• १३ साउन २०८१, आइतबार

गृहमन्त्री लामिछाने र धरानका मेयर साम्पाङबिच भेटवार्ता

blog

काठमाडौं, चैत १८ गते । उपप्रधान एवम् गृहमन्त्री रवि लामिछाने र धरान उपमहानगरपालिकाका प्रमुख हर्क साम्पाङबिच भेटवार्ता भएको छ । आइतबार सिंहदरबारस्थित गृह मन्त्रालय पुगेर प्रमुख सम्पाङले उपप्रधान एवम् गृहमन्त्री लामिछानेसँग भेटवार्ता गर्नुभएको हो ।

भेटका क्रममा उहाँहरूबिच धरानमा इलाका प्रहरी र ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण, सशस्त्र प्रहरीको गुल्म स्थापना र सुरक्षाकर्मीका लागि पर्याप्त स्रोतसाधनको माग लगायत लागुऔषध दुर्व्यसनी नियन्त्रणबारे छलफल भएको छ ।

प्रमुख साम्पाङले धरानमा इलाका प्रहरी र ट्राफिक प्रहरी कार्यालयको भवन निर्माण, सशस्त्र प्रहरीको गुल्म स्थापना र सुरक्षाकर्मीका लागि पर्याप्त स्रोत–साधनको माग गर्नुभएको छ । छलफलको क्रममा कर्मचारीले प्रक्रिया र जनप्रतिनिधिले परिणाम खोज्ने हुँदा काम गर्न कठिन हुने गरेको प्रमुख साम्पाङको गुनासो गर्नुभएको हो।

साम्पाङले राख्नुभएको गुनासोमा आफू गम्भीर भएको बताउँदै सम्बोधन प्रक्रिया सुरु गर्न उपप्रधान एवम् गृहमन्त्री लामिछानेले कर्मचारीलाई निर्देशन समेत दिनुभएको छ । 

यस्तै, भेटमा देशभरि नै लागु औषध दुर्व्यसनी बढिरहेको भन्दै त्यसलाई नियन्त्रणमा ल्याउनका लागि आफूले पहल गरिरहेको गृहमन्त्री लामिछानेले बताउनुभयो । नशाका लागि विभिन्न थरीका औषधी मिसाएर खाने प्रवृत्ति बढेको तर त्यसविरुद्ध कारबाही चलाउन कानुन नरहेकोबारे प्रमुख साम्पाङद्वारा गृहमन्त्रीलाई ध्यानाकर्षण समेत गरिएको छ ।

यस्ता खालका प्रवृत्ति नियन्त्रणका लागि तीनै तहका सरकारबिच प्रभावकारी सहकार्य सहित विशेष अभियान सञ्चालन गर्नुपर्ने गृहमन्त्रीको भनाइ छ । त्यसैक्रममा आफूले धरानमा हरेक शुक्रबार ‘सुधारबार’ भनेर अभियान गरिरहेको प्रमुख साम्पाङले जानकारी गराउनुभयो ।