• १५ वैशाख २०८१, शनिबार

पक्की पुल शिलान्यास

blog

बुटवल उपमहानगरपालिका–१२, तामनगरस्थित राजपुरमा पुल शिलान्यास गर्दै वडाध्यक्ष डिल्लीप्रसाद शर्मा ।

बुटवल समाचारदाता

बुटवल, चैत १५ गते ।  बुटवल उपमहानगरपालिका–१२, तामनगरस्थित राजपुर खोलामा पक्की पुल निर्माणको काम सुरु गरिएको छ । पुल अभावमा खोला तर्न तथा आवतजावत गर्न समस्या झेल्दै आएका बुटवल–१२, तामनगरस्थित राजपुरका बासिन्दाले पुल निर्माण सुरु भएपछि खुसी व्यक्त गरेका छन् ।

राजपुर खोलामा पक्की पुल निर्माण भएपछि राजपुर खोला भएर यात्रा गर्नेले सुविधा पाउने भएका छन् । स्थानीय हरिप्रसाद शर्माले खास गरी वर्षाको समयमा खोलामा बाढी आउँदा पल्लो गाउँ जान घुमेर जानुपर्ने बाध्यता अब पुल निर्माण सम्पन्न भएपछि समाधान हुने विश्वास व्यक्त गर्नुभयो ।

बुटवल उपमहानगर र स्थानीय उपभोक्ताको कुल ४० लाख रुपियाँको लागतमा निर्माण सम्पन्न हुने सो पुलको बुटवल उपमहानगरपालिका–१२ का वडाध्यक्ष डिल्लीप्रसाद शर्माले मङ्गलबार शिलान्यास गर्नुभयो । बुटवल–१२ का वडाध्यक्ष डिल्लीप्रसाद शर्माले विकासका दृष्टिले पछाडि परेको तामनगर र राजपुर क्षेत्रको विकासमा सबै एकताबद्ध भएर लाग्नुपर्ने बताउनुभयो । 

स्थानीयका अनुसार तामनगरका तीन वटा टोलका सयौँ घरपरिवारलाई घुमाउरो र जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता अन्त्य हुने छ । राजपुर टोल विकास समिति, सक्रिय टोल विकास समिति, बुद्धटोल विकास समितिका स्थानीयलाई यो पुल निर्माणपछि आवतजावतमा सहज हुने छ । 

२० मिटर लामो र १२ फुट चौडाइको सो पुलबाट साना तथा मझौला सवारीसाधन मात्र आवतजावत गर्न सक्ने छन् । पुल निर्माणपछि त्यस क्षेत्रका धार्मिक स्थल शिवपुरी धाम, सुपादेउराली मन्दिर, दुर्गा मन्दिर तथा गणेश मन्दिरमा पनि स्थानीय तथा बाह्य क्षेत्रबाट धार्मिक पर्यटक बढ्ने स्थानीयको अपेक्षा छ ।