• १५ वैशाख २०८१, शनिबार

५० वर्षमा एसइई दिँदै वडाध्यक्ष

blog

बाँकेको खजुरामा एसइई दिइरहनुभएका ५० वर्षीय गरिबे शेष। तस्बिर : गोविन्द शर्मा

गोविन्द शर्मा 

बाँके, चैत १६ गते। बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष गरिबे शेषले ५० वर्षको उमेरमा माध्यमिक शिक्षा परीक्षा (एसइई) दिनुभएको छ। 

जनप्रतिनिधिको रुपमा दिनरात खटिने उहाँको पछिल्ला केही दिनको दैनिकी फेरिएको छ। 

शेष २०८० सालको परीक्षामा सहभागी हुनुभएको हो। ज्ञानोदय मावि खजुराको खुला शिक्षा अन्तर्गत जनता मावि परीक्षा केन्द्रबाट शेष परीक्षामा सहभागी हुनुभएको हो। 

एसइईमा राम्रो तयारीका लागि उहाँले वडामा सदस्यलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिनुभएको छ। शेषले भन्नुभयो, ‘पहिले अभिभावकले धार्मिक शिक्षा पढाउनुभयो, अहिले मलाई औपचारिक शिक्षा पढ्न मन लाग्यो, एसइई राम्रो गरेर थप उच्च शिक्षाको अध्ययन गर्ने रहर छ।’ 

 उहाँले अहिले आफू परीक्षा दिइरहेको बताउनुभयो। ससाना नानी बाबू परीक्षामा सहभागी भएको देख्दा आफूले बाल्यकालमा किन पढ्न पाइनँ भन्ने लागे पनि पढाइ अघि बढाउने इच्छाशक्ति भए उमेर बाधक नहुने उहाँको भनाइ छ।