• १५ वैशाख २०८१, शनिबार

विमानस्थलमा सुर्तीजन्य पदार्थ बिक्री नगर्न उच्च अदालतको अन्तरिम आदेश

blog

नेपालगन्ज विमानस्थल राँझा।तस्बिर :सिराज खान

सिराज खान 

नेपालगन्ज, चैत १५ गते। नेपालगन्ज विमानस्थलमा सुर्तीजन्य पदार्थको बिक्री वितरण नगर्न तथा क्यान्टिनमा अनिवार्य रूपमा मूल्य सूची राख्न उच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।

पार्किङ शुल्क, हवाई सेवाको गुणस्तर र विमानस्थल भित्रको सुधारका विषयमा उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासमा दायर गरिएको सार्वजनिक सरोकारको रिटमा अदालतले सो अन्तरिम आदेश जारी गरेको हो।

उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलासका न्यायाधीशद्वय किरण कुमारी गुप्ता र वसन्तराज पौडेलको संयुक्त इजलासले विपक्षीका नाममा विमानस्थलको खाजा घर (क्यान्टिन) मा बेचिने वस्तुको अनिवार्य रूपमा मूल्य सूची राख्न र विमानस्थल परिसरमा सुर्तीजन्य पदार्थको बिक्री वितरणमा रोक लगाउने आदेश गरेको रिट निवेदक अधिवक्ता वसन्त गौतमले बताउनुभयो।

मुद्दा नेपालगन्ज विमानस्थल नागरिक उड्डयन कार्यालय, कार्यालयका प्रमुख, विमानस्थल भित्र सवारी पार्किङ गर्ने सार्थक ट्रेड सेन्टर एण्ड सप्लायर्स, बुद्ध, यति, श्री, सिता, तारा, समिट, गुण एयरलाइन्स प्रा.लि, नेपाल वायुसेवा निगम शाखा कार्यालय नेपालगन्ज, जिल्ला प्रशासन कार्यालय, बाँके समेतलाई विपक्षी बनाई रिट निवेदकले उत्प्रेषण र परमादेश समेतको रिट निवेदन दायर गरेका थिए।

नेपालगन्ज उच्च अदालत बार एसाेसिएनका पूर्व अध्यक्ष अधिवक्ता विकास आचार्य, एडभोकेसी फोरमकाका तर्फबाट लुम्बिनी प्रदेश संयोजक अधिवक्ता वसन्त गौतम, वरिष्ठ अधिवक्ता सुनिल कुमार श्रेष्ठका साथै अधिवक्ता लोकबहादुर शाह, बलबहादुर चन्द, विश्वजित तिवारी, सुनिता शर्मा र नागरिक समाज नेपालगन्जका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, इन्सेकका प्रदेश संयोजक भोला महत लगायतले संयुक्त रूपमा अदालतमा रिट दायर गर्नुभएको थियो।