• १३ साउन २०८१, आइतबार

इन्द्रेणी तालको बाँध फुटेर पानी चुहावट हुँदा समस्या

blog

दमकको इन्द्रेणी ताल।

विष्णुप्रसाद पोखरेल

दमक, चैत १३ गते। झापा दमक वडा नम्बर १० मा रहेको यस क्षेत्रकै सबैभन्दा पुरानो इन्द्रेणी तालको संरक्षण र प्रवर्द्धनका लागि बनेको गुरुयोजना अनुसारको काम अघि नबढेको स्थानीयले बताएका छन्। ५ वर्ष अघिदेखि गुरुयोजना निर्माण भएर काम सुरु भएपनि यसले पूर्णता पाउन सकेको छैन।

दिनानुदिन रूपमा पानीको सतह घट्दो अवस्थामा रहेको र यहाँ बनेका पुराना संरचनाहरू भत्कँदा बाँधको अस्तित्व नै समाप्त हुने चिन्ता बढ्न थालेको दमक वडा नं. १० का वडाध्यक्ष राजेन्द्र भट्टराईले बताउनुभयो। ‘गुरुयोजना बनेपनि काम भने अघि बढ्न सकेको छैन’, उहाँले भन्नुभयो।

ताल संरक्षणको विषयमा हरेक वर्ष कुरा उठेपनि बाँधलाई पर्यटकीय स्थल बनाउन भएका प्रयासले अहिलेसम्म सार्थकता नपाएको उहाँले बताउनुभएको छ। पूर्व कै पुरानो पर्यटकीयस्थलमा ओझेलमा परेको र निर्माण भएका संरचना भने भत्कने खतरा रहेको उहाँले जानकारी दिनुभयो।

बाँध जमिन मुनीबाट फुटेर पानी चुहावट भएकोले निर्माण भएको संरचना एवम् फलामे पुल खस्ने जोखिम बढेको पाइएको दमक नगरपालिका उपप्रमुख रेगिना भट्टराईले बताउनुभएको छ।