमा रहेको हाइड्रोजन कारको उद्घाटन प्रधानमन्त्रीबाट गर्ने तथा हाइड्रोजन उत्पादन र प्रयोगको विषयमा सन्देश फैलाउन उक्त कारलाई देशका विभिन्न जिल्लामा लगेर प्रर्दशन गर्ने बताउनुभयो । निगमबाट प्राप्त गरेको सहयोगबाट केयूले ३३ हजार अमेरिकी डलर खर्च गरेर हुण्डाईको निक्सो हाइड्रोजन कार तथा एक करोड तीस लाख रुपियाँको लागतमा रिफ्युलिङ सेन्टर स्थापना गरेको हो ।