• १३ साउन २०८१, आइतबार

बागमतीमा कांग्रेसले विपक्षमा मतदान गर्ने

blog

नेपाली कांग्रेस बागमती प्रदेश कार्यसम्पादन समितिको आइतबार बसेको बैठकपछि मुख्यमन्त्रीको विश्वासको मतको विपक्षमा मतदान गर्न निर्णयसहितको पत्र संसदीय दललाई बुझाइँदै।

राममणि दाहाल

हेटौँडा, चैत १८ गते। नेपाली कांग्रेसले बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको विश्वासको मतको विपक्षमा मतदान गर्ने भएको छ।

मुख्यमन्त्री जम्कट्टेलले भोलि सोमबार विश्वासका मत लिने तयारी गर्नुभएको छ। कांग्रेस संसदीय दलका नेता रामकृष्ण चित्रकारले विश्वासको मतका लागि हुने मतदानमा कांग्रेसले विपक्षमा मतदान गर्ने जानकारी दिनुभयो। उहाँले विश्वासको मतको विपक्षमा मतदान गर्ने र प्रतिपक्षमा बस्ने बताउनुभयो।

केन्द्रमा लोकतान्त्रिक बाम गठबन्धनको समीकरणमा परिवर्तन आएसँगै बागमती प्रदेश सरकारबाट कांग्रेसका मन्त्रीले सामूहिक राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। 

कांग्रेसले गत फागुन २३ गते सरकारलाई दिएको समर्थन फिर्ता लिएसँगै जम्कट्टेल नेतृत्वको प्रदेश सरकार अल्पमतमा परेको छ।

नेपालको संविधानको धारा १८८ को उपधारा (२) मा प्रदेश सरकारमा सहभागी दलले आफ्नो समर्थन फिर्ता लिएमा ३० दिनभित्रमा मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने व्यवस्था छ।

यसैबिच कांग्रेस बागमती प्रदेश कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले मुख्यमन्त्री जम्कट्टेलले सोमबार प्रदेश सभामा विश्वासको मत लिने कार्यक्रम तय भएकोमा मुख्यमन्त्रीले लिने विश्वासको मतको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ।

कांग्रेस बागमती प्रदेश समितिका सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षता तथा कांग्रेस संसदीय दलका नेता बहादुर सिंह लामाको उपस्थितिमा बसेको बैठकले विश्वासको मतको विपक्षमा मतदान गर्न र प्रदेश सभामा कांग्रेस प्रतिपक्षमा बस्न कांग्रेस बागमती प्रदेश संसदीय दललाई निर्देशन दिने निर्णय गरेको कांग्रेस बागमती प्रदेश कार्यालयका मुख्य सचिव राजु खनालले जानकारी दिनुभयो। कांग्रेसले नेपालको संविधानको धारा १८८ (२) अनुसार कांग्रेसले सरकारलाई दिएको समर्थन फिर्ता लिएको थियो। 

गत वर्ष पुसमा यस प्रदेशमा बामगठबन्धनको सरकार रहेको केन्द्रमा सत्ता समीकरण परिवर्तनसँगै लोकतान्त्रिक बामगठबन्धन बनेको थियो। गत वर्ष चैत १० गते नेकपा एमाले बागमती प्रदेश सरकार छाडेपछि चैत २६ गते बागमती प्रदेश सरकारमा कांग्रेस सहभागी भएको थियो।