• ११ मंसिर २०८१, मङ्गलबार

भेरी अस्पतालमा दुरबिन विधिबाट शल्यक्रिया सम्पन्न

blog

गजेन्द्र गुरुङ

खजुरा, चैत १६ गते । बाँकेको नेपालगन्जस्थित भेरी अस्पतालमा पहिलो पटक आन्द्रामा प्वाल परेको रोगको बिरामीको दुरबिन विधिबाट शल्यक्रिया गरिएको छ । भेरी अस्पतालमा पहिलोपटक दुरबिन विधिबाट आन्द्रामा प्वाल परेको रोगका बिरामीको शल्यक्रिया गरिएको अस्पतालले जनाएको हो । 

त्यसैगरी जन्मजात पित्तको नली सुन्निएका बिरामीको पनि पहिलोपटक शरीर चिरेर शल्यक्रिया गरिएको अस्पतालले जनाएको छ । अस्पतालका कन्सल्टेन्ट ग्याष्ट्रो हेप्याटोबिलेरी तथा ल्याप्रोस्कोपी सर्जन डा.कृष्णमोहन अधिकारीले आन्द्रामा प्वाल परेका बाँकेका ४० वर्षीय शान्तराम केवटको पहिलोपटक दुरबिन विधिबाट शल्यक्रिया गरिएको बताउनुभयो । अस्पतालमा आन्द्रामा प्वाल परेका बिरामीको शरीर चिरेर शल्यक्रिया गरिँदै आएकोमा केवटको भने पहिलोपटक दुरबिन विधिबाट शल्यक्रिया गरि उपचार गरिएको उहाँको भनाइ छ ।

जन्मजात पित्तको नली सुन्निएकी घोराही उपमहानगरपालिका वडा नं. ११ गणेशपुर दाङकी ५० वर्षीया मनकुमारी चौधरीको पनि शल्यक्रिया गरिएको छ । चौधरीको भने शरीर चिरेर शल्यक्रिया गरिएको डा. अधिकारीले बताउनुभयो । जन्मेपछि पित्त सुन्निएका बिरामीको शल्यक्रिया गरिँदै आए पनि अस्पतालमा पहिलोपटक जन्मजात पित्तको नली सुन्निएको रोगको बिरामीको शल्यक्रिया गरिएको उहाँले जानकारी दिनुभयो । 

अस्पतालका कन्सल्टेन्ट ग्याष्टो हेप्याटोबिलेरी तथा ल्याप्रोस्कोपी सर्जन डा.कृष्णमोहन अधिकारीको नेतृत्वमा डा.सन्तोष सिर्पाइली, डा.विधान पौडेल र डा.कमर हसन अन्सारीको टोलीले उक्त शल्यक्रिया गरेको अस्पतालले जनाएको छ ।