• १५ वैशाख २०८१, शनिबार

धुलिखेल ‘स्मार्ट नगर’ : नागरिकलाई घरबाटै सेवा

blog

काभ्रेपलाञ्चोक, चैत १५ गते । ‘स्मार्ट नगर’उन्मुख पर्यटकीय नगर धुलिखेलका स्थानीयले नगरका सेवा घरबाटै लिन थालेका छन् । नगरपालिका कार्यालयले सूचना, सञ्चार तथा प्रविधि (आइसिटी)मा आधारित सेवा प्रवाह गरी नागरिकलाई घरबाटै सेवा दिलाउन थालेको छ । 

नगर विकास कोषबाट ईयु (एसिया प्यासिफिक अन्तर्राष्ट्रिय साझेदार)को सहयोगमा स्मार्ट सहरको अवधारणाअनुसार हरेक कार्यलाई प्रविधिसँग जोडिरहेको धुलिखेल नगरमा वित्त क्षमता अभिवृद्धि कार्यक्रमअन्तर्गत सूचना प्रविधिमा आधारित सेवा प्रवाहका लागि सहकार्य सम्झौता भई सेवा सुरु गरिएको हो । 

आइसिटीमा आधारित नगर सेवा प्रणाली सञ्चालन गर्न स्थानीय नागरिकलाई घरमै बसेर सबै सेवा लिन सकिने प्रणाली कार्यान्वयनमा ल्याइएको छ । स्मार्ट सहरका रूपमा विकास गर्न नगरपालिकाले प्रदान गर्ने हरेक सेवालाई प्रविधिमैत्री बनाउने अभियानमा उक्त कार्यक्रम थप प्रभावकारी र सहयोगी बन्ने नगर प्रमुख अशोक ब्याञ्जूले बताउनुभयो । ब्याञ्जूका अनुसार राजस्व तथा अन्य सेवामासमेत डिजिटल सेवा भइसकेको छ । 

यस्तै धुलिखेलले हाल डिजिटल घर नम्बर प्रणालीलाई प्राथमिकतामा राखेर काम गरिरहेको छ । ब्याञ्जूले डिजिटल घर नम्बर प्रणालीमा रहने ‘क्युआर-कोड’मा सम्बन्धित घर कहाँ छ, घर केबाट बनेको छ, कति तलाको छ भन्नेलगायतका सम्पूर्ण विवरण उपलब्ध हुने बताउनुभयो । “यो प्रविधि लागू भएपछि आगलागी हुँदा, चोरी हुँदा र मानिस बिरामी परेको समयमा दमकल, प्रहरी र एम्बुलेन्सलाई ‘लोकेसन’का लागि पटक-पटक सोधिरहनु पर्दैन”, उहाँले भन्नुभयो । 

यस्तै क्युआर-कोडमार्फत नगरपालिकामा कति घर बनेका छन्, कस्तो प्रकारको घर बनेको छ, राजरुव तिरे-नतिरेकोसमेत थाहा पाउन सकिन्छ । ब्याञ्जू भन्नुहुन्छ, “डिजिटल घर नम्बर प्रणालीले नागरिकले घरमा नै बसेर सहजरुपमा सेवा प्राप्त गर्ने छन्, यसले समयको समेत बचत हुनेछ ।” धुलिखेलका आठ वडामा क्युआर-कोडसहितको घर नम्बर प्रणाली जडान गर्न थालिएको छ भने अन्य वडामा सम्पूर्ण कार्य सकिएको छ । जडान थालिएको वडामा चालु आर्थिक वर्षभित्र सक्ने योजना बनाइएको छ । 

कार्यालयबाटै ड्रोन सर्भे गरेर घर नम्बर उपलब्ध गराइएको छ । धुलिखेलको वडा नम्बर ४ का वडासचिव सङ्गीता चौलागाईँले घर नम्बर प्रणालीसहित प्रविधिमैत्री सेवा प्रवाह गरिरहेको बताउनुभयो । उहाँका अनुसार व्यक्तिगत घटना तथा पञ्जीकरणसम्बन्धी सम्पूर्ण काम अनलाइनबाट भइरहेको छ । यस्तै नक्सापास, सम्पत्ति कर तिर्नेलगायतका काम पनि अनलाइनबाटै भइरहेको छ भने वडाबाट प्रवाह हुने सेवाको भौचर अनलाइनबाट काट्ने व्यवस्था गरिएको छ । “एकीकृत नगर सेवा प्रणाली पनि सञ्चालन हुँदैछ, यसले नागरिकलाई घरमै बसेर आफूलाई आवश्यक सेवा प्राप्त हुनेछन्”, चौलागाईँले भन्नुभयो । 

उहाँले जीआइएस् प्रणालीअन्तर्गत रहने यो प्रणाली आफैँ अपडेट हुने बताउनुभयो । नगरपालिकाले हाल १२ वडामा १५ स्वास्थ्य केन्द्र स्थापना गरिसकेको छ भने सबै नागरिकलाई स्वस्थ बनाइ अरोग्यता प्रदान गर्न स्वास्थ्यकर्मीलाई घरदैलोमै पुर्‍याउने कामसमेत सकेको जनाएको छ । नागरिकको अवस्था के छ, के-कस्तो उपचार आवश्यक छ पत्ता लगाउन नगरपालिकाले सर्वेक्षण गरेको हो । केन्द्रमा निः शुल्क उपलब्ध गराइने ६५ थरिका औषधि पर्याप्त बनाइएको छ । नगरपालिकाले हाल ‘हाइपरटेन्सन, मधुमेह र मानसिक स्वास्थ्य’ कार्यक्रमलाई केन्द्र तथा निरन्तरका शिविरमार्फत प्राथमिकताका साथ अघि बढाइएको स्वास्थ्य शाखा प्रमुख सन्दीप केसीले जानकारी दिनुभयो । 

यस्तै नगरपालिकाले सहरीकरणका कारण उत्पन्न हुने वातावरण प्रदूषण एवम् स्वास्थ्य समस्यालाई वैज्ञानिक तवरबाट समाधान गर्न ‘खाद्य हरियाली सहर’ कार्यक्रमको समेत योजना बनाएको छ । वैज्ञानिक माध्यमबाट नगरपालिकालाई दिगोरुपमा खाद्य हरियाली सहर बनाउन नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) र धुलिखेल नगरबिच कार्यक्रम सञ्चालनका लागि समझदारी भएको थियो । 

उक्त कार्यक्रमले वातावरण प्रदूषण एवम् स्वास्थ्य समस्या समाधानार्थ दिगोरुपमा वैज्ञानिक ढङ्गबाट नगर सफा-सुन्दर हुने जनाइएको छ । यो कार्यक्रमले केही हदसम्म बेरोजगारी घट्नेछ भने स्थानीय स्रोतको पहिचान र उपयोग गर्न सकिने बताइन्छ । खनिज तत्त्व उत्खनन नगर्ने, वातावरणमैत्री विकास गर्ने र आगामी पाँच वर्षमा स्थानीय सबैका घरको फोहर पानी प्रशोधन गरी पुनः प्रयोग गर्ने योजना बनाएर काम भइरहेको नगरपालिकाले जनाएको छ । ब्याञ्जूका अनुसार नगर क्षेत्रभित्र एक वर्षदेखि कोइला प्रयोगलाई पूर्णरुपमा प्रतिबन्ध लगाइएको छ । 

धुलिखेल नगरलाई केही महिना अघि शून्य कार्बन उत्सर्जन गर्दै वातावरणमैत्री विकास गर्ने विश्वका १५ सहरमध्ये पाँचौँ नम्बर र एसियाको पहिलो सहर बनेको घोषणासमेत गरिएको थियो । धुलिखेलले यसअघि दक्षिण एसियामै पहिलो पटक ‘जीवाश्म इन्धन अप्रसार सन्धि’ अभियानलाई कार्यान्वयनका ल्याएको थियो । सन्धिअन्तर्गत रहेर धुलिखेलले आफ्नो नगर क्षेत्रलाई पर्यटकीय सहरका रूपमा विकास गर्ने उद्देश्यले दिगो विकास र स्वस्थ तथा सफा वातावरणीय कार्यलाई पहिलो प्राथमिकता दिँदै आएको जनाएको छ । रासस