• १५ वैशाख २०८१, शनिबार

भारत-चीनबीच सीमा क्षेत्रमा तनाव कम गर्न सहमति

blog

नयाँदिल्ली, चैत १५ गते । भारत र चीनबीचको उत्तर पश्चिमी क्षेत्रमा देखिएको सीमा विवाद र त्यहाँ उत्पन्न असमझदारीका विषयलाई लिएर दुबै देशका कूटनीतिक अधिकारीहरुबीच बेइजिङमा वार्ता भएको छ । 

भारतको विदेश मन्त्रालयद्वारा जारी विज्ञप्तिमा दुई देशका अधिकारीहरुबीच बुधबार बेइजिङमा २९ औँ बैठक बसेको र सीमा क्षेत्रमा देखिएको तनाव मत्थर बनाउनेतर्फ वार्ता सकारात्मक भएको जनाइएको छ । वार्ताका लागि भारतीय प्रतिनिधिमण्डलको नेतृत्व भारतीय विदेश मन्त्रालयका सहसचिवले गर्नुभएको थियो । चीनका तर्फबाट चिनियाँ विदेश मन्त्रालयको सीमा मामिलासम्बन्धी महानिर्देशकले गर्नु भएको विज्ञप्तिमा जनाइएको छ ।

विज्ञप्तिमा दुवै पक्षले सीमा क्षेत्रमा देखिएको तनावलाई पूर्णरुपमा मत्थर बनाउनेतर्फ गम्भीर विचारविमर्श गरेका र दुई देशको सीमारेखा “लाइन-अफ-एक्चुअल कन्ट्रोल” (एलएसी) का सन्दर्भमा बाँकी रहेका मुद्दाहरु सुल्झाउने विषयमा छलफल भएको उल्लेख छ । बैठकपछि सीमावर्ती क्षेत्रमा शान्ति कायम गर्नेतर्फ कूटनीतिक र सैनिक संवाद सुरु गर्न दुबै पक्ष सहमत भएका छन्, भारतीय विदेश मन्त्रालयले जनाएको छ ।

“तत्कालका निम्ति, दुबै पक्षले कूटनीतिक र सैनिक तहबाट निरन्तर सम्पर्क र संवाद गर्न सहमति जनाएका छन् । विद्यमान द्विपक्षीय सम्झौता बमोजिम सीमाक्षेत्रमा शान्ति कायम गर्न सहमति भएको छ,” मन्त्रालयको विज्ञप्तिमा उल्लेख छ । दुबै देशबीचको २८ औँ वार्ता यसअघि गत नोभेम्बरमा सम्पन्न भएको थियो । उक्त वार्तामा दुबै पक्षले एलएसीको परिस्थितिका बारेमा समीक्षा गर्नुका साथै एलएसीसमेत पूर्वी लद्दाखको सीमाक्षेत्रमा शान्तिपूर्ण अवस्था बहाल गर्नेबारेमा खुला, रचनात्मक र गम्भीर विचारविमर्श भएको छ ।

यसैबीच, भारतले अरुणाचल प्रदेशका सम्बन्धमा चीनले गरेको दाबीलाई आधारहीन तर्क भन्दै अस्वीकार गरेको छ । मार्च १९ मा सार्वजनिक भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा अरुणाचल प्रदेशका जनताले भारतीय विकास कार्यक्रम तथा पूर्वाधार परियोजनाबाट अत्यधिक लाभ लिइरहेको उल्लेख छ । रासस